तुलसीपुरमा मोटरसाइकल ठोक्किँदा ३४ वर्षीय चौधरीको अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो भने पौडेल र पण्डित घाइते छन्।
दाङ — तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का ४६ वर्षीय देवराज चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु. प्र. ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल शनिबार बेलुका तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भिर घाइते भएका लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल चालक चौधरीको राती राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
लु. प्र. ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–५ का २७ वर्षीय नवराज पौडेल र मोटरसाइकलमा सवार बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–२ घर भई हाल तुलसीपुर–५ मा बस्दै आएका १८ वर्षीय रोशन पण्डित घाइते भएका छन् ।
