कृषिमन्त्रीको राजीनामा माग गर्दै किसानले गरे बर्दियामा प्रदर्शन 

‘अहिले धानमा मल हाल्ने बेला छ, यो बेला रुपैयाँ तिर्दा पनि युरिया मल पाइएको छैन ।’

श्रावण २५, २०८२

रामप्रसाद चौहान 

Farmers staged a demonstration in Bardia demanding the resignation of the Agriculture Minister

What you should know

बर्दिया — कृषिमन्त्रीको राजीनामा माग गर्दै किसानले प्रदर्शन गरेका छन् । मल नपाएर आक्रोशित बनेका किसानले आइतबार प्रशासन अगाडि कृषिमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् । 

मलको चरम अभाव खेपिरहेका किसानहरु समयमा मलखाद नपाउँदा उत्पादनमा ह्रास आउने डरले चिन्तित बनेका छन् । आक्रोशित किसानहरुले करिब दुई घण्टा प्रशासन अगाडि प्रदर्शन गरेका थिए । 'कृषिमन्त्री राजीनामा दे', 'किसानलाई समयमा मलखाद दे', 'किसान एकता जिन्दावाद'लगायतका किसानले चर्को नाराबाजी गरेका थिए । 

किसान जहिल्यै मर्कामा पर्ने गरेको गुलरिया नगरपालिका–७ का नरेन्द्र यादवले बताए । ‘खडेरीको बेला जसोतसो बोरिङले सिंचाइ गरेर धान रोपाइँ गर्‍यो,’ उनले भने, ‘अहिले धानमा मल हाल्ने बेला छ, यो बेला रुपैयाँ तिर्दा पनि युरिया मल पाइएको छैन ।’ 

‘यस्तै हालत रह्यो भने हामीले कसरी धान उत्पादन गर्ने ?, कसरी आफ्नो बालबच्चा पाल्ने,’ उनले भने । ‘एउटा वडामा धेरै किसान हुन्छन्,’ गुलरिया नगरपालिका–७ का किसान सुनिल यादवले भने, ‘तर, एउटा सहकारीले ५० बोरा पाउँछ, त्यसले किसानलाई अपुग भइरहेको छ ।’

मलको लागि दुई सातादेखि भौतारिरहेको गुलरिया–१२ का सलिम शेषले बताए । ‘दिनहुँ गुलरिया बजार मलको लागि आउँछु,’ उनले भने, ‘तर, मलको कतै जुगाड भएन, निराश हुनुबाहेक केही छैन ।’

मल नपाएर किसानहरु प्रशासन आएको सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले बताए । ‘किसान धेरै छन्, मल थोरै आउँछ र पुग्दैन, आएको मलको कोटा तोक्ने अधिकार पालिकालाई छ,’ सहायक प्रजिअ कठायतले भने,‘किसानहरुको समस्या समाधानको लागि गुलरिया नगरपालिकाकी उपप्रमुखसँग समन्वय गरेका छौं ।’

कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख लालबहादुर चौधरीका अनुसार युरिया मल छैन । यस्तै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रमुख प्रविणजंग शाहका अनुसार मल आउँछ र कोटाअनुसार सहकारीमार्फत गइरहेको छ । 

जिल्लामा ५० हजार १ सय ५० हेक्टरमा बर्खे धान खेती हुने गरेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले जनाएको छ ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully