सडक डिभिजन कार्यालयअर्न्तगत ४ वटा ठेक्का परेको भए पनि निर्माण कम्पनी सम्झौता गर्न आएको छैन ।
प्युठान — सडक डिभिजन कार्यालय प्युठानले लेकाली निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राख्न सिफारिस गरेको छ । ठेक्का सम्झौता गर्न नआएकाले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरी पठाइएको सडक डिभिजन कार्यालय प्युठानका प्रमुख बिसुनदास लामाले बताए ।
बेलुवा, खैरा, बासखोला सारिबाङ सडकखण्डअर्न्तगत (बिजुवार–बेलुवा सेक्सन) ठेक्का पारेको लेकाली निर्माण सेवा सम्झौताका लागि नआएपछि कार्यालयले २०८२ असार १८ गते निर्णय गर्दै सार्वजनिक खरिद नियमावली २०६४ नियम ६५ उपनियम (४ङ३) (४ङ५) नियम १४१ तथा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१ ख) दफा २७ बमोजिम कालोसूचीमा राख्न सिफारिस गरेको हो । लेकाली निर्माण सेवालाई सडक डिभिजन कार्यालयअर्न्तगत ४ वटा ठेक्का परेको र त्यसअन्तर्गत बेलुवा, खैरा, बासखोला सारिबाङ सडकखण्ड (बिजुवार–बेलुवा सेक्सन) को सम्झौता गर्न नआएको प्रमुख लामाले बताए ।
सार्वजनिक खरिद ऐन को १२ औं संशोधनमार्फत ५ वटाभन्दा धेरै ठेक्का खरिद सम्झौता गर्न नपाइने उल्लेख गर पनि लेकाली निर्माण सेवाले ५ भन्दा धेरै खरिद सम्झौता गरी काम गरेको पाइएपछि अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । ५ भन्दा धेरै खरिद सम्झौता गरेको पाइए एक निर्माण व्यवसायीलाई एक वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा राखी कारबाही गर्न सकिने प्रावधान छ । लेकाली निर्माण सेवाका सञ्चालक मल्लरानी गाउँपालिका–४ खलंगा निवासी सुनिल शाही (लेकाली) हुन् ।
