यो सडक सञ्चालनमा आउने हो भने सिद्धबाबाको पहिरोले घण्टौंसम्म राजमार्ग बन्द भएर सवारीसाधन बुटवल र पाल्पातर्फ बाटोमै रोकिनुपर्ने अवस्थाको अन्त्य हुने थियो ।
What you should know
पाल्पा — ठेक्का सम्झौता भएको १० वर्षसम्म पनि दोभान–नुवाकोट सिद्धबाबा वैकल्पिक सडक कालोपत्र भएको छैन । आर्थिक वर्ष २०७२/७३ मा पहिलो चरणको ठेक्का सम्झौता भएको थियो । पहिरोको उच्च जोखिम रहेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकका लागि यो वैकल्पिक मार्ग हो ।
यो सडक सञ्चालनमा आउने हो भने सिद्धबाबाको पहिरोले घण्टौंसम्म राजमार्ग बन्द भएर सवारीसाधन बुटवल र पाल्पातर्फ बाटोमै रोकिनुपर्ने अवस्थाको अन्त्य हुने थियो । यो सडकअन्तर्गत रुपन्देही र पाल्पा खण्ड पर्छन् । रुपन्देही खण्डको ९ किलोमिटर सडक ५ वर्षअघि नै कालोपत्र भइसकेको छ । पाल्पा खण्डको ८ किलोमिटर संघअन्तर्गत रहेर पनि अलपत्र छ । यहाँ सडक डिभिजन पाल्पाले मर्मत र ठेक्काको काम गर्दै आएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सडक क्षेत्रमा सुरुङमार्गको काम सुरु भएसँगै दोभान–नुवाकोट सडकमा काम अघि बढ्न सकेन । यसबीच बजेट नै विनियोजन भएन । कामले तीव्रता नपाएपछि बनेको सबबेसको कामसमेत बिग्रिएको छ । ५ वर्षदेखि बजेट नपर्दा अलपत्र बनेको यस सडकमा आर्थिक वर्ष २०८१/८२ मा दुई वटा ठेक्का लागेको थियो । ठेक्का लागेर काम अघि बढेको भए पनि सुस्त गतिमा छ ।
सडक डिभिजन पाल्पाका सूचना अधिकारी दुर्गा गौतमका अनुसार सिद्धार्थ राजमार्गको दोभानदेखि ८० मिटर ढलानको काम सुरु भएको छ । स्ल्याब कल्भर्ट र नाली निर्माणका काम गर्न ९८ लाख ८३ हजारको ठेक्का लागेको उनले बताए ।
२०८१ मंसिर २८ गते ठेक्का सम्झौता भएर २०८२ असार १५ मा सक्ने गरी भगवती कन्स्ट्रक्सन बुटवलले ठेक्का लिएको हो । तर अहिलेसम्म काम पूरा भएको छैन । असारको अन्तिम साता मात्र काम गरेकाले काम नसकिएको स्थानीयले बताए । सडक डिभिजनका अनुसार ८० प्रतिशत ढलानलगायत अन्य काम सकिएको छ ।
यही सडकअन्तर्गत नै १२ सय मिटर ढलान, केही स्थानमा ग्याबिन जालीसहित नाली निर्माणका लागि अर्को ठेक्का लागेको छ । यसको बजेट ४ करोड ६२ लाख रहेको छ । उमा–सदाशिव –जयअरुण जेभीले २०८२ वैशाख १४ मा ठेक्का सम्झौता गरेको हो । उसले असारको २० गते सक्ने गरी काम जिम्मा लिएको थियो । सडक डिभिजन पाल्पाका अनुसार यस अवधिमा १५ प्रतिशत मात्र काम भएको छ । यसको सडक डिभिजनले म्याद थप्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
योजनाअनुरुप काम भएको भए दोभान–नुवाकोटको काम ५ वर्ष अघि नै सकिएर सवारीसाधन गुड्न सक्ने थिए । तर यस क्षेत्रका जनप्रतिनिधिका साथै सडक डिभिजनको बेवास्ताका कारण काम अघि नबढेको हो । दोभान–नुवाकोट सडकको माथिल्लो क्षेत्र रुपन्देहीको सिमानातर्फ काम गर्नेगरी लुम्बिनी प्रदेशअन्तर्गत सडक पूर्वाधार विकास कार्यालय पाल्पाले पनि एक करोडको ठेक्का लगाएको छ । २०८२ असारको अन्तिममा लगाएको ठेक्काको अझै सम्झौता भएको छैन ।
‘वैकल्पिक सडक कालोपत्र हुन्थ्यो भने १५/१६ घण्टा जाममा परेर बस्नुपर्ने थिएन,’ तिनाउ गाउँपालिका दोभानका गोविन्द न्यौपानेले भने, ‘१० वर्षदेखि काम हुन्छ हुन्छ भन्ने मात्र भयो, अहिलेसम्म नभएपछि निकै सास्ती खेप्नुपरेको छ ।’
नुवाकोटसम्म पुग्ने सडक ग्राभेलस्तरसम्म भएको हो । तर अहिलेसम्म कालोपत्रको काम अघि नबढेर अलपत्र पर्दा ठाउँठाउँमा बिग्रेको छ । उकालोमा हिलो र खाल्डाखुल्डीले समस्या पारेको यात्रुको गुनासो छ । यो सडक भएर यात्रा गर्ने साना सवारीसाधन बढी मर्कामा परेका छन् । नुवाकोट पर्यटकीय क्षेत्र बनेको छ । तर दोभानदेखि नुवाकोट पुग्न वर्षायाममा सास्ती नै खेप्नुपर्ने अवस्था रहेको स्थानीय रत्न विकले बताए ।
चुरे क्षेत्रमा पर्ने नुवाकोटमा केवलकार र ठूला होटल निर्माण भएका छन् । नुवाकोटदेखि बुटवल बेलबास भने कालोपत्र सडक छ । ‘पाल्पातर्फ कसैले पनि वास्ता नगरेर यस्तो अवस्था आएको हो,’ विकले भने, ‘अहिलेसम्म सडक सुधारको कामसमेत हुन सकेन ।’ यो सडक गतिलो बन्ने हो भने पाल्पा–बुटवल हुँदै लुम्बिनी र गण्डकी प्रदेशका करिब एक दर्जन पहाडी जिल्लाको सवारी आवागमनमा त्यसले फाइदा पाउँथे । सिद्धबाबा–दोभान खण्डमा वर्षामा मात्रै होइन हिँउदमा समेत धुले पहिरोको जोखिम छ । अहिले सुरुङ निर्माणको काम सुरु भए पनि त्यसको विकल्पमा दोभान–नुवाकोट हुँदै रुपन्देहीको बुटवल बेलबास जोड्ने १७ किलोमिटरको वैकल्पिक सडक बन्ने थियो ।
नुवाकोटदेखि बेलबाससम्मको करिब ९ किलोमिटर सडक बुटवलले कालोपत्र गरेर मर्मत गर्ने समय भइसकेको छ । दोभानदेखि नुवाकोटसम्म अझै स्तरोन्नतिसमेत हुन नसकेको स्थानीयको गुनासो छ । सडक डिभिजन पाल्पाले दुई वर्षमा निर्माण सक्ने योजना सफल हुन सकेन । अहिलेसम्म यो सडकमा सबबेसको कामसमेत सकिएको छैन । गरेका कामसमेत बिग्रिएको छ । खाल्डाखुल्डी लगायत अन्य समस्याले सवारीसाधन गुडाउन समस्या रहेको दोभानका स्थानीय मोटरसाइकल चालक करण थापाले बताए ।
१० वर्षअघि नै ग्राभेलको काम सकेर रिटेनिङ वाल, नाली तथा कल्भर्ट निर्माणको काम भइरहेको थियो । तर वर्षौंदेखि यो सडकमा थप काम हुन सकेन । रिटेनिङ वाल र कल्भर्ट निर्माण सकेर कालोपत्र गर्ने गरी टेन्डर हुन नसक्दा अलपत्र परेको स्थानीय तथा पूर्वजनप्रतिनिधि श्रेष्ठले बताए । आपतकालीन अवस्थामा सवारी आवागमनका लागि सडक प्रयोग गर्न सकिने गरी ग्राभेलको काम भएको थियो । तर वर्षौंदेखिको बेवास्ताले गर्दा सडक जीर्ण बन्दै गएको छ ।
सिद्धबाबा खण्डको पहिरोको जोखिम र जाममा फस्नुभन्दा साना सवारीसाधनले दोभान–बेलबास वैकल्पिक मार्ग प्रयोग गर्दा उचित हुन्थ्यो । ८ किलोमिटर सडकको सबबेस निर्माणका लागि २०७३ मै ६ करोडमा ठेक्का लागेको थियो । २०७६ मा २ किलोमिटर ग्राभेलका लागि १ करोडमा र नाली, कल्भर्ट, रिटेनिङवाल निर्माणका लागि सोही वर्ष २ करोडमा अर्को ठेक्का सम्झौता भएको हो । अहिलेसम्म ८ करोड बढी खर्च भइसकेको छ । पुनः तीन खण्डमा गरी ७ करोड बढीको ठेक्का अघिल्लो आर्थिक वर्षमा लागेको छ । सडक डिभिजन पाल्पाका सूचना अधिकारी गौतमले दोभान–नुवाकोट सडकमा रहेका खाल्डाखुल्डी पुर्नका लागि डोजर पठाइएको बताए ।
