सिद्धार्थ राजमार्ग छिनमै खुल्छ, छिनमै बन्द

पानी परेका बेला पहिरो र ढुंगा खस्दा यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्।

श्रावण १९, २०८२

माधव अर्याल

Siddharth highway opens in a moment, closes in a moment

What you should know

पाल्पा — सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड छिनमै सञ्चालनमा आउँछ र छिनभरमै बन्द हुने गरेको छ । ठूलो वर्षा हुनासाथ ढुंगा खस्ने समस्या भएकाले यस्तो समस्या आएको हो ।

पानी रोकिनासाथ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले डोजर लगाएर सडक खुलाउने गर्छ । तर पुनः पानी पर्नासाथ राजमार्गको माथिल्लो भेगबाट ढुंगा खसेपछि सवारी साधन रोकिने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले बताए ।

पानी परेकाले सोमबार तीन पटक खुल्ने र बन्द हुने भएको छ । राति वर्षा ठूलो भएकाले बिहान डोजरले ढुंगा र पहिरो पन्छाएर यातायात खुलाएको थियो । पुनः केही समयमै अवरुद्ध भएको थियो । १० बजेतिर पुनः बन्द भएको थियो । अहिले साढे १२ देखि पुनः बन्द भएको छ ।

‘ढुंगा खसेकाले वैकल्पिक मार्ग प्रयोग गरेर बुटवल हिँडेको छु,’ तिनाउ गाउँपालिका–२, दोभानका राजेश श्रेष्ठले भने, ‘सिद्ध बाबामा जोखिम कायमै भएकाले पनि यात्रा गर्न डर लाग्छ ।’

प्रहरीका अनुसार राजमार्गमा पानी पर्नासाथ रोकिने र केही समयमै खुल्ने गरेको छ । तर पनि यात्रुलाई जोखिमका बेला यात्रा गर्न नदिएको दोभान प्रहरी चौकीले जनाएको छ । पानी परेर सिद्धबाबा खण्डमा पहिरो खस्ने, ढुंगा खस्ने भएपछि प्रहरी चौकी दोभान, प्रभास, बर्तुङले सवारी साधन रोक्ने गरेको छ ।

तिनाउ गाउँपालिका–३, दोभान बजारका विष्णु पाण्डेयका अनुसार सडक खुल्ने र बन्द हुने क्रम जारी रहेको छ । ‘एकै छिनमा बन्द हुन्छ, एकै छिनमा खुल्छ,’ उनले भने, ‘ढुंगा खस्ने समस्याले गर्दा सडकमा जोखिम मोलेर यात्रा गर्न नहुने अवस्था छ ।’

सिद्धबाबा क्षेत्रमा साना–ठूला पहिरो खसिरहन्छन् । राजमार्ग भएर उत्तर–दक्षिण स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट तराइको आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन्छन् । पानी पर्नासाथ राजमार्गको दोभान क्षेत्रमा पहिरो खस्दा पटक–पटक सडक अवरुद्ध हुने गर्छ ।

तिनाउ गाउँपालिका–५, चर्चरे र गौडेपुलको बीचमा तीन वर्षअघि खसेको पहिरो समयमै नियन्त्रण नगर्दा सिद्धार्थ राजमार्ग एकतर्फी छ । राजमार्गबाट डुम्रे खोलामा खसेको पहिरो व्यवस्थापनमा सडक डिभिजन पाल्पाले समयमै ध्यान नदिँदा सडकमा सवारी साधन एकतर्फी मात्र सञ्चालन गर्नुपर्ने बाध्यता बनेको हो ।

समयमै पहिरो व्यवस्थापन नभएपछि राजमार्ग जोगाउन एक महिनादेखि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा प्लास्टिक बिछ्याइएका छन् । समयमै पहिरो नियन्त्रणको काम नभएपछि वर्षायाम सुरु भएसँगै सबै सडक खोलामा खस्ने त्रास बढेको यात्रु कपिलदेव खनालले बताए ।

सडक डिभिजन पाल्पाले समयमै पहिरो नियन्त्रणको काम गरेको भए सडक बच्ने सम्भावना थियो । ठेक्का भएपछि तत्कालै निर्माण व्यवसायीले निर्माणको काम नगर्दा थप जोखिम बढेको छ । सडक डिभिजन पाल्पाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा सडक मर्मत–सुधार गर्न ६ महिनाअघि ठेक्का गरेको थियो ।

चर्चरे क्षेत्रको पहिरो व्यवस्थापन गर्न भगवती कन्स्ट्रक्सन बुटवललाई ४२ लाख रुपैयाँ इष्टिमेटसहित ठेक्का लगाएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले बताए ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully