यस वर्ष धानको मौसममा युरिया मल आउने सम्भावना छैन ।
What you should know
बर्दिया — मागअनुसार आपूर्ति नहुँदा बर्दियामा युरिया मलको चरम अभाव भएको छ । कृषि सामग्री कम्पनी बर्दियाले मागअनुसार मल आपूर्ति नभएपछि किसान चिन्तामा छन् ।
नेपालमा पाइने बोराको ८ सय ९४ रुपैयाँ ५० पैसाको युरिया मल भारतीय सीमावर्ती बजारमा बिचौलियाले २ हजार ५ सयसम्म बिक्री गर्दे आएका छन् । सीमावर्ती भारतमा प्रतिबोरा २ सय ७२ रुपैयाँ भारु रहेको छ । बिचौलियाबाट पनि ल्याउँदा भारतीय सुरक्षाकर्मीलाई छलेर ल्याउनुपर्ने बाध्यता रहेको गुलरिया नगरपालिका–८ का किसान हरिशचन्द्र थारुले बताए । 'यस्तो स्थिति हरेक वर्षदेखि खेप्दै आएका छौं,’ उनले भने, 'मलको अवस्था यस्तै रह्यो भने आउने वर्षदेखि धान खेती नगर्ने सोच बनाएका छौं ।'
सरकारले मलको अभाव नहुने आश्वासन दिए पनि किसानले मल पाएका छैनन् । स्थानीय किसान हरिराम यादवले सरकारले झुट बोलेको बताए । 'निर्वाचनको समय किसानलाई समयमै सहज मल आपूर्ति गर्छौं भन्ने आश्वासन आइरहन्छ तर मल आउँदैन,' उनले भने । समयमा वर्षा नहुनु, बिउ,मल नपाउनु किसानका लागि दुर्भाग्य भएको यादवले बताए ।
कृषि सामग्री कम्पनीले गत वैशाखयता ४० हजार बोरा मल सहकारी संस्थालाई वितरण गरिसकेको छ । थप ५६ हजार बोरा मलको आवश्यकता रहेको कम्पनीका प्रमुख लालबहादुर चौधरीले बताए । 'कम्पनीमा अहिले एक बोरा पनि युरिया मल छैन,’ उनले भने, ‘यस वर्ष धानको मौसममा युरिया मल आउने सम्भावना छैन ।'
हरेक वर्ष भारतबाट अवैध रुपमा बर्दियामा २५ प्रतिशत मल भित्रिने गरेको थियो । भारत सरकारले कडाइ गरेका कारण मल पाउन छाडिसकेको छ । बर्दियामा ५० हजार १ सय ५० हेक्टरमा धान खेती हुने गरेको छ ।
