लाम्दीखोलाका ९५ प्रतिशत खेत बाँझै, रामपुर नगरपालिकामा २५ प्रतिशत खेतमा अझै रोपाइँ भएन ।
What you should know
रामपुर, पाल्पा — रामपुर नगरपालिका–९, लाम्दीखोलाका किसान गोपाल काफ्ले आइतबार बिहान परेको पानीले राहतको श्वास फेरेका छन् । आकाशे पानी नपरेपछि सबै खेत बाँझै भएकाले उनी चिन्तित थिए । ब्याडको बीउ बुढो भइसक्यो तर पानी पर्दैन । यही कारण दिनरात चिन्ता बढेको उनले बताए ।
‘गाउँका अधिकांशको आकाशे पानीको भरमा खेत रोप्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘साना खोलाखोल्सामा पानी नै बढेको छैन । खडेरीले भएका मूलसमेत सुकेर हरिबिजोग भएको थियो ।’
काफ्लेका अनुसार टारी खेतमा अहिले पनि ९५ प्रतिशत रोपाइँ हुन सकेको छैन । लाम्दीखोला क्षेत्रमा आकाशे पानीको भरपर्नुपर्ने २ हजार रोपनीभन्दा बढी खेत छ । टारी खेत आकाशे पानीको भरमा रोप्नुपर्ने हुन्छ । ‘कतिपय आकाशबाट परेको पानी भल छोपेर रोप्नुपर्ने अवस्थाको छ,’ उनले भने, ‘त्यस्ता खेतको धान आकाशकै पानीको भरपर्ने हो ।’ गाउँकै अनिल काफ्ले पनि हलोजुवा, खोक लिएर खेतमा पुगेका छन् । तर उनले दुई तीनवटा गरा बाहेक रोप्न मिल्ने पानी नपाएका बताए । ‘बिहान केही समय परेको पानीले जमिन भिजाएको छ,’ उनले भने, ‘अलि अलि खोल्सीमा भल बगेकाले त्यसलाई लगाएर रोप्न सुरु गरेको छु ।’
आकाशबाट पानी पर्दा रामपुर नगरपालिका–९, लाम्दीखोलाका धेरै किसानले राहतको श्वास फेरेको वडाध्यक्ष डिलबहादुर रानाले बताए । उनका अनुसार आकाशबाट पानी नपर्दा यस वर्ष धान लगाउनै नपाउने हो कि भन्ने चिन्ता थियो । तीन खेती गर्ने खेतमा समेत यस वर्ष धान लगाउन पाइएको थिएन । लाम्दी खोलामा पानी नै नभएपछि धेरैले धान लगाउन नपाएका हुन् । ‘यस्तो खडेरी हामीले जानेकै थिएनौं,’ उनले भने, ‘अहिले परेको पानीले किसानलाई धेरै राहत मिलेको छ ।’ खेत रोपेकाहरुले पनि पम्पसेट, मोटर चलाएर खेतमा सिँचाइ गर्नुपर्ने बाध्यता थियो ।
जब्गादीको बझगौडा, सिमलभन्ज्याङको तल्लो भाग, माझकोटको कैनपानी, गुन्डाँडा, आँगाटारी, बाँसटारी, लाम्दीखोला, ठूलोखेत, मन्टाहाखोला लगायतका अधिकांश खेत आकाशे पानीकै भरमा रोप्ने हुन् । अध्यक्ष रानाका अनुसार अधिकांशको खेतमा ब्याड दुई महिनाको भइसकेको छ । हाते टेक्टर कम भएकाले गोरु हुनेले आइतबार नै भल छोपेर खेतमा पानी पट्याएर रोपाइँ गर्न सुरु गरेका छन् । तीन दिनसम्म पानी पर्ने मौसमविद्को अनुमानले गर्दा टारी खेतमा पनि रोपाइँ थालेको उनले बताए ।
रामपुर नगरपालिकाको ५, ६, ७, ८ नम्बर वडाका विभिन्न स्थानमा पनि आइतबारको वर्षाले खेतमा रोपाइँ सुरु गरेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए । उनका अनुसार आकाशे पानीले खेतलाई भिजाएर पानी अडिन थालेको छ । ‘अब सानो पानीले पनि खेट पट्याउन सहज भएको छ,’ उनले भने, ‘रोपेर पहेँलिएका धानलाई पनि आकाशबाट पानी परेपछि राहत पुगेको छ ।’
आकाशे पानी नपर्दा मधेशमा मात्र नभई पाल्पाको अन्नभण्डारका रुपमा चिनिएको रामपुर फाँटमा रोपाइँ हुन सकेको थिएन । रामपुर नगरपालिका क्षेत्रभित्र मात्र नभई गेझा, लाम्दीखोला, भुजात, निसर्दी, वर्दले, रम्भाको हुँगीमा खेत रोप्नै बाँकी थियो । रोपेका धान पनि धाँजा फाटेर रोपो मर्ने अवस्थामा पुगेको किसान एकदेव गौतमले बताए । कृषि शाखा प्रमुख गैरेका अनुसार अन्न भण्डारका रुपमा चिनिने रामपुर नगरपालिका क्षेत्रमा धान खेती हुने ३४ हजार रोपनीमध्ये झन्डै २५ प्रतिशत खेत अझै बाँझै रहँदा यस वर्ष धान उत्पादनमासमेत कमी आउने किसानको गुनासो छ ।
आकाशे पानी परेपछि मूल फुटेर रोपाइँ हुने खेतमा सोचेअनुसारको रोपाइँ हुन नसकेको उनले बताए । असारको भलपानीले रोपिएको रोपो पनि सुकेका थिए । त्यस्तालाई राहत पुगेको छ । पानी नपाएपछि मोटर चलाएर जोगाउने अभियानसमेत थालेका थिए । नजिकै कालीगण्डकी बगे पनि त्यसको उपयोग गर्न नपाएको किसानको गुनासो छ । जिल्लाकै खोला, खोल्सा, ढावतिरका गराहरुमा धान रोपाइँ सुरुमै गरेका थिए । धानखेती हुने क्षेत्रमध्ये सबै खेतमा खोलाको सिँचाइ सुविधा छैन । आकाशे पानीको भरमा धान खेती हुने खोला किनारभन्दा माथिल्ला बस्तीहरुमा रोपिएको रोपो सुकेका छन् ।
रामपुर नगरपालिका क्षेत्रमा रामपुर फाँट सिँचाइ योजना (निस्दीखोला) अन्तर्गत नहर छ । तर नहरले सबै खेत समेट्न सक्दैन । बहखोला, तुरुन्दीखोलामा पानीका स्रोत बढेको छैन । कुलो लाग्ने खेतमा आकासको पानी नपर्दा स्रोत नबढेकाले समस्या भएको हो । खेतको तल्लो भागमा खोला र कालीगण्डकी नदी बगेको छ । तर आकाशबाट पानी नपर्दा अन्नभण्डार मानिने फाँटहरु अझै बाँझै छन् । जिल्लामा आठ हजार २१० हेक्टर भू–भागमा वर्षे धान खेती हुँदै आएको छ । धानखेती हुने क्षेत्रमध्ये ६० प्रतिशत खेतमा खोला नदीको सिँचाइ सुविधा छैन । कृषि ज्ञान केन्द्रले भने हचुवाको भरमा धान रोपाइँ धेरै भएको तथ्यांक बाहिर दिएकामा किसानको आक्रोश छ । तथ्यांकमा धान रोपिएको भए पनि वास्तविकतामा किसान खडेरीको मारमा छन् ।
‘किसानले खेत धेरै रोपेको भन्नेहरु हाम्रो फिल्डमा आएर हेरे हुन्थ्यो,’ रामपुर नगरपालिका–१० का ओमबहादुर गाहाले भने, ‘पानी नै छैन । सिँचाइको व्यवस्था गर्नु छैन । कार्यालयमा बसेर तथ्यांक दिएर हुन्छ र ?’ कृषि ज्ञान केन्द्रले भने आइतबारसम्म जिल्लाभर ९४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको रिपोर्ट लुम्बिनी प्रदेश सरकारलाई दिएको छ । यो तथ्यांकप्रति रामपुर नगरपालिका क्षेत्रका किसान भने हचुवाको भरमा दिएको तथ्यांक भएको आरोप लगाएका छन् ।
