गुलरियामा रोकिएन चितुवा आक्रमण, स्थानीय त्रसित

भन्सार टोलका मोहम्मद हनिफ अन्सारीको खोरबाट चितुवाले दुई खसी खाएपछि समाजमा त्रास फैलिएको छ।

श्रावण १७, २०८२

रामप्रसाद चौहान 

Leopard attacks did not stop in Gularia, locals panicked

What you should know

बर्दिया — सदरमुकाम गुलरियामा चितुवाको आतंक बढ्दो छ। गुलरिया बजार वरिपरि चितुवाले लगातार पशुचौपायालाई सिकार बनाइरहेको छ।

शुक्रबार राति गुलरिया नगरपालिका–८ भन्सार टोलका मोहम्मद हनिफ अन्सारीको खोर भत्काएर चितुवाले दुई वटा खसी खाएको छ । अन्सारीले करिब २५ हजार रुपैयाँमा ठूलो खसी बेच्न लागेका थिए तर कुरा नमिल्दा नबेचेका खसीलाई चितुवाले खाएको पीडित सहिदा बनो अन्सारीले बताइन्। उनले भनिन्, 'हामी तारजाली लगाउन सक्दैनौँ। दिनहुँ बस्ती पस्ने चितुवाबाट साना बालबच्चालाई जोगाउन मुस्किल भइसकेको छ।'

यसअघि गत असार २६ गते गुलरिया–८ सुरजपुरका अवधराम लोधको खोरमा बाँधिएका तीन वटा बाख्रा, असार दोस्रो साता सुरजपुरकै हिमबहादुर पुनको तीन वटा बाख्रा चितुवाले खाएको थियो। यसरी बस्तीमा पल्केको चितुवाले विपन्न परिवारलाई बढी असर गरेको छ भने कुकुरसमेत मारेको छ।

भन्सार टोलका हमिद इद्रिसीका अनुसार विगत एक सातादेखि चितुवा बस्तीमै देखिँदै आएको छ र सिसी टिभीमा समेत कैद भएको छ। 'निरन्तर चितुवा देखिँदा पनि डिभिजन वन कार्यालयले कुनै चासो देखाएन,' उनले भने।

गुलरिया–८ का रामु लोधले भने, 'यदि अब पनि वन कार्यालयले चासो नदिए मानवीय क्षति ब्यहोर्नुपर्ने खतरा बढेको छ।' वडा अध्यक्ष धर्मेन्द्रकुमार बनियाँले चितुवाको नियन्त्रणका लागि सम्बन्धित निकायलाई तत्काल पहल गर्न आग्रह गरे।

गत आर्थिक वर्षमा मात्रै चितुवाको आक्रमणबाट गुलरियासहित विभिन्न स्थानमा एक महिला, दुई बालिका र एक बालक गरी चार जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए। जसमा गुलरियाकै दुई बालिकाले ज्यान गुमाएका थिए।

यस सम्बन्धमा जानकारी लिन खोज्दा डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरी सम्पर्कमा आएनन्। 

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully