बर्दिया कारागारमा नाइके र कैदीबन्दीबीच झडप, १० जना घाइते

बर्दिया कारागारमा कैदीबीच विवादले ६ जना सामान्य र ४ जना कैदी घाइते भएका छन् ।

श्रावण १६, २०८२

रामप्रसाद चौहान 

Clash between Nike and inmates in Bardia Jail, 10 injured

काठमाडौँ — बर्दिया कारागारभित्र नाइके र कैदीबन्दीबीच झडप भएको छ । शुक्रबार बिहान ११ बजेतिर झडप हुँदा नाइकेसहित १० जना कैदीबन्दी घाइते भएका छन् ।

६ जना सामान्य र ४ जना कैदीबन्दीको टाउकोमा चोट लागेको बर्दिया अस्पतालले जनाएको छ । अस्पतालका अनुसार घाइते ३ जना कैदीबन्दीको टाउकोमा टाका लगाइएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको बर्दिया अस्पतालका चिकित्सकले जनाएका छन् । 

के विषयमा विवाद भएको वास्तविकता बाहिरिएको छैन । कारागारका प्रमुख मानबहादुर सारु काम विशेषले बाहिर रहेका छन् ।

कारागार प्रशासनका अनुसार प्रत्येक नयाँ आर्थिक वर्षमा नाइके, सहायक नाइके र चौकीदार चयन गर्नुपर्छ । नाइके चयन अवधिभर फोन अवरुद्ध गरेको कारागारका सूचना अधिकारी रविकुमार थारुले बताए । ‘नाइके, सहायक नाइके र चौकीदार गरी ५८ जनालाई तीन दिनअघि मात्र जिम्मेवारी तोकिएको हो,’ उनले भने, ‘एक महिनाअघि कैलालीबाट स्थानान्तरण भई आएको कैदीबन्दीको टोलीले आन्तरिक प्रशासनको अनुशासन नमान्दा विवाद भएको बुझिएको छ ।’ 

थप अनुसन्धानका लागि ६ जना कैदीबन्दीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले लगेर गएको सूचना अधिकारी थारुले जनाए । कारागार प्रशासनका अनुसार महिला पुरुष गरी ४ सय २५ जना कैदीबन्दी छन् । 

कारागार संवेदनशील भएकोले अहिले केही बोल्न नमिल्ने जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully