पाल्पाका सात राजनीतिक दलको प्रशासनलाई १० बुँदे ध्यानाकर्षण

पाल्पामा क्रियाशील एवं सरकार बाहिर रहेका दलहरूले १० बुँदे विभिन्न समस्या औँल्याएका हुन् । 

श्रावण १६, २०८२

माधव अर्याल

10 points attention to the administration of seven political parties in Palpa

What you should know

पाल्पा — पाल्पाका सात राजनीतिक दलले भ्रष्टाचार, कुशासन, अनियमितता, महँगी र दण्डहीनताको अन्त्यको माग गदै पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई ध्यानाकर्षण गराएका छन् । जिल्लामा क्रियाशील एवं सरकार बाहिर रहेका दलहरूले १० बुँदे विभिन्न समस्या औँल्याएका हुन् । 

जिल्लास्थित यातायात व्यवस्था सेवा कार्यालय, विशेष नापी कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, मालपोत लगायत सरकारी कार्यालयमा घुसबिना काम नहुने गुनासो आम नागरिकको भएकाले तत्काल यस विषयलाई सम्बोधन गर्न ध्यानाकर्षण गराइएको छ ।

कृषि ज्ञान केन्द्रको योजना अनुगमनको विषयलाई लिएर समेत ध्यानाकर्षण गराएका छन् । सरकारी कार्यालयमा साथै सामाजिक तथा धार्मिक संघसंस्थामा राजनीतिक हस्तक्षेप र भागबन्डा बन्द गराउन पहल गर्न माग गरिएको छ । 

कच्ची सडकमा कायम भएको चर्को भाडा दर तत्काल समायोजन गर्न माग गर्दै जनताको आवागमनलाई सहज हुनेगरी समय तालिम निर्धारण गर्न माग गरेका छन् । चाडपर्वको समयमा हुने वस्तुको कृत्रिम अभाव, मूल्य वृद्धि, मिति गुज्रिएका सामानहरूको बिक्रीवितरणमा हुने सम्भावना रहने हुँदा समयमै बजार अनुगमन गरी बजार मूल्य नियन्त्रण गर्न माग गरेका छन् । गत आर्थिक वर्षसम्म निरन्तरता पाइरहेका जिल्लाका सयौँ क्रमागत आयोजनाहरूमा यस वर्ष शून्य बजेटका कारण अलपत्र परेकाले त्यस्ता आयोजना सम्पन्न गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् । 

बजेट विनियोजन भई टेन्डर भएका तर निर्माण कम्पनीबाट काम नहुँदा जिल्लामा योजना अलपत्र पर्ने दर बढेकाले त्यस्ता कम्पनीलाई कारबाही गरी कामको सुनिश्चितता गर्न माग गरेका छन् । पाल्पा दरबार परिसरमा रहेका बाल मन्दिर र जिल्ला समन्वय समितिको कार्यालय अन्यत्र स्थानान्तरण गरी दरबार परिसरको सौन्दर्यीकरण व्यवस्था गर्न माग गरेका छन् ।

विभिन्न जात्रा, चाडपर्व नजिकिएको र प्रमुख सडक र जोखिमपूर्ण भित्री सडक तल मर्मतसम्भार गर्न सम्बन्धित कार्यालयमार्फत पहल गर्न माग गरिएको छ । पाल्पा–बुटवल सडक खण्डमा गुड्ने ओभर लोड सवारी साधन नियन्त्रण गर्न माग गर्दै ट्राफिक जाँचका नाममा सवारी चालकलाई दुःख दिने कार्य बन्द गर्न माग गर्दै ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा नवीकरणका साथै स्वास्थ्य बिमा कार्यक्रममा सहजीकरण गर्न माग गरेका छन् । 

ध्यानाकर्षण पत्रमा नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र विक, राष्ट्रिय स्वतन्त्र पार्टीका सहसंयोजक सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष अशोककुमार शाही, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र राष्ट्रिय जनमुक्ति पार्टीका पाल्पा अध्यक्ष होमबहादुर थापाले हस्ताक्षर गरेका छन् । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully