कुकुरको किरिया !

वडा नम्बर १७ का सदस्यसमेत रहेका पौडेलले नवौं दिनमा आफन्तहरुलाई बोलाएर कुकुरको श्रद्धाञ्जली सभासमेत गरेका छन् ।

श्रावण १५, २०८२

दुर्गालाल केसी

Dog action!

What you should know

दाङ — मानिसको मृत्यु भएपछि किरिया गरेको त सबैलाई थाहा छ तर कुकुरको पनि किरिया हुन्छ! भन्दा अचम्म लाग्नु स्वभाविक हो ।

तुलसीपुर उपमहानगरपालिका–१७, मानपुरका शशीधर पौडेलले घरपालुवा कुकुरको मृत्यु भएपछि मानिसको जस्तै किरिया गरेका छन् ।

नौ वर्षको उमेरमा साउन ६ गते मृत्यु भएको कुकुरको पौडेलले ९ दिनसम्म किरिया गरी अन्तिम संस्कार सम्पन्न गरेका छन् ।

‘मानिसको आत्मीयता मानिससँग मात्रै हुँदैन, घरपालुवा जनावरसँग पनि हुन्छ’, भन्ने सन्देश उनको कर्मले दिएको छ । आफ्नै सन्तानका रुपमा हुर्काएको कुकुरको मृत्यु भएपछि मर्माहत भएर किरिया गरेको पौडेलले बताए ।

वडा नम्बर १७ का सदस्यसमेत रहेका पौडेलले नवौं दिनमा आफन्तहरुलाई बोलाएर कुकुरको श्रद्धाञ्जली सभासमेत गरेका छन् । कुकुरको नाम थियो रमी । उनले रमीलाई अन्य सन्तान सरह हुर्काएका थिए ।

Dog action!

‘घरको हेरदेख गर्ने, मानिसलाई चिन्ने र गुणी प्राणी भएकाले यस कुकुरले परिवारको मन जितेको छ,’ उनले भने,‘सँधै मसँगै मोटरसाइकलमा चढेर जता पनि सँगै जान्थ्यो । एकछिन पनि नछोड्ने भएकाले सन्तानका रुपमा माया पायो ।’

साउन ६ गते कुकुर एकाएक घरबाट हराएको र कसैले मारेर फालिदिएको उनले बताए । धेरै ठाउँमा खोज्दा पनि नभेटिएपछि अन्तमा मरेको निश्चित गरी किरिया गरेको उनले बताए ।

Dog action!

कुकुरले घरको सबै हेरचाह गरी परिवारले खाना खाए नखाएको समेत ख्याल गर्ने गरेको उनले बताए । ‘हाम्रो भाषा बुझ्थ्यो । घरमा कसैलाई आउन नदिनू, राम्रोसँग हेर्नू भनेपछि हामी ढोका नलगाएर घरबाट निस्कन्थ्यौं,’ उनले भने,‘नराम्रो बिराउ केही गरेन । मानिस जस्तै ज्ञानी र गुणी थियो ।’

हेर्दा यो सामान्य घटना भए पनि मानवीय संवेदनाका हिसाबले मर्मस्पर्शी भएको तुलसीपुर उपमहानगरपालिका वडानं. १७ का अध्यक्ष थलराज पुरीले बताए । ‘कुकुर इमान्दार र बफादार प्राणी भएकाले यसबाट मानिसले सिक्नुपर्ने धेरै कुरा छन्,’ उनले भने, ‘यही व्यवहारका कारण कुकुरले मानिस सरह माया, प्रेम र सम्मान पायो । अन्य प्राणीलाई पनि मानिस जस्तै व्यवहार गर्नुपर्छ भन्ने सन्देश यहाँबाट मिलेको छ ।’

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully