दाङमा अटो दुर्घटना हुँदा चार जना घाइते

अटो दुर्घटनामा २३ वर्षीय चालक सहित तीन किशोरी गम्भीर घाइते भएका छन्। उनीहरूको तुलसीपुरमा उपचार भइरहेको छ।

श्रावण १४, २०८२

दुर्गालाल केसी

Four injured in auto accident in Dang

दाङ — दंगीशरण गाउँपालिका–२ मधपुरमा बुधबार बिहान अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । कौवाघारीबाट गोल्टाकुरी जाँदै गरेको अटो अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल नालामा खसेको थियो ।

दुर्घटनामा घाइते हुनेमा अटो चालक रुकुम पश्चिम चौरजहारी नगरपालिकाका २३ वर्षीय धनबहादुर महतरा, दंगीशरण गाउँपालिका–२ की १६ वर्षीया संजिता चौधरी, सोही ठाउँकी १३ वर्षीया सदीक्षा बुढामगर र १४ वर्षीया योनिका विक रहेका छन् ।

घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा प्रहरी चौकी गोल्टाकुरीबाट प्रहरी सहायक निरीक्षक कनैयालाल चौधरीको कमान्डमा प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully