गुल्मी — पहिरोले कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्ड अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका-१ गरगरेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा माथिबाट पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
मंगलबार बिहानैदेखि गरगरेमा पहिरो खसेको छ । पहिरोले सडक अवरुद्ध हुँदा स्थानीय छोटो दूरीमा चल्ने सवारीसाधन, सदरमुकाम तम्घास, बाग्लुङ, पर्वत, बुटवल र पोखरा लगायतमा चल्ने सवारीसाधन आवतजावतमा समस्या भइरहेको छ ।
गरगरेसहित कालीगण्डकी करिडोरकै कालीगण्डकी गाउँपालिका-६ बर्लबामा यसपटकको वर्षायाममा धेरै पटक पहिरो खसेर सडक अवरुद्ध भइरहेका छन् ।
साथै गुल्मी हुँदै बुटवल-वुर्तिवाङ सडकको रुद्रवेणी-वामी खण्डको डहरे खोला र तल्लोफाँट खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
