ठेक्का प्रक्रिया छिटो सक्न र गुणस्तरमा सम्झौता नगर्न मुख्यमन्त्री आचार्यको निर्देशन

पहाडी क्षेत्रमा कालोपत्रभन्दा ढलान सडकलाई प्राथमिकता दिन आग्रह

श्रावण १२, २०८२

घनश्याम गौतम

Chief Minister Acharya's instructions to speed up the contract process and not compromise on quality

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजना जनताले अनुभव गर्ने गरी सञ्चालन गर्न निर्देशन दिएका छन् ।

पारदर्शिता, कार्यान्वयन क्षमता र योजनाको प्रभावकारितामा जोड दिएर ठेक्का प्रक्रिया छिटो सक्न र कामको गुणस्तरमा कुनै सम्झौता नगर्न उनले निर्देशन दिए । 

भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक तथा आर्थिक वर्ष २०८१/०८२ को प्रगति समीक्षा कार्यक्रमलाई सोमबार राप्ती उपत्यका देउखुरीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पारदर्शिता, कार्यान्वयन क्षमता र योजनाको प्रभावकारितामा जोड दिएका हुन् । उनले ढलान सडकलाई प्राथमिकता दिन र जनसरोकारका योजनालाई जोड दिन आग्रह गरेका छन् ।

‘विकासे आयोजनाका हरेक योजनाको समयमै कार्यान्वयन र पारदर्शी ढंगले फरफारक गराउनुहोला,’ उनले भने, ‘देखावटीभन्दा जनघनत्वका आधारमा योजना छनोट गरेर दीर्घकालीन उपयोगिता र जनसरोकारको महत्व देखिने गरी काम गर्नुस् ।’

समपूरक, विशेष र ससर्त अनुदानको बजेट छिटो कार्यान्वयनमा ल्याई ठेक्का प्रक्रिया छिटो टुङ्ग्याउन निर्देशन दिँदै बहुवर्षीय योजनालाई प्राथमिकता दिनुपर्ने उनले धारणा राखे । कालोपत्रभन्दा प्राविधिक दृष्टिले बलियो ढलान सडक उपयुक्त देखिएको अवस्थालाई ध्यानमा राखी ढलान सडकलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

समीक्षा बैठक भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव, महाशाखा प्रमुख, आयोजना निर्देशक तथा प्राविधिक अधिकृतहरूको उपस्थिति रहेको थियो । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully