अहिले जग्गाधनी पुर्जा माग गरेपछि भारतबाट आउने मल रोकिएको छ
What you should know
बर्दिया — भारत सरकारले सीमावर्ती क्षेत्रमा कडाइ गरेपछि नेपालमा मलको समस्या भएको छ । बर्दियासँग जोडिएको भारतको बहराइच जिल्लाको सीमा क्षेत्रमा मलको स्टक कमी भएपछि कडाइ गरेको छ ।
जिल्लामा मलको समस्या हुने गरेकाले स्थानीय प्रशासनले किसानका लागि भित्र्याउन छुट दिएको थियो । भारतबाट अवैध रुपमा बर्दियामा २५ प्रतिशत मल भित्रिने गरेको थियो । विगतमा आधार कार्डको आधारमा भारतीयलाई मल वितरण गर्दै आएकोमा अहिले जग्गाधनी पुर्जा माग गरेपछि भारतबाट आउने मल रोकिएको छ ।
गुलरिया नगरपालिका–१० का किसान दिपक चौधरीले सीमावर्ती भारतीय बजारमा मलमा कडाइ गरेपछि मल भित्रन छाडेको बताए । युरिया मलको सरकारी मूल्य २ सय ७२ रुपैयाँ भारु छ,’ उनले भने, ‘कालो बजारीले १ हजार देखि ११ सय भारुमा मल बेच्दै आएका छन् । नेपालमा युरिया मल ८ सय ९४ रुपैयाँ ५० पैसा प्रति बोरा रहेको छ ।’ मलको अभाव सीमावर्ती भारतीय बजारमा देखिन थालेपछि यहाँका किसान सहकारीबाट पनि मल नपाउँदा खेतमा छर्न नपाएको गुनासो गर्छन् ।
सहकारीमा पनि पहुँचको भरमा मल पाइन्छ स्थानीय किसान हरी रैदासले बताए । ‘दिनभर कुर्दा पनि मल पाइँदैन,’ उनले भने, ‘एकातिर पानी नपर्दा किसानले सास्ती भोग्नुपरेको छ भने अर्कोतिर मलको समस्याले किसान निकै दुःख पाई रहेका छन् । एक महिनाअघिसम्म जसोतसो मल भित्र्याइरहेका किसान अहिले उत्पादनमा हृास आउने भन्दै सरकारी रबैयाप्रति आक्रोश पोखिरहेका छन् ।’
कृषि सामग्री कम्पनी, बर्दियाले गत आर्थिक वर्षमा आएको ६ सय ८३ टन मल सहकारीलाई वितरण गरिसकेको जनाएको छ । कम्पनीका निमित्त प्रबन्धक लालबहादुर थारुले मलमा भारतले कडाइ गरेका कारण जिल्लामा समस्या भएको बताए । किसानका माग अनुसार पर्याप्त मल नभएको उनको भनाइ छ ।
बर्दियामा हरेक वर्ष खेतीको समय मलको अभाव हुँदै आएको छ । यस वर्ष पनि धान खेतीका लागि किसानले मल पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनी, बर्दियाका अनुसार भारतबाट किसानले करिब २५ प्रतिशत मल भित्र्याउने गरेका छन् ।
