बुटवल-नारायणगढ सडकखण्डमा काटिएको रुखको क्षतिपूर्तिस्वरूप वृक्षारोपण सुरु

श्रावण ११, २०८२

नवीन पौडेल

Plantation of trees started as compensation for felled trees on Butwal-Narayangadh road section

परासी — बुटवल–नारायणगढ सडक विस्तार आयोजनाले कटान गरेको रुखको क्षतिपूर्तिस्वरूप नयाँ बिरुवा रोप्न सुरु गरेको छ । ४० हजार रुख बिरुवा कटान गरिएको आयोजनाले १० लाख बिरुवा रोप्नुपर्नेछ ।

आयोजना निर्माणका क्रममा काटिएका रुखको २५ गुणा थप बिरुवा रोप्नुपर्ने प्रावधानअनुसार पूर्वी नवलपरासीमा वृक्षारोपण सुरु गरिएको सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए । आयोजनाले अहिले दस हेक्टर क्षेत्रफलमा करिब १७ हजार बिरुवा रोप्ने र बाँकी स्थान चयन गरी त्यसपछि क्रमशः रोप्दै जाने छ ।

मध्यबिन्दु नगरपालिका–१४, बाढ खोल्सी कबुलियती वन, दार्सिङघाट कबुलियती वन र बतासा कबुलियती वनमा वृक्षारोपण गरिएको छ । आयोजनाको लागतमा डिभिजन वन कार्यालयमार्फत वृक्षारोपणको काम गरिएको हो । १० लाख बिरुवा रोप्ने स्थान पाउन सजिलो नभएकाले रोप्न नसकेको बराबरको रकम वन विकास कोषमा जम्मा गर्ने तयारी आयोजना पक्षको छ ।

२०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रा.लि. ले बुटवल–नारायणगढ सडक विस्तारको काम गर्न राजमार्ग आसपासको रुख कटान गरेको थियो ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully