लुम्बिनीको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका पाण्डे नियुक्त

नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष पत्राचार, सोमबार शपथको तयारी

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

Pandey of LOSPA appointed as Youth and Sports Minister of Lumbini

What you should know

बुटवल — लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । उनले खाली रहेको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेलाई आइतबार नियुक्त गरेका हुन् । योसँगै लुम्बिनी प्रदेश सरकारमा उनी चौथो पटक मन्त्री बन्ने भएका छन् ।

पाण्डे यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए । पटक–पटक मन्त्री भएका पाण्डेले कांग्रेस–एमाले गठबन्धनको अहिलेको सरकारले ल्याएको बजेट पारित गर्न सहयोग गरेका थिए । बजेट पारित गर्ने समयमा प्रमुख प्रतिपक्ष दलसहित विपक्षी दलहरुले प्रदेश सभा बैठक बहिष्कार गरेपछि सत्ता पक्षमै रहेको लोसपा एकाएक विपक्षीमा पुगेको थियो । त्यतिबेलै कांग्रेस एमालेले पाण्डेलाई मन्त्री बनाउने सहमति गरेर सरकारलाई दिएको समर्थन फिर्ता गराएर विपक्षमा बस्न लगाएका थिए ।

तिनै पाण्डे अहिले युवा तथा खेलकुद मन्त्री बन्न लागेका हुन् । पाण्डेको सोमबार प्रदेश प्रमुख समक्ष शपथ ग्रहण गराउने तयारी छ । पाण्डे दुई पटक भौतिक पूर्वाधार र एक पटक आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए ।

लुम्बिनी प्रदेश सभामा लोसपाका ३ जना सदस्य छन् । लोसपाबाट सरकारमा मन्त्री थपिएसँगै लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीसहित १२ मन्त्री पुगेका छन् । यसअघि कांग्रेसले ५ र एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएका थिए । थप भएका दुई मन्त्रालयमध्ये जसपाले आन्तरिक मामिला तथा कानुनमन्त्री पाएको छ ।

लोसपालाई युवा तथा खेलकुद मन्त्रालय दिइएको हो । लुम्बिनीमा एमालेले मुख्यमन्त्री, भौतिक पूर्वाधार, ऊर्जा तथा सिँचाइ, भूमि व्यवस्था, कृषि तथा सहकारी र स्वास्थ्य मन्त्रालय लिएको छ । कांग्रेसले आर्थिक मामिला तथा योजना, सहरी विकास तथा खानेपानी, सामाजिक विकास, उद्योग पर्यटन तथा यातायात र वन तथा वातावरण मन्त्रालय लिएको छ । 

मुख्यमन्त्री कार्यालयले आफूलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गरिसकेको जानकारी पाएको पाण्डेले बताए । ‘प्रदेश प्रमुख कहाँ पत्र पठाइसकेको जानकारी पाएको छु,’ उनले भने, ‘सोमबार ३ बजे शपथ ग्रहण गर्ने भन्ने निर्देशन भएको छ । मैले त्यही अनुसार तयारी गरिरहेको छु ।’ उनले आफू यसअघि तीन पटक मन्त्री बनेको र अहिले चौथो पटक मन्त्री बन्न लागेको पनि बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully