गुल्मी — गुल्मीमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका-५ वस्तु अमराईकी ३० वर्षीया जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए ।
प्रहरीका अनुसार आइतबार बिहान ३ बजेको समयमा आगलागी भएको थियो । मृतक जुना आमा ७० वर्षीया मनिदेवी विकसँग बस्दै आएकी थिइन् ।
जस्ताले छाएको कच्ची एक तले घर थियो । मनिदेवीसँगै बस्ने नातिहरु भने सकुशल छन् । वडाध्यक्ष केशवराज भण्डारीका अनुसार नातिहरु मनिदेविका छोरातर्फका हुन् । छोरी जुनाको मानसिक स्वास्थ्यमा समस्या थियो ।
ईलाका प्रहरी कार्यालयबाट पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा टोली खटिएको छ । आगलागीबाट तीन लाख बढीको क्षति भएको अनुमान गरिएको छ । शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइँदैछ ।
