बुद्ध शिक्षा अन्तर्राष्ट्रियस्तरमै शान्तिका लागि नयाँ आयाम : मुख्यमन्त्री आचार्य

दुई दिने संगोष्ठीका लागि भारत, नेपाल तथा अन्य राष्ट्रका विश्वविद्यालयका उपकुलपति, कूटनीतिज्ञ, बौद्ध चिन्तक, विशिष्ट पाहुना, भिक्षु, भिक्षुणी तथा प्राज्ञिक व्यक्ति लुम्बिनीमा 

श्रावण ११, २०८२

घनश्याम गौतम

Buddhist education is a new dimension for international peace: Chief Minister Acharya

What you should know

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आवश्यक भएको बताएका छन् ।

 ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको बताएका हुन् । ‘बुद्धका शिक्षाले अन्तर्राष्ट्रिय कूटनीतिमा दीगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ,’ उनले भने, ‘लुम्बिनीलाई केवल धार्मिक स्थलका रूपमा नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनु पर्छ ।’

लुम्बिनी विश्व शान्तिको सन्देश फैलाउने केन्द्र हो यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूबाट यसको कूटनीतिक महत्व थप विस्तार हुने उनले बताए । नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपले अन्योन्याश्रित रहेको उल्लेख गर्दै उनले बुद्ध धर्म, भाषा, लिपि, परम्परा र दर्शनको साझा आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन शिक्षा, अध्ययन, अनुसन्धान तथा सांस्कृतिक सहकार्यलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्न सकिने धारणा राखेका थिए । उनले लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकारले अघि सारेको ‘लुम्बिनी विकास प्राधिकरण’ अवधारणाले कपिलवस्तुदेखि रामग्रामसम्म फैलिएको सम्पूर्ण बौद्ध सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले बौद्ध अध्ययनको शैक्षिक विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको पहल सराहनीय रहेको उल्लेख गर्दै भविष्यमा ‘नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र’ स्थापना, ‘बुद्ध सर्किट’ अन्तर्गत एकीकृत पर्यटन प्रवर्द्धन कार्यक्रम, बौद्ध अनुसन्धान केन्द्र, संग्रहालय र अन्तर्राष्ट्रिय युवा सम्मेलन जस्ता कार्यक्रम अघि बढाउने सम्भावनातर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

संगोष्ठीमा भारत, नेपाल तथा अन्य राष्ट्रहरूबाट सहभागी विभिन्न विश्वविद्यालयका उपकुलपति, कूटनीतिज्ञ, बौद्ध चिन्तक, विशिष्ट पाहुना, भिक्षु, भिक्षुणी तथा प्राज्ञिक व्यक्तिहरूको उपस्थिति छ । 

Buddhist education is a new dimension for international peace: Chief Minister Acharya

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले उच्च शिक्षामा नैतिकताको निकै महत्व रहेको भन्दै बुद्धका शिक्षाले सबैलाई त्यसतर्फ लगिरहेको बताए । 

कार्यक्रममा भारतीय विद्वान् प्रा. अभयकुमार सिंहले ‘कूटनीति र बुद्धका शिक्षाको मार्गदर्शन’ विषयमा मन्तव्य दिएका थिए । त्यस्तै विभिन्न विद्वान‍्हरुले शुभकामना सन्देशमार्फत बौद्ध शिक्षा र यसको सान्दर्भिताको बारेमा व्याख्या गरेका थिए ।

लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल ब्रजाचार्यको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतमा संगोष्ठीको उद्घाटन गरिएको थियो । सो अवसरमा भारत तथा नेपालका विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौतासमेत गरिएको थियो ।

रजिष्ट्रार डा. तिलक आचार्यले स्वागत गर्दै बौद्ध कूटनीति विश्वभर फैलाउन आवश्यक रहेको बताए । उनले विश्वविद्यालयले अन्तर्राष्ट्रिय सेमिनारमार्फत विश्वलाई शान्तिको सन्देश फैलाउने कार्य गरिरहेको जानकारी दिए । 

कार्यक्रममा काठमाडौं विश्वविद्यालययका उपकुलपति प्रा.डा. अच्युत वाग्ले, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा ध्रुवकुमार गौतम, संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनिश्वर नेपाल, भारतको सिद्धार्थ विश्वविद्यालयका उपकुलपति प्रा. कविता शाह, पूर्वराजदूतहरू प्रा.डा लोकराज बराल, दीपकुमार उपाध्याय, लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा. मणिकरत्न शाक्य लगायतले विश्वशान्तिका लागि बुद्ध कूटनैतिक सम्बन्ध महत्वपूर्ण रहेको बताएका थिए ।

कार्यक्रमको सहजीकरण अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक राजेन्द्र घिमिरेले गरेका थिए । सेमिनारमा विभिन्न देशका एक दर्जन विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले बताए । सेमिनारमा नेपाल र भारतका विश्विद्यालयका एक दर्जन उपकुलपतिहरू सहभागी रहेका छन् । सेमिनार सोमबारसम्म चल्ने छ । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully