एकैदिन ३५ जनाको मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया

‘धेरै दिनपछि आँखा देखेँ’

श्रावण १०, २०८२

रामप्रसाद चौहान 

Free cataract surgery for 35 people in one day

What you should know

बर्दिया — जिल्लामा एकैदिन विपन्न परिवारका ३५ जनाको मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया भएको छ । गुलरिया नगरपालिका–६ मा रहेको नेपाल रेडक्रस सोसाइटी शिवगंगा आँखा अस्पतालमा शुक्रबार ३५ जनाको एसआईसीएस प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । 

आँखा नदेखेर अरुको सहारा लिई आएका व्यक्तिहरुले सफल शल्यक्रियापछि खुसी हुँदै आफै हिँडेर फर्किएका छन् । शुक्रबार मोतिबिन्दुको शल्यक्रिया गराएका व्यक्तिहरुको आँखाबाट शनिबार बिहान पट्टि हटाइदाँ खुसीको माहोल बनेको थियो । वर्षौंदेखि नदेखिएका आँखा खुल्दा उनीहरु एकआपसमा खुसी साटासाट गरे ।

विगत केही महिनादेखि संसार देख्न छोडेको आँखाले पुनःदेख्न पाउँदा धेरै खुसी भएको बढैयाताल गाउँपालिका–९ जनता नगरकी ७१ वर्षीया लबरी थारुले बताइन् । ‘धेरै दिनपछि आँखा देखेँ,’ उनले भनिन्, ‘अब घर आँगनमा हिँड्डुल गर्न कसैको सहारा लिनुपर्ने बाध्यता हटेको छ ।’

ठेउला (महारानी) ले गर्दा दायाँ आँखा पहिलादेखि बिग्रिएर आमाले देख्न छोड्नु भएको छोरा सागर थारुले बताए । ‘विगत दुई वर्षदेखि राम्रो रहेको बायाँ आँखा पनि धुमिल हुँदै गएको थियो र विगत दुई महिनादेखि पूर्णरुपमा आँखा देख्न छोड्नु भयो,’ उनले भने,‘आमाले आँखा देख्न छोडेपछि हात समाएर शौचालयसम्म पुर्‍याउनु पर्ने अवस्था आयो, आर्थिक स्थिति कमजोर भएकैले आमाको आँखाको उपचार गराउन सकेको थिएन ।’ पर्चा काटेको एक सयमा आमाको बिग्रेको आँखा सप्रिएपछि धेरै खुसी लागेको उनले सुनाए ।

Free cataract surgery for 35 people in one day

गुलरिया नगरपालिका–९ टेपरीकी ५७ वर्षीया आमलावर चौहान पनि दुई वर्षअघिदेखि मोतियाबिन्दुले ग्रसित थिइन् । शुक्रबार बायाँ आँखाको निःशुल्क शल्यक्रियापछि खुसी हुँदै फर्किएकी छन् । त्यस्तै मधुवन नगरपालिका–४ बादरभरियाकी ६५ वर्षीया जिरिया थरुनी विगत केही वर्षदेखि मोतियाबिन्दुको समस्यामा थिइन् । आँखा शल्यक्रियापछि चहकिलो देखेको सुनाइन् । 

रुइत फाउन्डेसनको सहयोगमा शुक्रबार एकैदिन ३५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको शिवगंगा आँखा अस्पतालका म्यानेजर हरि केसीले बताए । ‘आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ३ सय १४ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया भएको थियो,’ म्यानेजर केसीले भने,‘जसमा रुइत फाउन्डेसनको सहयोगमा ६ सय ६४ र फिरिट हेलोज अस्टेलियाको सहयोगमा ६ सय ५० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया भएको थियो ।’ 

४ सय ५७ जनाले शुल्क तिरेर शल्यक्रिया गराएका थिए । गत वर्ष जिल्लाको विभिन्न पालिकामा ३६ वटा निःशुल्क मोतियाबिन्दु छनोट शिविरबाट ४ हजार ४ सय ४७ जनाको गरी जम्मा १९ हजार ४५ जनाको आँखा जाँच गरिएको शिवगंगा आँखा अस्पतालको रेकर्डले पुष्टि गर्छ ।

रुइत फाउन्डेसनको सहयोग र नेपाल रेडक्रस सोसाइटी शिवगंगा आँखा अस्पतालको समन्वय तथा प्राविधिक सहयोगमा निःशुल्क शिविर आगामी पुससम्म संचालन हुने जनाइएको छ । यदि निःशुल्क शिविर संचालन नभएको भए एसआइसीएस प्रविधिबाट एक जनाले मोतियाबिन्दुको शल्यक्रिया गर्न ४ हजार ८ सय रुपैयाँ खर्चिनु पर्थ्यो । 

गत आर्थिक वर्षको अन्तिमदेखि शिवगंगा आँखा अस्पतालमा फेको (कम्प्युटर) प्रविधिबाट पनि आँखाको शल्यक्रिया सुरु गरिएको म्यानेजर केसीले जनाए । यसअघि फेको प्रविधिबाट आँखाको शल्यक्रिया गराउने बिरामीहरु बाहिर जानुपर्ने बाध्यता थियो ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully