जो व्यवसाय गर्न तम्सिए र बने उदाहरणीय

ऋण लिएर थालेको व्यवसायले उनीहरुलाई घरव्यवहार चलाउन मात्र होइन सन्तानलाई राम्रो शिक्षादीक्षा दिन पनि मद्दत गरेको छ

श्रावण ६, २०८२

माधव अर्याल

Those who tried to do business and became exemplary

What you should know

पाल्पा — पाल्पाको रम्भा गाउँपालिका–४, हुमिन लोरेङकी विष्णु घर्तीमगरलाई चार वर्षअघिसम्म बंगुरको पाठापाठी नबिकेर हैरान थियो । अहिले भने पाठापाठी नै ‘बुक’ हुन थालेका छन् । 

वर्षमा तीनपटक बंगुरले पाठापाठी दिन्छ । एकै सिजनमा कम्तीमा डेढ लाखको पाठापाठी बिक्री गर्छिन् । ‘सुरुमा त केही हुन्न कि भन्ने डर लागेको थियो,’ उनले भनिन्, ‘बिस्तारै माउ बढाउँदै लगेँ । यतिबेला बंगुरपालन गरेर अहिले निकै खुसी छु ।’ उनीसँग अहिले १० वटा माउ र एउटा बिर (भाले बंगुर) पनि छ । 

आर्यभन्ज्याङ–रामपुर सडकको हुमिनदेखि आधा घण्टा हिँडेपछि उनको गाउँ लोरेङ पुगिन्छ । अहिलेसम्म बंगुरको पाठापाठी बिक्रीको कुनै समस्या छैन । कोभिडपछि बंगुरको पाठापाठी अभाव नै भएको उनले सुनाइन् । त्यसैले पनि गाउँघर र छिमेक गाउँमै बिक्री भइराखेको छ । 

बंगुरपालन व्यवसाय गर्ने समयमा ५ हजारमा पनि पाठापाठी बिक्दैनथ्यो । अहिले भने ७ हजारमा पाठापाठी बिक्री भइरहेको उनले सुनाइन् । बंगुरपालनबाटै एक वर्षमा कम्तीमा ५ लाख आम्दानी भएको घर्तीले बताइन् । ‘बंगुरपालनको आम्दानीले घरको आर्थिक अवस्था पनि सुध्रिएको छ,’ उनले भनिन् ।  व्यवसाय सुरु गर्नेबेला भने घरमा आर्थिक संकट थियो । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको केन्द्र (समूह) मा जोडिएपछि भने व्यवसाय गर्ने सोच बन्यो । बिनाधितो ३० हजार ऋण लिएर उनले बंगुरपालन र बाख्रापालन सुरु गरेकी हुन् । 

एउटा माउबाट सुरु गरेको बंगुरपालन अहिले व्यावसायिक बनेको छ । उनका श्रीमान् ओमानमा बस्छन् । छोरीहरुले एचए, स्टाफ नर्स पढेका छन् । श्रीमान् विदेश जाँदाको ऋण तिर्ने, छोरी पढाउने काममा यही बंगुरपालन सहयोगी बनेको छ । ‘मैले घरखर्च, छोरी पढाउनलाई बंगुरपालनबाट सहयोग गरेकी छु,’ उनले भनिन्, ‘अहिले माडी खहरे, बुटवलमा घडेरी जोड्नसमेत सफल भएका छौं ।’ उनले बाख्रासमेत पालेकी छन् । यही वर्ष मात्र खसीबोका बिक्री गरेर १ लाख ५ हजार कमाउन सफल भएको सुनाइन् । 

Those who tried to do business and became exemplary

निर्धन उत्थान लघुवित्तबाट बिनाधितो ३० हजार ऋण लिएर सुरु गरेको व्यवसाय अहिले सफलतातर्फ अघि बढेको रम्भा गाउँपालिका–४, हुमिनकै मनरुपा विश्वकर्माको अनुभव छ । उनका अनुसार व्यवसाय सुरु गरेपछि घर परिवारमा आर्थिक अवस्था सुध्रिएको छ । जनहित भगवती माविको क्यान्टिनसँगै पसल सञ्चालन गर्दा दैनिक कम्तीमा ३ हजार आम्दानी लिन सफल भएको उनले बताइन् । सम्झना एन्ड समीर खाजा घर सञ्चालन गरेकी मनरुपाले विद्यालयमा दैनिक खाजा (विद्यालय खाजा) पनि खुवाउने बताइन् । ‘श्रीमान्‌ले पनि निस्दीको गल्धा ढुंगाना बेँसीमा भाँडापसल गर्नुहुन्छ,’ उनले भनिन्, ‘मैले विद्यालयमा पसल र खाजाघर चलाएकी छु । यसबाट हाम्रो जीवनस्तर सुध्रिएको छ ।’

पूर्वखोला गाउँपालिका–४, देवीनगरस्थित महाकालकी जैसरा बारघरे मगरले पनि वार्षिक ४ लाख आम्दानी गर्छिन् । बाख्रापालन, बंगुरपालन गरेर आम्दानी गरेकी उनको किराना पसलसमेत छ । निर्धनको समूहबाट ३० हजार ऋणबाट सुरु गरेको व्यवसायबाट सन्तुष्ट छन् । ‘मैले लिएको ऋणको सही सदुपयोग गरेकाले नै अहिले सफल भएकी छु,’ उनले भनिन्, ‘यसबाट मैले आम्दानी गर्दै घर व्यवहारसमेत सुधारेकी छु ।’ उनले छोरीलाई स्नातक पढाइन् । छोरा इन्जिनियर पढ्छन् । 

Those who tried to do business and became exemplary

ग्रामीण भेगमा बसोबास गर्ने यी केही उदाहरणीय महिलाका अनुभव हुन् । पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाप्रति जनताको फरक हेराइ पनि छ । तर आर्यभन्ज्याङमा भेला भएका सयभन्दा बढी केन्द्रका प्रमुखले भने आफूहरुमा त्यस्तो कुनै समस्या नभएको बताए । ‘हामीले समूह सञ्चालन सही ढंगले चलाएका छौं,’ बगनासकाली गाउँपालिका–३, नायरनमतलेसकी सुन्दरी रायमाझीले भनिन्, ‘ऋण लिने, बचत गर्ने बानीको विकास भएको छ र उद्यमी, व्यवसायी बन्ने कामले निरन्तरता पाएको छ ।’ 

पूर्वखोला गाउँपालिका–४, देवीनगरकी भगवतीसरा घर्तीमगरले समूहबाट ऋण लिएर गरेको कमाइप्रति खुसी लागेको बताइन् । घरमा बसीबसी एकदेखि एक लाख ५० हजारसम्म कमाइ गर्न सकेको उनको भनाइ छ ।

निर्धनको आर्यभन्ज्याङ शाखाअन्तर्गत चार गाउँपालिका कार्य क्षेत्र हो । शाखा प्रमुख (प्रबन्धक) सुशील गौतमका अनुसार ९० प्रतिशतभन्दा बढी महिलामा ऋण लिएपछि बचतसँगै आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच विकास भएको छ । ‘हामीले केन्द्र (समूह) बनाउने मात्र नभई ऋण लिँदाका फाइदा/बेफाइदा बताउने गर्छौं,’ उनले भने, ‘त्यसैले पनि यस्ता विषयमा महिला सचेत भएर मात्र ऋण लिने र त्यसको सदुपयोग गर्ने गरेको पाइएको छ ।’ 

Those who tried to do business and became exemplary

कर्जा लिने समयमा परिवारसँग छलफल गराउने, अनुत्पादक क्षेत्रमा कर्जाको प्रयोग नगर्न, क्षमता अनुसारको कर्जा लिनका लागि अनुरोध गर्ने गरेको निर्धनकी कर्मचारी अनिता खरालले बताइन् । ‘के कामका लागि कर्जा लिने हो त्यस विषयमा स्पष्ट हुन भन्ने गरिन्छ,’ उनले भनिन्, ‘कर्जा लिएर अरुलाई दिन पनि हामी सचेत गराउँदै आएका छौं ।’

आर्यभन्ज्याङले बगनासकाली, माथाढी, रम्भा, पूर्वखोला गाउँपालिकामा काम गर्छ । यस अन्तर्गत मात्र १ सय ४३ केन्द्र छन् भने २ हजार ४ सय ४० जना सदस्य छन् । यसअन्तर्गत ५ सय ६६ जना पब्लिक खाता छ भने १ हजार ८ सय २८ जना ऋणी छन् । चार पालिकामा मात्र १७ करोड ८६ लाख कर्जा लगानी छ भने ३२ करोड ८७ लाख बचत छ । समूह/केन्द्रका प्रमुख तथा सदस्यलाई सुत्केरी पोषण खर्च, दैवी/प्राकृतिक राहत, छात्रवृत्ति, गम्भीर रोग सहयोगको अनुदान प्रदान गर्दै आएको छ । अभिभावकसहित सदस्य बिमा, वित्तीय साक्षरता, केन्द्र प्रमुख कार्यशाला, सीप विकास तालिम, वित्तीय साक्षरता लाभान्वित सदस्यलाई वित्तीय साक्षरता प्रदान गरेको शाखा प्रमुख गौतमले बताए । 

Those who tried to do business and became exemplary

सदस्यका लागि सुत्केरी पोषण २ हजार, कडा रोग (मिर्गौला, क्यान्सर, ब्रेन ट्युमर, पाठेघर शल्यक्रिया, प्यारालाइसिस, दुवै आँखाको ज्योति गुमेको) को उपचारका लागि ५ हजार दिने गरेको छ । सर्पदंश वा आगलागी जलन भएकालाई ३ हजार, प्रदेशस्तरीय उद्यमी महिला एक व्यवसायीलाई ५० हजार पुरस्कार दिने गरेको छ । एकल महिला, द्वन्द्वपीडित, मुक्त कमैया, दलितलाई ब्याजदरमा १ प्रतिशत छुट दिने गरेको छ । 

जिल्लामा जब्गादी (रामपुर नगरपालिका–९), छहरा र तानसेन नगरपालिका–७, बाँसटारीमा शाखा कार्यालय सञ्चालनमा छन् । निर्धनको मुलुकभर ७७ जिल्लामा शाखा र १० वटा क्षेत्रीय कार्यालय छन् । ७७ जिल्लाको १८५ शाखामार्फत ५५२ स्थानीय तहमा सेवा विस्तार गरेको छ । निर्धनसँग ३ लाख ९९ हजार ८२८ सदस्य जोडिएका छन् भने १ लाख ८१ हजार ७८७ जनाले ऋण लिएर विभिन्न व्यवसायमूलक आम्दानी हुने काम गर्दै आएका छन् । निर्धनको २५ अर्ब ९५ करोड लगानीमा छ भने २० अर्ब ५० करोड बचत रकम रहेको छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully