घोगाा लाग्नै थालेका मकैलाई वन्यजन्तुले नष्ट गर्न थालेपछि वन कार्यालयले २० युवालाई हेरालु दस्ताका रूपमा नियुक्त गरी प्रशिक्षणसमेत दिएर गाउँ गाउँमा खटाएको छ
What you should know
अर्घाखाँची — बारीमा घोगा लाग्दै गरेको मकै बाँदर र बँदेलले सखाप पार्न थालेपछि हेरालु दस्ता परिचालन गरिएको छ ।वन्यजन्तुबाट बालीनालीमा बढी क्षति हुने क्षेत्र छनोट गरेर डिभिजन वन कार्यालयले २० जना हेरालु दस्ता भर्ती गरी तीन महिनाका लागि बारी र बस्तीमा खटाएको हो ।
दस्तामा १८ देखि ४५ वर्ष उमेरका २० जनालाई भर्ती गरिएको छ । ३६ जनाको आवेदन परेकामा छनोट भएका २० जनालाई प्रशिक्षण दिएर सोमबारदेखि गाउँ गाउँमा पठाइएको छ ।
‘वन्यजन्तुबारे कानुनी कुरासहित बाली जोगाउने उपायबारे सिकाएका छौँ,’ डिभिजन वन कार्यालय प्रमुख मोहनप्रसाद श्रेष्ठ भन्छन्, ‘अब दस्ताले मकै बारीमा बाँदर पस्न खोज्दा गाउँलेलाई सूचना दिने, बाँदरको संख्या गणना गर्ने र लखेट्नेलगायतका काम गर्नेछन् ।’ उनीहरूले बाँदरबाट मकै जोगाउने उपायबारे किसानलाई जानकारी पनि दिनेछन् । आफ्नो घरपायक ठाउँका व्यक्तिलाई दस्ताका रूपमा तीन महिनाका लागि नियुक्ति दिइएको कार्यालयले जनाएको छ ।
शीतगंगा नगरपालिकाबाहेक अर्घखाँचीका पाँच वटा स्थानीय तहलाई वन्यजन्तु प्रभावित क्षेत्र घोषणा गरिएको छ । मालारानी गाउँपालिका–४ लुटीपोखरा, वडा ३ को खनार क्षेत्र, भूमिकास्थान नगरपालिका–९ ढिकुरा, वडा १० को धमचौर, पाणिनि गाउँपालिका–८ को पाली, वडा ५ को मैदान, वडा ६ को धातीवाङ, वडा १ को पणेना, वडा ७ को अडगुरी प्रभावित क्षेत्र हुन् । त्यस्तै, सन्धिखर्क नगरपालिका–४ को वाङला, वडा २ को कुर, वडा ६, वडा १ पटुवाथुम र वडा ८ किमडाँडा पनि वन्यजन्तु प्रभावित क्षेत्रमा समेटिएको छ । छत्रदेव गाउँपालिका–२ र ३ बल्कोट क्षेत्र, वडा १ चिदिका केरुंगा, अर्घातोष क्षेत्र बाँदर प्रभावित क्षेत्र हुन् । यिनै क्षेत्रमा हेरालु दस्ताले काम गर्नेछन् ।
वन्यजन्तुबाट क्षति न्यूनीकरण, किसानको खेती सुरक्षण तथा वन्यजन्तुको सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले हेरालु दस्तालाई अभिमुखीकरण गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए । ‘वन कार्यालय र वन व्यवस्थापनको काममा सक्रिय समूह, आम्दानी राम्रो रहेका सामुदायिक वन उपभोक्ता समूहहरूको सहकार्यमा हेरालु राख्ने निर्णय भएको हो,’ उनले भने । २० जना हेरालुले महिनामा १० हजारका दरले पारिश्रमिक र मोबाइल रिचार्ज खर्च पाउनेछन् ।
यतिबेला बारीमा मकैका घोगा लाग्न थालेको छ । बाँदरले घोगा नै भाँचिदिएर नोक्सान गर्न थालेको छ । दस्तालाई बुट, ज्याकेट, रेनकोटलगायत सामग्री पनि दिइएको छ । दस्ताको पहिचान देखिने गरी पोसाक पनि बनाइएको छ ।
