What you should know
भैरहवा — माछापुच्छ्रे बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालयले रूपन्देहीको तिलोत्तमास्थित मानवसेवा आश्रमलाई खाद्यान्न र दराज सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले आइतबार बिहान आश्रममा पुगेर उक्त सहयोग हस्तान्तरण गरेको हो ।
बैंकको लुम्बिनी प्रदेश कार्यालय प्रमुख सरोज पोखरेलले आश्रमलाई ४ थान स्टिलका दराज र खाद्यान्न सहयोग गरिएको जानकारी दिए ।
उनका अनुसार दाल, चामल, तेल, नुन लगायतका खाद्यान्न सहयोग गरिएको हो । बैंकले प्रत्येक वर्ष आफ्नो सामाजिक उत्तरदायित्वलाई ध्यान दिँदै विभिन्न ठाउँमा सहयोग गर्दै आएको उनले जनाए । मानवीय सेवामा समर्पित मानवसेवा आश्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए । दराज र खाद्यान्न गरी करिब १ लाखका सामान आश्रमलाई सहयोग गरिएको हो ।
‘हामीले आगामी दिनमा मानवसेवा आश्रमसँग सहकार्य गरी यस्ता सहयोगलाई निरन्तरता दिनेछौं,’ उनले भने, ‘आश्रमले नजिकका बैंक शाखा कार्यालयमा पुगेर सहयोगका लागि सहकार्य गर्न सक्छ ।’ बैंकका मणिग्राम शाखा प्रबन्धक भविश्वर डुम्रेले बैंकले सधैं सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म भएको जनाउँदै मानवसेवा आश्रमले थालेको अभियानलाई सधैं सहयोग गर्दै जाने उनले बताए । आवश्यकताका आधारमा बैंकले हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता उनले जनाए ।
आश्रमकी प्रदेश संयोजक सरु अधिकारीले मानवीय सहयोगको महाअभियानमा जोडिएर सहयोग गरेकामा बैंकलाई धन्यवाद दिइन् । मुलुकका सडक मानवमुक्त बनाउने अभियानमा आफूहरू लागिपरेको जनाउँदै सबैको साथ, सहयोग र सहकार्य जरुरी रहेको उनले बताइन् । तिलोत्तमास्थित आश्रममा १ सय ४० जना आश्रित छन् । केही बालबालिकालाई आश्रमले पठनपाठन गराउँदै आएको छ ।
