लुम्बिनीका सहकारीलाई दर्ता कार्यालयको १९ बुँदे निर्देशन

प्रदेशमा दर्ता भएका ५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् वार्षिक प्रतिवेदन

श्रावण ४, २०८२

घनश्याम गौतम

19 point instructions of the registered office to the cooperatives of Lumbini

What you should know

बुटवल — सहकारीमा बचत भएको सर्वसाधरणको रकम अपचलन बढ्दै गएपछि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयले १९ बुँदे निर्देशन जारी गरेको छ । लुम्बिनीमा प्रदेश कार्यक्षेत्र भएका दुई दर्जनभन्दा बढी सहकारीले सर्वसाधरणको एक अर्ब बढी रकम अपचलन गरेका छन् ।

रकम अपचलन हुने सहकारीको संख्या र बचतकर्ताको रकम डुब्ने अवस्था बढ्दै गएपछि दर्ता अधिकारीको कार्यालयले सहकारीको वैयक्तिक विवरण, बैठक, लेखापरीक्षण र आर्थिक विवरण कोपोमिस प्रणालीमा अद्यावधिक गर्नेसहितका निर्देशन जारी गरेको हो । लुम्बिनी प्रदेशको देउखुरीमा रहेको सहकारी दर्ता अधिकारीको कार्यालयमा गत साउनसम्ममा प्रदेश कार्यक्षेत्र भएका ८ सय ५० सहकारी दर्ता भएर सञ्चालनमा छन् । तीमध्ये ४ सय सहकारीले पनि वार्षिक प्रतिवेदन पेश गरेका छैनन् । दर्ता अधिकारीको कार्यालयमा अहिलेसम्म प्रदेशका २५ सहकारीले रकम अपचलन गरेको भन्दै उजुरी परेको छ । 

प्रभावकारी अनुगमन अभाव र सहकारी ऐन, नियम पालना नहुँदा बेथिति बढ्दै गएको, सहकारीप्रति सर्वसाधारणको विश्वास गुम्दै जाने र सर्वसाधरणको अर्बौं रकम अपचलन हुन थालेपछि सहकारी सञ्चालन तथा व्यवस्थापनमा सुशासन कायम गर्न निर्देशन जारी गरिएको सहकारी दर्ता अधिकारी सुरेशचन्द्र आचार्यले बताए । प्रदेश सहकारी ऐन, २०७६ को दफा ७७ को उपदफा (१) तथा प्रदेश सहकारी नियमावली, २०७६ को नियम ३८ (ई) बमोजिम हरेक सहकारीले सबै सेयर सदस्यको वैयक्तिक विवरण, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा अन्य उपसमितिका सदस्यहरुको विवरण, सेयर सदस्यहरूले बचत संकलन तथा ऋण लगानीको विवरण प्रविष्टि तथा अद्यावधिक गर्न निर्देशन दिइएको छ ।

१९ बुँदे निर्देशनमा साधारण सभा, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा अन्य उपसमितिको बैठक तथा निर्णय, मासिक, चौमासिक तथा वार्षिक प्रतिवेदन कोपोमिस प्रणालीबाट पठाउन भनिएको छ । आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र संघ/संस्थाको समष्टिगत विवरण तयार गरी कोपोमिस प्रणालीमा प्रविष्ट गर्न, वार्षिक साधारण सभावाट निर्णय भए बमोजिम छनोट भएको लेखापरीक्षकबाट अनिवार्य रुपमा असोज मसान्त भित्र लेखापरीक्षण सम्पन्न गर्न, बचत तथा ऋण कारोबार गर्ने सबै सहकारीले पर्ल्स तथा एमसीआईका सूचकहरुको विश्लेषण गरी लेखापरीक्षण प्रतिवेदनमा समावेश गर्न पनि निर्देशन दिइएको छ ।

त्यस्तै, सहकारी ऐन नियममा उल्लेख भए बमोजिम प्रक्रिया अवलम्बन गरी कम्तिमा पनि ५१ प्रतिशत सेयर सदस्य उपस्थित गराएर मात्र साधारण सभा गर्न भनिएको छ । गणपूरक संख्या अपुग भएमा सभा स्थगित गरी ७ दिनभित्र कम्तीमा ३३ प्रतिशत सदस्यको उपस्थितिमा अर्को साधारण सभा गर्नुपर्ने निर्देशनमा उल्लेख छ । सहकारी ऐन नियममा तोकेको समयभित्र सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्न, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र व्यवस्थापकको फोटोसहितको तीनपुस्ते विवरण प्रमाणित गरी कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ ।

यस्तै, वार्षिक बजेट तथा कार्यक्रम साधारणसभावाट स्वीकृत गरेर मात्र कार्यान्वयन गर्न, संस्थाको आय–व्यय, नाफा नोक्सान, बचत संकलन तथा ऋण लगानीलाई विश्वस्नीय र पारदर्शी बनाउन अनलाइनमा आधारित सफ्टवेयर प्रविधिको प्रयोग गरी सफ्टवेयरकोसमेत अडिट गर्न निर्देशन दिइएको छ । संस्थाको ऋण लगानी तथा असुली प्रक्रियालाई व्यवस्थित बनाउन ऋणको वर्गीकरण गरी असल ऋणमा १ प्रतिशत, कमसल ऋणमा २५ प्रतिशत, शंकास्पद ऋणमा ५० प्रतिशत र खराब ऋणको लागि १०० प्रतिशत रकम अनिवार्य रुपमा ऋण जोखिम कोषमा व्यवस्था गर्न निर्देशन दिइएको छ । 

सहकारी संस्थामा कार्यरत कर्मचारीको व्यक्तिगत विवरण दुरुस्त राख्न, कर्मचारीलाई नियुक्तिपत्र र स्पष्ट कार्यविवरण प्रदान गरेर मात्र काममा लगाउन, योगदान र कारोबारको आधारमा संरक्षित पुँजी फिर्ता कोषको रकमलाई सेयर लाभांशमा नजोडी कानुन बमोजिम फिर्ता गर्न पनि सहकारी संस्थाहरुलाई निर्देशन दिइएको छ । संरक्षित पुँजी फिर्ता कोष, सेयर लाभांश कोष र कर्मचारी बोनस कोषमा रहेको रकम प्रचलित ऐन नियम बमोजिम सम्बन्धित आर्थिक वर्षमा खर्च हुन नसकेको खण्डमा सो रकम जगेडा कोषमा स्थानान्तरण गर्न निर्देशन दिइएको छ ।

नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइको गो एएमएल सफ्टवेयरमा आवद्ध भई सीमा कारोबार प्रतिवेदन (टीटीआर), शंकास्पद कारोबार प्रतिवेदन (एसटीआर) र शंकास्पद गतिविधि प्रतिवेदन (एसएआर) तोकिएको समयभित्र पेश गरी सोको जानकारी सहकारी दर्ता अधिकारीको कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ ।

आ.व. २०७६/७७ भन्दा अघि दर्ता भई सञ्चालनमा रहेका सहकारी संघसंस्थाहरूले प्रदेश सहकारी ऐन,२०७६ का प्रावधानहरूसँग नबाझिने गरी विनियम पुनःलेखन गर्न को प्रक्रिया अगाडि बढाउन, सबै सहकारी संघसस्थाले आफ्ना सेयर सदस्यहरूलाई प्रदान गर्ने सेवाको बडापत्र तयार गरी सबै सेयर सदस्यले देख्ने गरी राख्न र सोही अनुसार सेवा प्रदान गर्न पनि निर्देशन दिइएको छ । नेपाल सरकार, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको २०८२ जेठ ९ गते  जारी नियामकीय मापदण्ड, २०८२ असार २३ गते जारी निर्देशन तथा नेपाल सरकार कृषि, सहकारी तथा गरिबी निवारण सहकारी विभागबाट २०८२ असार ३२ गते जारी भएको एकिकृत निर्देशन पूर्णरुपमा पालना गर्न निर्देशन दिइएको छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully