पाल्पाका स्थानीय तहको पुँजीगत खर्च निराशाजनक

श्रावण २, २०८२

माधव अर्याल

The capital expenditure of the local level of Palpa is disappointing

What you should know

पाल्पा — तानसेन नगरपालिका–१० तेल्घाको गुफाचौर जाने सडक विश्व बैंकको सहयोगमा कालोपत्रको काम भइरहेको छ । तर सडक निर्माणको ठेक्का पाएको वेदान्सी इन्फ्रा इन्सट्रक्चर प्रालिले काममा गरेको ढिलासुस्तीले विनियोजित ३५ करोड मध्ये ६ करोड ९८ लाख बजेट खर्च हुन सकेन ।

१३ महिनामा काम सक्ने गरी सम्झौता भएको सडक निर्माणको म्याद जेठमा सकिएको छ । उसको भौतिक प्रगति ७० प्रतिशत रहेको छ । नगरपालिकाले ६७ दिन म्याद थप गरेको छ । 

सडक बोर्डबाट प्राप्त हुने १ करोड, ढल व्यवस्थापनका लागि विनियोजित १ करोड, स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको झन्डै ७० लाख लगायतका कामै भएनन् । प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयका अनुसार ठेक्का लगाउँदा लागत इष्टिमेटबाट घटेको रकम पनि खर्च हुन सकेन । जसले गर्दा पुँजीगत खर्च कम भएको उनले बताए ।

तानसेनस्थित नयाँ बसपार्क निर्माणको पनि पुँजीगत खर्च निराशाजनक छ । लेखा अधिकृत कृष्णप्रसाद ज्ञवालीका अनुसार तानसेन नगरपालिकाको पुँजीगत खर्च ६६.५२ प्रतिशत रहेको छ । विनियोजित ९० करोड ७९ लाख मध्ये ६० करोड ४० लाख खर्च भएको छ । चालुतर्फ भने ६२ करोड ८० लाख मध्ये ५६ लाख ११ हजार खर्च भएको छ । 

निस्दी गाउँपालिकामा पनि पुँजीगत खर्च ६७.२७ प्रतिशत रहेको छ । लेखा अधिकृत सरोज काफ्लेका अनुसार १८ करोड ८० लाख मध्ये १२ करोड ६५ लाख खर्च भएको छ । निस्दीमा निर्माणाधीन प्रशासकीय भवन, केम खाम्चा मार्ग सडक लगायतका काम समयमा व्यवसायीले नगर्दा ठूलो रकम बचेको छ ।

रैनादेवी छहरा गाउँपालिकामा पनि ७३.८ प्रतिशत पुँजीगत खर्च भएको छ । ठूला आयोजनामा निर्माण व्यवसायीले काम नगर्दा पुँजीगत खर्च प्रतिशत कम देखिएको लेखा अधिकृत लीलामणी बस्यालले बताए । सुन्दरेढुंगा–सालझण्डी सडकको काममा झण्डै ३ करोड भुक्तानी हुन नसक्दा पनि पुँजीगत खर्चमा कम देखिएको उनले बताए । 

पूर्वखोलाको ७७.८४ प्रतिशत, रामपुरको ७९.०१ प्रतिशत पुँजीगत खर्च भएको छ । तिनाउ, रम्भा, माथागढी, रिब्दीकोट, बगनासकाली गाउँपालिकाको पुँजीगत खर्च ८० प्रतिशत हाराहारीमा छ । जिल्लाका १० स्थानीय तहको पुँजीगत खर्च समग्रमा ७३.०८ प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शशीन्द्र खातीले जानकारी दिए । दुई नगरपालिका र आठ गाउँपालिकाको ६ अर्ब ८९ करोड १८ लाख मध्ये पुँजीगत बजेट आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ५० करोड ३८ लाख थियो ।

माधव

Link copied successfully