वन्यजन्तुबाट बस्ती जोगाउन छेकबार

श्रावण २, २०८२

रामप्रसाद चौहान 

Fence to protect the settlement from wild animals

What you should know

बर्दिया — ठाकुरबाबा नगरपालिका तीनतिरबाट निकुञ्ज तथा मध्यवर्ती क्षेत्रले घेरिएको छ । ठाकुरबाबा नगरपालिकाको ९ वडामध्ये ८ वडा बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रले घेरेको छ । जसले गर्दा यस क्षेत्रमा वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दो छ । 

हात्तीलगायतका वन्यजन्तुले स्थानीयले लगाएको बालीनालीमा क्षति पुर्‍याउनुका साथै समय समयमा मानवीय क्षति पनि गर्ने गरेको छ । यस क्षेत्रमा स्थानीयहरुको मागअनुसार निकुञ्ज तथा संघसंस्थाले वन्यजन्तुलाई बस्ती पस्न नदिन विभिन्न प्रयास गरे पनि रोकिएको थिएन । पालिकाले छेकबार पर्खाल बनाएको क्षेत्रमा वन्यजन्तुबाट बालीनालीमा क्षति कम भइरहेको स्थानीयले बताएका छन् ।

ठाकुरबाबा नगरपालिकाले प्रभावित क्षेत्रमा हात्ती छेकबार पर्खाल निर्माण गरिरहेको छ । वन्यजन्तु प्रभावित क्षेत्रमा हात्ती छेकबार पर्खाल नै प्रभावकारी देखिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताए । ‘यस पर्खालले गर्दा वन्यजन्तु बस्तीतर्फ आउन सकेका छैनन्,’ उनले भने,‘जस कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व हुने सम्भावना पनि कम देखिएको छ ।’

Fence to protect the settlement from wild animalsठाकुरबाबा नगरपालिका-४ सैनवारस्थित हात्ती छेकबार पर्खाल शुक्रबार अनुगमन गर्दै उपप्रमुख सहितको टोली । तस्बिर : रामप्रसाद चौहान/कान्तिपुर

पालिकाले निर्माण गरेको पर्खालले गर्दा यस क्षेत्रमा वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याउन नसकेको ठाकुरबाबा नगरपालिका–४ सैनवारका बुधराम थारुले बताए । ‘वन्यजन्तुले बालीनालीमा नोक्सानी पुर्‍याउँदा स्थानायी आजित भइसकेका थिए,’ उनले भने, ‘छेकबारपछि बालीनालीमा क्षति नहुने आशा पलाएको छ ।’

ठाकुरबाबा नगरपालिकालाई निकुञ्जबाट घेरिँदा वन्यजन्तुबाट बस्ती जोगाउन धेरै चुनौती रहेको उपप्रमुख बिनाकुमारी भट्टराईले बताइन् । ‘करिब ३२ किलोमिटर जंगलले पालिका घेरिएको छ,’ उपप्रमुख भट्टराईले भनिन्, ‘आर्थिक वर्ष ०८१/०८२ मा वडा नं.१, ४ र ७ मा गरी २ हजार ३ सय ३१ मिटर हात्ती छेकबार पर्खाल निर्माण गरेका छौं, विभिन्न ठाउँमा गरी हालसम्म ११ किलोमिटर छेकबार पर्खाल निर्माण भइसकेको छ ।’

वन्यजन्तुबाट बढी प्रभावित क्षेत्र छनौट गरी क्रमशःछेकबार गरिने छ । आर्थिक वर्ष ०८२/०८३ मा ५ किलोमिटर छेकबार पर्खाल निर्माणका लागि स्रोत सुनिश्चित भइसकेको उपप्रमुख भट्टराईले जनाइन् ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully