चन्द समूहको नेकपा धान रोपाइँमा व्यस्त

श्रावण १, २०८२

मनोज पौडेल

CPN of Chand group is busy with paddy planting

कपिलवस्तु — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द अचेल बिहानै उज्यालो हुनासाथ खेतमा हेलिसक्छन् । ५८ वर्षे चन्द खेतमा पस्नासाथ निकै फुर्तिला पनि देखिन्छन् ।

बीउ काढ्ने र धान रोप्ने राम्रो कला र सीप छ उनीसँग । बिहानदेखि साँझसम्म असिनपसिन हुँदै खेतका आलीआली पुगिरहेका उनी खेतको हिलो सम्याउन होस् कि पानी लगाउन– कोदालो गजबले चलाउँछन् । 

बायाँ हातले धान रोप्ने उनी अहिले खेतमा सुन फलाउन लागेको बताउँछन् । ‘जुन माटोमा धान रोप्दैछु, त्यही माटोमा सपना मुस्कुराएको पनि देखिरहेको छु,’ उनले भने । 

माओवादी द्वन्द्वका बेला बम, बारुद्ध बन्दुक खेलाउने चन्दका हातहरू अहिले माटो खेलाइरहेका छन् । 

माओवादी जनयुद्धका बेला ६५ वर्षे सन्तोष बुढामगरको नाम नसुन्ने कमै थिए । बुढ्यौली उमेरमा आराम गरेर बस्नुपर्ने बेला बुढामगर पनि अहिले खेतमा पसिना चुहाउँदै रोपाइँ गरिरहेका छन् । चन्द समूहको नेकपाका स्थायी कमिटी सदस्य उनी अहिले कपिलवस्तुको शिवराज नगरपालिका–९, भोक्कर गाउँमा धान रोपाइँमा व्यस्त छन् । CPN of Chand group is busy with paddy plantingखेत हिल्याउँदै महासचिव चन्द । 

महासचिव र स्थायी कमिटी सदस्य मात्र होइन, अहिले नेत्रविक्रम चन्द नेतृत्वको सिंगो नेकपाका नेता–कार्यकर्ता एक महिने पार्टी बिदामा कृषि–कर्ममा तल्लिन छन् ।

‘हामीहरू अहिले पार्टीमा आइपर्ने आकस्मिक कामबाहेक नियमित काममा छैनौं,’ स्थायी कमिटी सदस्य बुढामगरले भने, ‘अहिले हामीहरू उत्पादन बिदामा कृषि-कर्ममा लागेका छौं । पार्टीलाई चलायमान बनाई टिकाइराख्न कृषि उत्पादनलाई आय आर्जनसँगै जोडेर अघि बढ्ने काम गरिरहेका छौं ।’ यसरी हुने आय आर्जनले पार्टीदेखि नेता कार्यकर्ता आत्मर्निभर भएर राजनीतिक उद्देश्य पूरा हुन सहयोग पुग्ने पनि उनले बताए । 

चन्द समूहको नेकपाले कृषि उत्पादनमा आत्मनिर्भर हुने भन्दै नवौं महाधिवेशनबाट ‘नयाँ आर्थिक मार्ग’ को प्रस्ताव पारित गरेको थियो । अहिले मुलुकभरका नेता–कार्यकर्ता त्यही प्रस्तावबमोजिम धान रोपाइँमा व्यस्त भएका हुन् । पार्टीले असार १० देखि साउन १० सम्म एक महिने पार्टी कामबाट बिदा दिएको छ ।

महासचिवको नेतृत्वमा अहिले पार्टीका जिल्ला नेतादेखि केन्द्रीय सदस्यसम्म १०/१२ जनाले जिल्लामा धान रोपाइँ गरिरहेका छन् । उनीहरू बिहान ७ बजेदेखि बीउ काढ्छन् । ९ बजे रोपाइँ गर्न खेतमा पुगिसक्छन् । साढे १२ बजेसम्म खेत रोपेर खाना खान फर्किन्छन् । सबैले एउटै भान्सामा पाकेको खाना खान्छन् । ३ बजेसम्म आराम गरेर फेरि रोपाइँ गर्न खेतमै पुग्छन् । साझ ७ बजेपछि घर फर्किन्छन् । CPN of Chand group is busy with paddy plantingकपिलवस्तुको शिवगढीमा धान रोपाइँ गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दका साथ स्थायी कमिटी सदस्य सन्तोष बुढामगर ।

असार ८ देखि बीउ काढ्न सुरु गरेर ११ गतेदेखि खेत रोप्न थालेका हुन् । महासचिवको निवास भोक्कर गाउँको ३ बिघा र पार्टी हेडक्वाटर नजिक बिजगौरीमा रहेको ३ बिघा खेत रोपेर सकिएको पार्टी केन्द्रीय सदस्य विनोद सीले बताए ।

‘६ बिघामध्ये ५ बिघा लिजमा लिएर खेती गरिरहेका हौं,’ उनले भने, ‘एक बिघा महासचिवको निजी हो । त्यो जमिन पनि महासचिवले पार्टीका नाममा गरिदिनु भएको छ ।’  केन्द्रीय कार्यालयका कर्मचारी, यहाँ हुने पार्टी कार्यक्रम, बैठक र भेलाका लागि यहाँ उत्पादन भएको खेतीले वर्षभरि पुग्ने उनले बताए ।

यसअघि महासचिव चन्दले लतिलपुरको हरिसिद्धिमा ५ रोपनी जमिनमा धान रोपेर कपिलवस्तु आएका थिए । कपिलवस्तुमा २०/२२ दिन धान रोपेर महासचिवको टोली अर्घाखाँची पुगेको छ । 

शितगंगा नगरपालिकामा गरिएको अकबरे खुर्सानी तीन दिन गोडमेल गरेर बुधबारबाट ३ बिघा धान रोपाइँ गरिरहेका छन् । त्यसपछि महासचिवको यस वर्षको धान रोपाइँ सकिनेछ । 

चन्द समूहको नेकपाले अहिले झापादेखि कन्चनपुरसम्म १५ जिल्लामा धान रोपाइँ गरिरहेको छ । पार्टीको आ–आफ्नो भूगोलमा जिल्ला, प्रदेश र केन्द्रीय कमिटीले धान रोपाइँ गरिरहेका छन् । महासचिव चन्द आफैं संलग्न भएर गरेको उत्पादनको स्वामित्व पूर्णतः पार्टीको हुनेछ । 

गत वर्ष नेकपाले देशका विभिन्न जिल्लामा १ सय २० बिघामा धान खेती गरेको थियो । त्यसमा करिब १ हजार ५ सय क्विन्टल धान उत्पादन भएको पार्टी स्रोतले जनाएको छ । पोखराको जेठो बूढो, कपिलवस्तुको साभा मन्सुली र जुम्लाको मार्सी लगायत धान खेती गरिएको थियो । पछि त्यसलाई ब्रान्डिङ गरेर बजारीकरण गरिएको हो । यस वर्ष भने क्षेत्र बढाएर करिब दुई सय बिघामा धान खेती गरिएको पार्टीले जनाएको छ । 

नवौं महाधिवेशनपछि आफ्नो पार्टीले एक संगठन एक उत्पादनको नीति लिएको महासचिव चन्दले बताए । केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यलाई एक बिघा उत्पादनको नेतृत्व गर्नैपर्ने गरी कृषिमा सबलीकरण र आत्मनिर्भरताको बाटो देखाएको उनले सुनाए ।

‘पार्टीले ज्याला नदिई कसैलाई श्रममा लगाउन नहुने नीति लिएको छ,’ महासचिव चन्दले भने, ‘पार्टीले खडा गरेको उत्पादन कम्युनमा पार्टी सदस्य जो कोही काम गर्न सक्छन् । त्यसरी श्रम गर्नेलाई दैनिक पाँच सयदेखि सात सय रुपैयाँसम्म दिइरहेका छौं ।’ CPN of Chand group is busy with paddy plantingरोपाइँ टोलीका साथ महासचिव चन्द र स्थायी कमिटी सदस्य बुढामगर । तस्बिरहरू : मनोज पौडेल/कान्तिपुर

स्वदेशी उत्पादन र स्वदेशी श्रम संस्कृति नै आत्मनिर्भर अर्थतन्त्रको आधारशीला भएको बुझाइ हुँदा यसैलाई ध्यानमा राखेर काम गरिरहेको उनले बताए । 

पार्टीको २०७९ कात्तिकमा सपन्न नवौं महाधिवेशनपछि दुई तरिकाले खेती गर्ने नीति अवलम्बन गरिएको छ । एउटा पार्टीले नै सबै खर्च दिएर पार्टी सञ्चालनका लागि संस्थागत खेती गरिन्छ भने अर्को पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको लगानीमा एकीकृत स्वमित्व, सामूहिक उत्पादन र व्यक्तिगत उत्तरदायित्व नारा दिएर खेती गरिएको छ । संस्थागत खेतीको सबै आम्दानी पार्टीले लिन्छ भने पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको आधा लगानी रहेका खेतीमा ६० प्रतिशत व्यक्ति र ४० प्रतिशत पार्टीले लिन्छ । 

‘नेपालका पार्टीको मुख्य आयस्रोत नै चन्दा सहयोग भएको छ । तर, चन्दाले मात्रै पार्टी चलाउनु उपयुक्त लागेन,’ महासचिव चन्दले भने, ‘अहिलेसम्म हाम्रै पार्टीमा पनि त्यही अभ्यास थियो । तर, चन्दा लिएर पार्टी चलाउनु राम्रो होइन भन्ने लाग्यो र यसबारेमा लामो बहस र छलफल गरेर कृषि क्रान्तिमा लागेर व्यक्ति, पार्टीसहित मुलुकलाई आत्मनिर्भर बनाउन लागिपरेका हौं ।’

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully