सिद्धबाबा सुरुङमार्ग : मुख्य टनेल धमाधम, बाहिरी भागको काम सुस्त

असार ३१, २०८२

माधव अर्याल

Siddhababa Tunnel: The main tunnel is booming, the work on the outer part is slow

पाल्पा — सिद्धबाबा सडक खण्डमा असार २४ गते पहिरोमा परी मोटरसाइकल चालक रामपुर नगरपालिका–६, तिलपुरका ३६ वर्षीय जनक भण्डारीको मृत्यु भयो। उनकै श्रीमती कल्पना चापागाईँ भण्डारी घाइते भइन्।

पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान हेडवर्क्स नजिकै माथिबाट खसेको पहिरोमा परी ज्यान गुमाउने भण्डारी एक्ला होइनन्। हिउँद होस् वा वर्षा, जहिलेसुकै यहाँ ओहोरदोहोर गर्ने धेरै यात्रुले यसैगरी अकालमै ज्यान गुमाउन बाध्य छन्। पछिल्लो १० वर्षको तथ्याङ्क हेर्ने हो भने ६८ जनाले सिद्धबाबा क्षेत्रमा सवारी दुर्घटना, पहिरोले पुरेर, बगाएर, ढुङ्गाले लागेर मृत्यु भएका छन्।

ट्राफिक प्रहरीको तथ्याङ्कमा सोही अवधिमा ५७ जना यात्रु सामान्य र गम्भीर घाइते भएका छन्। पहिरोले साना तथा ठूला सवारीसाधन पुर्ने, ढुङ्गा उछिट्टिएर घाइते तथा ज्यानै जाने जोखिम हिउँद तथा वर्षायाम जहिलेसुकै हुने गर्छ। अधिकांश मृत्यु तथा घाइते साना सवारीसाधनमा हुने गरेका छन्। पहिरोले बगाउने, पुर्ने र सडकबाट तिनाउ खोलासम्म पुर्‍याउने समस्या वर्षौँदेखिकै हो। यस वर्ष पानी कम परेको छ, तर जोखिम भने जहिलेसुकै हुने गर्छ।

‘अत्यधिक जोखिम क्षेत्र मानिने ९ सय मिटर क्षेत्रमा ११२६ मिटरको सुरुङ बन्दैछ,’ तिनाउ गाउँपालिका–३ का केशवबहादुर सारु मगरले भने, ‘बाहिरको जोखिम भने यो वर्ष पनि उस्तै छ। सधैं बुटवल बजार हिँड्नपर्छ। डराएरै ओहोरदोहोर गरिरहेको छु।’ सिद्धबाबा क्षेत्रमा माथिल्लो पहाडबाट एक्कासि पहिरो, ढुङ्गा खस्ने समस्या भएको उनले बताए। उनले धेरै पटक ढुङ्गा, पहिरो खसेको र ठूलो भेल बगेको देखेको सुनाए। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको दोभानदेखि चार किलोमिटर सिद्धबाबा क्षेत्र जहिलेसुकै ‘मृत्युमार्ग’ को नामले चित्रित हुँदै आएको छ।

अहिलेको जोखिमपूर्ण अवस्थालाई कम गर्न सुरुङमार्ग निर्माण भइरहेको छ। तर सारु मगर भने जोखिम कम हुन्छ भन्नेमा अझै विश्वस्त हुन सकेका छैनन्। सुरुङ निर्माणपछि मृत्युमार्ग फेरिएला भन्ने आश गरिरहेका बेला सुरुङकै नजिकै भएको दर्दनाक दुर्घटनाले उनलाई झस्काएको छ। सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले अहिलेको अवस्थालाई सुधार्ने उपाय सुरुङमार्गको प्याकेजमै समावेश गरिएको बताए।

Siddhababa Tunnel: The main tunnel is booming, the work on the outer part is slow

‘यहाँको जोखिमयुक्त क्षेत्रमा स्लोप स्टेबलाइजेसन र रक ब्यारियर विधि प्रयोग गरेर सडक सुरक्षित बनाउने योजना छ,’ उनले भने, ‘सम्भावित दुर्घटनाको क्षेत्रमा ढुंगाहरू हटाइनेछ भने पहाडको माथिल्लो भागमा बलियो तारजालीसमेत बिछ्याउने कार्य हुनेछ।’ 

जसबाट पहिरो सम्भावित क्षेत्रलाई स्लोप प्रोटेक्सनको काम हुनेछ। सुरुङ क्षेत्रको दक्षिणतर्फ २३०० मध्ये १४९५ मिटर स्लोप प्रोटेक्सनको काम भइसकेको छ। उत्तरतर्फ ११०० मध्ये ४९५ काम सकिएको छ। एमआरवन माउन्टेन साइड ९६२० मध्ये ४८१ मात्रै भएको छ। एमआरटु माउन्टेन साइड ७४४० मध्ये १४१४ स्क्वायर मिटर काम भएको आयोजना प्रमुख अधिकारीले बताए।

‘अहिले हामीले मुख्य टनेलमै ध्यान दिएका छौँ,’ उनले भने, ‘त्यसैले बाहिरको काम नदेखिएको हो।’ तर यो वर्षा याममा यस भेगका यात्रुले भने बाहिर जोखिम पनि कम गरिदिए हुन्थ्यो भन्ने नै छ। स्लोप प्रोटेक्सनको काम भएकै क्षेत्रमा ढुङ्गा खस्ने, पहिरो जाने र दुर्घटना जोखिम देखिएको छ। आयोजनाको प्याकेजअन्तर्गत चिडिया खोला–सिद्धबाबा मन्दिर र सुरुङको उत्तरी मोहडादेखि दोभानसम्मको सडकमा समेत आधुनिक प्रविधिबाट जोखिम न्यूनीकरणको काम हुनेछ। बलियो तार जालीले ५ हजार किलोसम्मका ढुङ्गालाई थाम्न सक्षम हुने अपेक्षा छ। ठूला ढुङ्गाको गति कम गरेर झर्ने व्यवस्था मिलाइने छ। आयोजनाका अनुसार वर्षा सकिए लगत्तै चिडिया खोला–सिद्धबाबा मन्दिर र दोभान खण्डमा रक ब्यारियर, स्लोप प्रोटेक्सनको काम हुनेछ।

निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ। उसले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ मूल्य अभिवृद्धि करसहित लागतमा बनाउने ठेक्का सम्झौता गरेको छ। यो आयोजना २०७८ फागुनमा ५ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। ठेक्का सर्तअनुसार पहिलो फेजमा निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात् २०८३ चैत ८ गते निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ।

विश्वका धेरै मुलुकमा सफल मानिएको जोखिम न्यूनीकरण विधि सिद्धबाबा खण्डमा सुरुङबाहेकको सडकमा अपनाइने उनले बताए। स्लोप स्टेबलाइजेसन र रक ब्यारियर विधि सफल मानिन्छ। चिडिया खोलादेखि सिद्धबाबा मन्दिरसम्मको सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गरिनेछ। त्यहाँसम्मको सडकमा ३० मिटर माथि सम्मको भागमा स्लोप स्टेबलाइजेसन हुनेछ। ढुङ्गा झर्न नदिनका लागि रक ब्यारियर गर्ने कामसमेत आयोजनाले यही ठेक्का अन्तर्गत हुनेछ।

सुरुङ सकिएको उत्तरी दोभानतर्फ केही भागमा आयोजनाले माथिल्लो भागमा स्लोप स्टेबलाइजेसन र रक ब्यारियरको काम सुरु गरेको छ। ११२६ मिटरको सुरुङले मात्रै यो खण्डको जोखिम कम गर्दैन। त्यसैले तल्लो र माथिल्लो भागका साथै सुरुङको बाहिरको पुराने सडकमा पनि जोखिम न्यूनीकरण विधि अपनाइने छ।

Siddhababa Tunnel: The main tunnel is booming, the work on the outer part is slow

असार २७ गतेसम्म सुरुङमार्गको भौतिक प्रगति ५७.५१ प्रतिशत सकिएको छ। वित्तीय प्रगति ५१.०१ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल भुईँ भागको ढलान (इन्भर्ट) को काम सकिएको छ। इन्भर्टको काम भने १०८९ मिटर सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले बताए।

मुख्य टनेलकै भित्री सुरुङको भित्री पर्खालमा गरिने संरचनात्मक लेपन (लाइनिङ) को काम ९१८.८ मिटर सकिएको कार्यालयले जनाएको छ। लाइनिङको काम उत्तरतर्फ ४४४.६ मिटर र ४७४.२ मिटर सकिएको कार्यालयकी इन्जिनियर सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिएकी छन्।

मुख्य टनेलको कुल १०८९ मिटरमध्ये इन्भर्टको काम सकिएको छ। अब लाइनिङको काम १७०.२ मिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ। बाइपास १ मा ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको छ भने बाइपास ३ मा ‘इन्भर्ट’ को काम सुरु भएको कार्यालयले जनाएको छ।

‘आयोजनाले मुख्य टनेलको भित्री कामलाई तीव्रता दिएको छ,’ आयोजना प्रमुख अधिकारीले भने, ‘बाहिर भीर पाखा र तल्लो भागमा खोला भएकाले काम गर्न समस्या हुने भएकाले पहिले मुख्य टनेलबाट सवारीसाधन गुडाउने अवस्था पुर्‍याउने योजना आयोजनाको छ।’

बाइपास १ अन्तर्गत १५१, बाइपास २ – १६१ र बाइपास ३ – १३० मिटर रहेको छ। बाइपास १ को इन्भर्टको काम १४५ मिटर भइसकेको छ। लाइनिङको काम पनि १२४ मिटर भइसकेको छ। त्यस्तै, बाइपास ३ को इन्भर्टको काम १२५ मिटर र लाइनिङको काम ४२.९ मिटर सकिएको छ। बाइपास २ को इन्भर्ट ४६.५ मिटर भएको छ भने लाइनिङको काम सुरु भएको छैन।

सुरुङमार्गमा सबैभन्दा तलको भाग, जहाँ पानी बग्ने वा ढल बग्ने व्यवस्था गरिएको हुन्छ, त्यसलाई इन्भर्ट भनिन्छ। विशेष गरी ढल निकास प्रणाली सुरुङमा महत्त्वपूर्ण हुन्छ। सुरुङभित्र पाइप वा नाली राखिन्छ, त्यसलाई इन्भर्ट एलिभेसन भनिन्छ। तल्लो भागलाई इन्भर्ट लेभल वा इन्भर्ट एलिभेसन पनि भनिने प्राविधिकहरूले जनाएका छन्। सुरुङमार्गमा लाइनिङले बलियो बनाउँछ भने पानी चुहावट रोक्छ र दीर्घकालसम्म सुरक्षित बनाउँछ। मुख्य सुरुङमार्गको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहनेछ।

२०८३ चैत ८ गतेसम्मको अवधिमा रहेर कामलाई तीव्रता दिएको आयोजनाले जनाएको छ। वर्षायाम सकिए लगत्तै दुवै मोहडाका सडकमा स्लोप स्टेबलाइजेसन र रक ब्यारियरका काम सुरु गरिनेछ। स्लोप स्टेबलाइजेसन र रक ब्यारियर जोखिमयुक्त सडकमा प्रयोग गरिने विधि हो। सडकको कुनाबाट केही मिटर माथिसम्म झुन्डिएर खस्ने अवस्थामा रहेका ढुङ्गालाई हटाइने उनले बताए। ढुङ्गामा नटबोल्टले कसेर बलियो तार जाली बिछ्याइने छ। त्यो तार जालीले तीव्र गतिमा खस्न सक्ने जोखिमका ढुङ्गालाई उतै रोक्ने छ। रोक्न नसक्ने ढुङ्गाको गतिलाई कमी गर्छ।

तार जालीले गति कम गर्दै ठूलो क्षति न्यूनीकरण गराउने विश्वास छ। माथि सम्मको भागमा नटबोल्टले बलियो गरी कसेका तार जाली र त्यसमाथि स्लोपको ढलान गरेर ढुङ्गा झर्न रोक्ने विधि अपनाइने छ। सिद्धार्थ राजमार्ग तराई–पहाडको लाइफलाइन सडक हो। सुरुङमार्ग सम्पन्न हुँदा लुम्बिनी र गण्डकी प्रदेशका पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ, मुस्ताङ लगायतका क्षेत्रका नागरिकले सुरक्षित यात्रा गर्न पाउनेछन्।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully