प्रतिघण्टा डेढ लिटर डिजेल खर्च गरेर सिँचाइ
भैरहवा — जसोतसो पानीको जोहो गरेर धान रोपाइ गरेका रुपन्देहीको सीमावर्ती मर्चवारका बासिन्दा अहिले खेतमा धाँजा फाटेको नियालेरै दिन कटाउन बाध्य छन् । जिल्लामै धेरै धान रोपाइँ हुने मर्चवार क्षेत्रमा बाँझो जमिन हत्तपत्त भेटिँदैन ।
तर, रोपाइँ गरिएका खेतमा धाँजा फाटेका छन् भने धान पहेँलिएको छ । जेठ पहिलो सातादेखि मनसुनको प्रतीक्षा गरे पनि अझै वर्षा सुरु भएको छैन ।
यसपटक साउन लाग्न थाले पनि वर्षा भएको छैन । छिटफुट हुने वर्षाले जमिन भिज्दैन । सिँचाइका लागि निर्माण गरिएका कुला सुक्खा छन् । पानी बग्ने कुलामा पानी पर्याप्त देखिँदैन । अधिकांशले बोरिङमार्फत भूमिगत पानी निकालेर रोपाइँ गरे । केहीले आसपासका पानीका स्रोतबाट पम्पसेट चलाएर धान रोपे ।
केहीले पाइपमार्फत टाढा–टाढाबाट पानी ल्याउने गरेका छन् । सिँचाइ अभाव हुँदा धान खेतीमा लागत हवात्तै बढेको सर्वसाधारण बताउँछन् । परम्परादेखि राजनीतिक दल र जनप्रतिनिधिले ‘सिँचाइ र मल’ व्यवस्थापन गर्ने नारा लगाएर चुनाव जिते पनि स्थानीय बासिन्दाले अहिलेसम्म सुविधा पाएका छैनन् ।
मर्चवारी–६, पिपरहवाका प्रल्हाद चौधरीले यस वर्ष २० कट्ठामा धान खेती गरेका छन् । उनको खेतआसपास सिँचाइका लागि पानीको स्रोत छैन । समस्या समाधानका लागि बोरिङ गाड्ने प्रयास गरे । ‘तर, ५ फिट पाइप गाड्दा पनि पानी निस्किएन,’ उनले भने, ‘जमिनभित्रको पानी पनि सकिसक्यो ।’
प्रत्येक वर्ष आकाशे पानीको भरमा खेती गर्दै आएका उनले विकल्प नभएपछि एक किलोमिटर टाढाको डण्डा खोलामा पम्पसेट चलाएर डेलिभरी पाइपबाट पानी ल्याएको बताए । ‘जसोतसो धान रोपियो,’ उनले भने, ‘हुर्किनका लागि पानी चाहिन्छ नि, अहिले सुक्खा परेर खेतमा धाँजा फाटेका छन् । रोपो पहेँलिएर सुक्ने चिन्ता लागिसक्यो, हामीलाई प्रकृतिले ठग्यो ।’
अहिले मर्चवारीका खेत र बाटोभरि लामो दूरीसम्म डेलिभरी पाइप बिछ्याइएको देखिन्छ । एउटै किसानले खरिद गरेको पाइपले नपुग्ने भएपछि धेरै जनाले पाइप गाँसेर पानी खेतसम्म पुर्याइरहेका छन् । ‘यहीँ डण्डा नदी नभएको भए सुक्खाले मरिहाल्थ्यौं,’ मर्चवारी–६ का अवधेश कुर्मीले भने, ‘यसैको पानी तानेर २/३ किलोमिटरसम्म पुर्याएका छौं । पम्पसेटले तानेको पानी पाइपबाट खेतसम्म पुग्छ ।’ उनका अनुसार यस वर्ष मात्र सिँचाइ अपुग भएको होइन । प्रत्येक वर्ष समस्या दोहोरिने गरेको छ । पानी अभावमा खेती गर्न समस्या भएपछि केहीले जमिनमा रुख हुर्काएका छन् । खेती नगरेर वर्षभरि भोकै परिने चिन्ताले मात्र रोपाइ गरेको कुर्मीले बताए ।
श्री महालक्ष्मी कृषि सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण चौधरीले सिँचाइ अभावले गर्दा किसानको उत्पादन लागत वृद्धि भएको बताए । ‘खेतीपातीबाट तनावबाहेक नाफा छैन,’ उनले भने, ‘खर्चमाथि खर्च थपिरहेको छ ।’ खोलानालाबाट पानी तान्न पम्पसेट चलाउनुपर्छ ।
पम्पसेट चलाउँदा एक घण्टामा डेढ लिटर डिजेल खपत हुन्छ । उनका अनुसार यसरी तानेको पानीले एक कट्ठा जमिनमा सिँचाइ गर्दा कम्तीमा तीन घण्टा लाग्छ । ‘एक कट्ठा जमिन सिँचाइ गर्दा साढे चार लिटरजति डिजेल खर्च हुन्छ,’ उनले भने, ‘धेरै जमिनमा खेती गर्न किसानले पम्पसेट चलाउनका लागि ऋण लिनुपर्ने बाध्यता छ ।’ समयमा वर्षा नभएकाले झन् समस्या भएको उनको भनाइ छ । ‘अझै पानी पर्ने छाँट छैन,’ उनले भने ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन इकाई कार्यालयका प्रमुख नारायण काफ्लेले मर्चवार गहुँ जोन क्षेत्र भएको बताए । यहाँबाट धान र गहुँको बीउ उत्पादन गरिँदै आएको छ । उनका अनुसार मर्चवारको १० हजार हेक्टरमा सिँचाइ समस्या छ । यहाँ स्यालो ट्युबवेलमार्फत पानी निकाल्न खर्चिलो हुन्छ ।
मर्चवार लिफ्ट सिँचाइको कमान्ड क्षेत्रमा कुलो निर्माण गर्नुपर्ने छ । अहिले परियोजनाले खेतसम्म पानी पुर्याउन साढे तीन सय मिटर कुलो निर्माण गरिसकेको उनले बताए । ‘दिगो रूपमा बीउ उत्पादन कार्यक्रम सञ्चालनका लागि पनि सिँचाइ अपरिहार्य भयो,’ उनले भने, ‘मर्चवारका किसान पानीबिना तडपिएका छन् ।’
मर्चवार क्षेत्रमा रहेका नहरबाट प्रभावकारी रूपमा पानी वितरण नहुँदा समस्या भइरहेको उनले बताए । परियोजनाले गहुँ र धान पकेट क्षेत्रमा सामुदायिक पूर्वाधार निर्माणअन्तर्गत ५० देखि ५० लाख खर्च गरेर साना नाली निर्माण गरिरहेको जनाए ।
