बिरामीका नाममा अर्कैको असुली धन्दा

बिरामीले एक रुपैयाँ पाएनन्, रकम उठाउन मासिक १८ हजार दिनेगरी १२ जना कर्मचारी नियुक्त

असार ३१, २०८२

दुर्गालाल केसी

Extortion by someone else in the name of the patient

दाङ — बिरामीको नाममा सहयोग संकलन भइरहेको हामीले धेरै देखेका छौं तर त्यसरी संकलन भएको रकम बिरामीले पाउँछन् त ? यसबारे सहयोग गर्नेहरुलाई थाहै हुँदैन ।

यस्तै एक घटनाले पुष्टि गरेको छ कि बिरामीको असहाय अवस्थाको फाइदा उठाउँदै रकम असुली गर्ने गिरोह पनि समाजमा सक्रिय छ । बोनम्यारो सुकेर सिभिल अस्पताल काठमाडौंमा उपचार गराइरहेका बकैया गाउँपालिका–१०, नौकामी, मकवानपुर घर भई हाल ललितपुर बस्दै आएका ३६ वर्षीय युवराज भोलनको नाममा पर्चा र रसिद छापेर रकम असुल्दै हिँड्ने एक जनालाई प्रहरीले घोराहीमा पक्राउ गरेको छ ।

प्रहरीले सहयोग संकलन रसिदसहित आइतबार हेटौंडा उपमहानगरपालिका–१८, मकवानपुरका २७ वर्षीय ईश्वर अधिकारीलाई पक्राउ गरेको हो । उनको बयानपछि यस्तो कार्यमा उनी मात्र होइन, ठूलै गिरोह सक्रिय रहेको पाइएको छ ।

बिरामीको फोटो देखाएर रकम असुल्ने तर बिरामीलाई केही पनि नदिने गिरोह यसमा संलग्न भएको पाइएपछि पक्राउ गरी कारबाही सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए ।

अधिकारीले मासिक १८ हजार तलब दिने भन्दै १२ जना युवा नियुक्त गरी पश्चिम क्षेत्रका विभिन्न जिल्लामा सहयोग संकलनका लागि खटाएको रहस्य खुलेको छ । सुर्खेत, बर्दिया लगायतका विभिन्न जिल्लामा उनी आफैं पनि पुगेर रकम संलकन गरेका थिए । यस्ता मानिस अन्य विभिन्न प्रदेश र जिल्लामा पनि खटिएको एसपी तिमिल्सिनाले बताए ।

यसका मुख्य योजनाकार हुन्, इटहरी घर बताउने सुवास विक । ‘उनले राष्ट्रिय स्वयंसेवक समाज नामक संस्था खोलेर असहायलाई सहयोग गर्ने गरेको बताएका छन् तर उक्त संस्था कतै पनि आधिकारिक रुपमा दर्ता भएको छैन,’ उनले भने, ‘उनले विभिन्न प्रदेश र जिल्लामा रकम उठाउन मानिसहरु खटाएका छन् । उनीहरुले उठेको रकम बिकलाई पठाउने गरेका छन् ।’

टिकटकमा भिडियो देखेर विक एक महिनाअघि बिरामी भेट्न अस्पताल पुगेका थिए । विकले उपचारका लागि सहयोग संकलन गरिदिने भन्दै बिरामीको फोटो, भिडियो खिचे तर त्यसपछि उनी सम्पर्कमा आएनन् । अहिलेसम्म एक रुपयाँ पनि नपाएको बिरामी भोलनले बताए । भोलन अहिले पनि अस्पतालमै छन् । 

‘मलाई आर्थिक समस्या भएको कुरा मेरो टिकटकमा राखिरहेको थिएँ, त्यही देखेर विक मलाई भेट्न आए, फोटो भिडियो खिचे, पैसा उठाएर सहयोग गर्छु भने,’ उनले भने, ‘त्यसपछि मेरो सम्पर्कमा आएका छैनन् । मलाई दाङका एसपीले फोन गरेर मेरो नाममा पैसा उठाइरहेको जानकारी दिएपछि मात्रै मलाई यो सबै कुरा थाहा भयो ।’

पक्राउ परेका अधिकारीले मात्रै विकलाई केही दिनअघि ४० हजार रुपयाँ पठाइसकेका छन् । अन्य व्यक्तिले पनि विकलाई पैसा पठाइरहेको तर विकले बिरामीलाई एक रुपैयाँ पनि नदिएको एसपी तिमिल्सिनाले बताए । ‘विभिन्न ठाउँमा खटिएका व्यक्तिहरुले विकलाई रकम पठाइरहेका छन् तर उनले बिरामीलाई दिएका छैनन्,’ उनले भने, ‘सोमबारसम्म संकलन भएको रकम बिरामीलाई दिन समय दिएका थियौं तर अहिलेसम्म दिएका छैनन् ।’

विक अहिले सम्पर्कमा आएका छैनन् । उनको फोन उठिरहेको छैन । रकम संकलनमा संलग्न विकसहित अन्य व्यक्तिको पनि पहिचान गरी अनुसन्धान थालिरहेको तिमिल्सिनाले जानकारी दिए । बिरामीका नाममा सहयोग संकलन गर्नेहरुबारे सचेत रहन पनि उनले आग्रह गरेका छन् । ‘सहयोग गर्नेहरुले बिरामीको हातमा पैसा पर्छ कि पर्दैन भन्ने बुझेर मात्र सहयोग गर्नुपर्छ,’ उनले भने,‘यसरी बिरामीलाई रकम असुल्ने माध्यम बनाउनेहरुसँग सजग रहनुपर्छ, यस्तो थाहा भए प्रहरीलाई खबर गर्नुपर्छ ।’

बिरामी भोलनले उपचारका लागि हालसम्म भएको सम्पत्ति सकिएको बताए । १० वर्षसम्म रुकुम–काठमाडौं रात्रि बस चलाएका भोलन दुई वर्षदेखि थलिएका छन् । अस्पतालले बोनम्यारो प्रत्यारोपण गर्न ४० लाख रुपयाँ लाग्ने भनेको उनले बताए । उनकी १४ वर्षीया छोरी बुवालाई बोनम्यारो दिन तयार भएकी छिन् तर आर्थिक अभावमा प्रत्यारोपण सम्भव नभएको उनले बताए ।

‘मेरा नाममा रसिद छापेर सहयोग संकलन हुन थालेछ तर मलाई कतैबाट केही सहयोग आएको छैन,’ उनले भने, ‘मेरो समस्याको फाइदा उठाउँदै अरुले पैसा उठाउने काम नगरिदिनुहोला ।’ सहयोग गर्न चाहनेहरुले आफ्नो नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको बचत खाता नं. ११२०१०१०३६६०१०१० मा सहयोग गरिदिन उनले अनुरोध गरेका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully