अर्घाखाँची — घाँस काट्न गएको बेला पहिरोले पुरिए भूमिकास्थान नगरपालिका- १० धनचौर तल्लोपाकु गाउँमा दम्पतीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँका वर्ष ६६ का गोविन्द बुढामगर र श्रीमती वर्ष ६७ की श्यामकला बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरु बिहान घरबाट रोजा तुसारेपानीको आफ्नै खर्यानमा घाँस काट्न र चिउरी टिप्न गएका थिए ।
दिउँसो १ बजेसम्म घरमा नआएपछि परिवारले खोजी गर्दा पहिरोले पुरिएर मृत्यु भएको अवस्था फेला परेको प्रहरी चौकी धनचौरका प्रहरी हवल्दार नरबहादुर कार्कीले बताए । सुक्खा पहिरो झरी दम्पतीलाई पुरेको उनले बताए ।
मृतक दम्पतीको घरमा बुहारी र नातिना थिए । उनीहरूका तीन छोरी र दुई छोरा छन् । एक छोरा विदेश र एक पोखरा छन् । सबै छोरीको विवाह भैसकेको छ ।
