पाल्पा — सडक डिभिजन पाल्पाले हिउँदेखोला र लामडाँडामा पहिरो रोकथाम गर्न बायो–इन्जिनियरिङ प्रविधि अपनाएको छ । सिद्धार्थ राजमार्गको हिउँदेखोला र लामडाँडामा चार वर्षदेखि पहिरो खस्न नरोकिएपछि ग्याभियन वालसँगै बायो–इन्जिनियरिङ गरिएको हो ।
हिउँदेखोलामा २ लाख र लामडाँडामा ५ लाख खर्चेर बायो–इन्जिनियरिङको काम गरिएको सडक डिभिजन पाल्पाका प्रमुख रामपुकार जयसवालले बताए । यसअन्तर्गत खिर्रो, चुत्रो, बाँस, खर लगायतका बिरुवा पहिरोमा लगाइएको छ । त्यसलाई अड्याउन पानी सुस्त बग्ने गरी रोकथामसमेत गरिएको छ । बर्तुङदेखि केही तल राजमार्गको माथिल्लो भागबाट ठूलो पहिरो खसेको छ । यहाँ ५ वर्षअघि सडक चौडा गर्दादेखि नै पहिरो खस्न सुरु भएको हो ।
चार वर्षदेखि निरन्तर माथिल्लो भाग बग्दै गएको छ । एक घर विस्थापित भइसकेको छ भने थप ६ घर पहिरोको जोखिममा छन् । ‘पहिरो रोकथामका लागि अन्य उपायभन्दा बायोइन्जिनियरिङ उपयुक्त देखियो,’ सडक डिभिजन पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले भने, ‘त्यसैले सिद्धार्थ राजमार्गमा पहिलो पटक नयाँ कामको थालनी गरिएको हो ।’ लामडाँडामा एक महिनामा सक्नेगरी सिल्ट कन्स्ट्रक्सनले बायो–इन्जिनियरिङको काम गरेको हो ।
राजमार्गकै हिउँदेखोलामा पनि ६ वर्षदेखि सडक भासिन सुरु भएको हो । त्यसअघि राजमार्गको माथिल्लो भागबाट सडक भासिएको थियो । पछिल्लो समयमा तल्लो भागबाट सडक भासिएको छ । यसै वर्ष नयाँ प्रविधिबाट ग्याभिएन जाली लगाइएको छ । सडक डिभिजन पाल्पाले भासिएको सडकको अध्ययन गरी ग्याबियन जाली टेवा पर्खाल, नाली निर्माण, बायो–इन्जिनियरिङका साथै सब–बेस कार्य गर्ने गरी ठेक्का लगाएको थियो ।
सडकको तल्लो भागमा पानी जमेको र त्यसलाई होरिज्नल ड्रिलिङ गरेर सडकभित्रबाट पानी निकाल्ने व्यवस्था गर्ने गरी काम गरिएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी गौतमले जानकारी दिए । सडक विभागले खटाएको विज्ञ टोलीको प्रतिवेदनका आधारमा दिगो समाधान हुने गरी कामको ठेक्का लगाएको हो ।
जमिनको एक्सरे गरेर पत्ता लागेअनुसार नै रोकथामको काम गरिएको छ । पहिरो रोकथाम र जमिन भासिने समस्या समाधानका लागि गरिएको अध्ययनबाट निस्किएको निष्कर्षका आधारमा नै लगत इस्टिमेट गरी ठेक्का लगाएको सडक डिभिजनले जनाएको छ । सडक डिभिजनले १ करोड ९७ लाख ८२ हजार ८ सय ५० रुपैयाँको लगत स्टिमेट गरी ठेक्का लगाएको थियो । सोही अनुसारको काम सम्पन्न भएको छ । निर्माण कम्पनी आईडी कन्स्ट्रक्सन कास्कीले भ्याटसहित १ करोड ७७ लाख २८ हजार ९ सय ५६ रुपैयाँमा ठेक्काको काम गरेको हो । गत साउनमा सडक भासिएपछि ‘ग्याभियन म्याट्रेस’ बिच्छ्याएर एकतर्फी सवारी साधन संचालन गर्नु परेको थियो ।
