संस्थाको माइन्युट नै च्यातेर अध्यक्ष, सचिव र व्यवस्थापक फरार
बुटवल — सर्वसाधारणबाट संकलन गरेको सहकारी संस्थाको २२ करोडभन्दा बढी रकम अपचलन गरेर अध्यक्ष, सचिव र व्यवस्थापक फरार भएपछि डिंगरनगर दुरगामी बहुउद्देश्यीय सहकारीका १ हजार ९ सय बचतकर्ता अलपत्र परेका छन् ।
रूपन्देहीमा रकम अपचलन गरेर सञ्चालक फरार भएको यो १२औं सहकारी हो ।
तिलोत्तमा नगरपालिका–३ जानकीनगरमा रहेको डिंगरनगर दुरगामी बहुउद्देश्यीय सहकारी संस्थाले दुध र दुग्धजन्य पदार्थको कारोबार गर्दै आएको थियो । नाफामै चलिरहेको सहकारीले हरेक वर्ष बचतकर्तालाई १ हजारदेखि २४ हजारसम्म बोनस उपलब्ध गराउने गरेको थियो । हरेक वर्ष बचतकर्तालाई केही बोनस वितरण गरेर रनभुल्लमा पार्दै सञ्चालकहरूले करोडौं रकम अपचलन गरिरहेको अहिले खुलेको हो ।
रकम अपचलन भइरहेको सार्वजनिक भएपछि सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक बसन्त पराजुली फरार छन् । बचतकर्ताको अनुरोधमा अहिले प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय दाङले सहकारीको आर्थिक कारोबारको लेखा परीक्षण गरिरहेको छ । प्रारम्भिक लेखा परीक्षणमा २२ करोडभन्दा बढी अपचलन भएको आशंका गरिएको छ । अपचलन रकममध्ये व्यवस्थापक पराजुलीले मात्रै ९ करोडभन्दा बढी चलाएको देखिएको छ । बाँकी रकम अध्यक्ष तिवारी र सचिव खड्काले अपचलन गरेका छन् ।
रकम अपचलनको आरोप लागेपछि फरार रहेका व्यवस्थापक पराजुलीले बिहीबार जिल्ला अदालत रूपन्देहीमा श्रीमतीलाई नक्कली सम्बन्ध विच्छेद गराउन पठाएका थिए । बसन्तकी श्रीमती बिन्ताले नक्कली सम्बन्ध विच्छेद गर्न लागेको जानकारी पाएपछि स्थानीय बचतकर्ता भैरहवास्थित जिल्ला अदालत पुगेका थिए । बचतकर्ताको विरोधपछि उनको सम्बन्ध विच्छेदको प्रक्रिया रोकिएको छ ।
सहकारीका अध्यक्ष तिवारीले सहकारीकै रकमबाट तिलोत्तमाको योगीकुटी नजिकै झन्डै २ करोडमा होटल र योगीकुटी चोकमै अर्को घर खरिद गरेका छन् । बन्दजस्तै रहेको होटल एचके प्रालि खरिदपछि सञ्चालन गरिरहेका छन् । त्यसबाहेक तीनजनाले घरजग्गा व्यवसाय र पाल्पाको चुनढुंगा खानीमा पनि सहकारीकै रकम लगानी गरिरहेको बचतकर्ताको आरोप छ ।
तिलोत्तमामा रहेको दुरगामी सहकारी २०५० सालमा स्थापना भएको हो । त्यसमा डिंगरनगर सहकारी मर्ज भएपछि २०६७ सालपछि डिंगरनगर दुरगामी सहकारी बनेको हो । तीनैजना सहकारीको स्थापनादेखि नै सञ्चालक र व्यवस्थापक बनेर काम गरिरहेका छन् । सहकारीको अध्यक्ष रहेका तिवारी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् । गत स्थानीय तहको निर्वाचनमा तिलोत्तमा–३ को वडाध्यक्षका आकांक्षी थिए । त्यस्तै सचिव थापा कांग्रेस तिलोत्तमा नगरसमितिका पूर्वसचिव हुन् । सहकारीमा सहकोषाध्यक्ष रहेकी केशरी पाण्डे तिलोत्तमा–३ की सभापति हुन् ।
लेखा परीक्षणमा सहभागी स्रोतका अनुसार सहकारीका सचिव थापाले ३ करोडभन्दा बढी रकम अपचलन गरेको अहिलेसम्ममको कागजातमा भेटिएको छ । सञ्चालकहरुले सहकारीको सफ्टवेयरभन्दा बाहिरबाट चेकमार्फत आर्थिक कारोबार गर्ने गरेको र १४ करोडसम्मको नगदै कारोबार गरेको समेत भेटिएको छ ।
संस्थाका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले सुरुमा सहकारीको रकम अपचलन भइरहेको पत्तो पाएका थिए । २०८२ वैशाख २७ गते बज्राचार्यले सहकारीका दुई चेकमा हस्ताक्षर गरेर छाडेका थिए । पछि ती चेकबाट रकम कसलाई दिइयो भनेर सोधखोज गरेका थिए । एउटा चेकको रकम सम्बन्धित व्यक्तिलाई नै गएको पाए पनि अर्को चेकमा नाम र रकम उल्लेख गरिएको व्यक्तिले रकम नलिएको देखिएपछि उनलाई शंका बढेको थियो । ‘मैले हस्ताक्षर गरेको चेकको रकमका विवरण व्यवस्थापकले सही ढंगले दिन नसकेपछि मेरो मनमा चिसो पस्यो,’ उनले भने, ‘मैले सम्पर्क नम्बर लिएर सोधखोज गर्दा एकजनाले रकम नै नलिएको र माग पनि नगरेको पाइयो । त्यसपछि गडबड छ भन्ने लागेर बचतकर्तालाई हारगुहार गरेर सार्वजनिक गरेको हुँ ।’ तत्कालै सो विषय अध्यक्षलाई जानकारी गराउँदा अध्यक्ष तिवारीले पनि ठूलो विषय होइन व्यवस्थापकले मिलाउँछ भनेपछि थप शंका बढेको उनको भनाइ छ । आफूले तत्कालै व्यवस्थापक पराजुलीलाई निलम्बन गरेर छानबिन गर्न आग्रह गरेपनि अध्यक्ष र सचिवले नमानेको उनको गुनासो छ ।
कोषाध्यक्षले छानबिनको अडान राखेपछि सञ्चालक समितिका ५ जना पदाधिकारी बसेर मिलाउने सहमति भएको थियो । मिलाउने क्रममा संस्थाका व्यवस्थापक पराजुलीलाई दोषी देखाउँदै विवाद साम्य पार्न खोजिएको थियो । तर, कोषाध्यक्ष बज्राचार्यले आफ्नो अडान नछोडेपछि व्यवस्थापक पराजुलीलाई ९ करोड ५५ लाख ३० हजार ८८ रुपैयाँको कबुलियतनामा गराएर रकम असुल्ने प्रयास सुरु गरिएको थियो । तर, बचतकर्ताले त्यसको निष्पक्ष लेखापरीक्षण गरेर सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्दै आन्दोलन सुरु गरेपछि तीनैजना फरार भएका हुन् ।
बिहीबारदेखि सहकारीका अध्यक्ष, सचिव, व्यवस्थापकको घर घेर्न थालेका बचतकर्ताले शुक्रबार दिनभर पनि सहकारीमै धर्ना दिएका थिए । तर, सञ्चालकको घर र सहकारीमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर छानबिन नै प्रभावित पार्ने प्रयास भइरहेको बचतकर्ता मीना न्यौपानेले बताइन् । ‘हाम्रो रकम पनि हिनामिना भयो रे भन्ने सुनेपछि मैले अध्यक्ष र सचिवलाई भनेकी थिएँ,’ उनले भनिन्, ‘तर, उहाँहरुले तपाईंहरुलाई यस्तो विषय थाहा हुँदैन, यो हल्लाको पछाडि नलाग्नुस्, केही तलमाथि भए मैले मेरै सम्पत्ति बिक्री गरेर भए पनि तिर्छु भन्ने धम्कीपूर्ण भाषा बोल्नुभयो ।’ त्यसको दुईतीन दिनमै सहकारीको माइन्युट नै च्यातेर फरार भएको उनको गुनासो छ ।
गुपचुपमै मिलाउने प्रयास
सहकारीको रकम अपचलन भइरहेको सार्वजनिक हुँदै गएपछि बचतकर्ताहरुकै प्रयासमा सञ्चालकलाई राखेर मिलाउने प्रयास गरिएको थियो । त्यसमा व्यवस्थापक बसन्त पराजुलीले ९ करोड ५५ लाख फिर्ता गर्ने र बाँकी नमिलेको हिसाब अध्यक्ष तिवारी र सचिव थापाले मिलाउने गरी सञ्चालक समितिको पदाधिकारी बैठकमै माइन्युट गरिएको थियो । माइन्युटमा असार १९ देखि सर्वसाधरणको बचत फिर्ता गर्ने सहमति पनि थियो ।
सहमति गराउने प्रयास गरेका एक बचतकर्ताका अनुसार तत्काल समस्या समाधानका लागि सहकारीकै बचतकर्ता सदस्य कमल पौडेलले सहकारीलाई १० करोड नगद उपलब्ध गराउने र त्यसका लागि अध्यक्ष तिवारी वा सचिव थापाले धितो दिनुपर्ने सर्त थियो । त्यसबाट आवश्यकताअनुसार बचत फिर्ता गर्दै जाने तयारी पनि थियो । तर, अघिल्लो दिन सहमति जनाएका अध्यक्ष र सचिव दुवैले भोलिपल्ट उक्त माइन्युट च्यातेर फरार भएपछि बचतकर्ता थप आक्रोसित बनेका हुन् ।
स्रोतका अनुसार सहकारीमा पैसा हिनामिनाको कुरा उठ्न थालेपछि अध्यक्ष तिवारी भागेर दुई पटकसम्म काठमाडौं पुगेका थिए । उनलाई कमल पौडेलले नै सर्वसाधारणको बचत फिर्ता गर्नका लागि आफूले सहयोग गर्ने गरी कन्भिन्स गरेका थिए । केही बचतकर्ता प्रदेश सरकार र प्रहरीमा पुगेको र आफू पक्राउ पर्न सक्ने त्रासमा रहेका अध्यक्ष तिवारी काठमाडौंबाट फर्कन नमानेपछि पौडेलले सुरक्षाको ग्यारेन्टी गरेर काठमाडौंबाट भैरहवा एयरपोर्ट हुँदै घरसम्म पुर्याएका थिए ।
असार १६ गते छलफल गरेर सहमति भए पनि असार १७ गते अध्यक्ष तिवारीले ‘बरु जेल जान तयार तर, सर्वसाधारणको रकम फिर्ता नगर्ने भनेपछि’ भित्रभित्रै मिलाउने प्रयास भड्किएको थियो । सहकारीका एक कर्मचारीका अनुसार अध्यक्षले त्यो भनेको भोलिपल्ट बिहान साढे ५ बजे सहकारीका सचिव थापा सहकारीको कार्यालयमा पुगेका थिए । उनले कार्यालयबाट असार ६ गतेदेखि यता बसेका बैठकका निर्णयको सम्पूर्ण माइन्युट च्यातेर बाहिरिएका थिए । प्रहरी स्रोतले पनि सचिव थापा आधा घण्टासम्म सहकारीमा बसेर भित्रबाहिर गरेको सीसीटीभी फुटेजमा देखिएको जनाएको छ । त्यसपछि अध्यक्ष तिवारी, सचिव थापा र व्यवस्थापक पराजुलीसँगै फरार भएका थिए । तीनैजना जिम्मेवार व्यक्तिबाटै माइन्युट च्यातेर सहकारीमा भएका प्रमाण नष्ट गर्ने प्रयास भएपछि जनप्रतिनिधिको रोहबरमा प्रहरीले सहकारीमा ताला लगाएको थियो । अहिले प्रहरीकै रोहबरमा ताला खोजेर लेखा परीक्षणको काम भइरहेको छ ।
सहकारीमा १ हजार ९ सय बचतकर्ता छन् । तीमध्ये झन्डै ९ सय ऋणी रहेको सहकारीले जनाएको छ । सहकारीका ४ सयभन्दा बढी बचतकर्ताले रकम अपचलन गर्नेलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिने प्रयास गरे पनि प्रहरीले जाहेरी नलिएको उनीहरुको गुनासो छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले डिंगरनगर दुरगामी सहकारीको रकम अपचलनसम्बन्धी विवरण सार्वजनिक भएपछि सहकारी रजिस्ट्रार कार्यालयले छानबिन गरिरहेको बताए । ‘अहिले प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले छानबिन गरिरहेकाले त्यसको प्रतिवेदनले कारबाही गर्नु भनेको अवस्थामा मात्र प्रहरीको कारबाही सुरु हुन्छ,’ उनले भने, ‘अहिले केही व्यक्तिले ठगीसम्बन्धी उजुरी दिनु भएको छ, त्यसको पनि हामीले अनुसन्धान गरिरहेका छौं ।’ थप विवरण छानबिनको प्रतिवेदनपछि मात्र भन्न सकिने उनले बताए ।
सहकारी ऐनको दफा २३ मा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन सुपरीवेक्षण गर्ने निकायले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागले २०८१ मा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरेको निर्देशन तथा मापदण्डअनुसार सहकारीका सञ्चालकले पनि नियमित बचत गरिरहेका सदस्यसरह बचत रकमको पाँच गुणा वा बढीमा पाँच लाखमध्ये जुन कम हुन्छ, सो बराबरको रकम मात्र बिनाधितो ऋण लिन सक्छन् । यसरी बिनाधितो कर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यको जमानी लिनुपर्ने व्यवस्था छ ।
