मुसिकोटको बजेटमा उपप्रमुखकै असन्तुष्टि, मेयरले आफूखुसी हेरफेर गरेको आरोप

असार २७, २०८२

सन्तोष महतारा

The deputy chief's dissatisfaction with Musikot's budget, the mayor's accusation of arbitrary manipulation

गुल्मी — मुसिकोट नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत बजेट पारितका क्रममा उपप्रमुखले नै असन्तुष्ट व्यक्त गरेकी छिन् ।

उपप्रमुख गंगा श्रेष्ठले बजेट असार १० गतेको वक्तव्यअनुसार नभएकोमा असहमति जनाएकी हुन् । उनले बजेट पारित गर्नका लागि शुक्रबार बसेको नगरसभा बैठकमा बजेट हेरफेरसम्बन्धी बोल्दै यसमा आफू संलग्न नरहेको नगरसभा सदस्यहरूलाई स्पष्ट पारिन् ।

बजेट तर्जुमा समिति संयोजक भएको नाताले बजेट हेरफेरमा उपप्रमुख पनि संलग्न भएको भन्ने भ्रम नगरसभा सदस्यलाई भएमा त्यो भ्रम हटाउनुपर्ने उपप्रमुख श्रेष्ठले बताइन् । 'असार १० गतेपछि आजसम्म मेयरले आफ्ना मान्छेसँग ढोका लगाएर, भित्र बसेर बजेट तलमाथि बनाउनुभएको छ,' उनले भनिन्, 'यो बजेटमा मेरो असहमति छ ।' 

आफूले कांग्रेस, रास्वपा र माओवादीको पक्षविपक्षभन्दा पनि संविधानले दिएको अधिकार खोज्न चाहेको बताइन् । उनले स्थानीय पालिकाको अभिन्न अंग मेलमिलापमा चार लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा त्यो घटेर दुई लाख ५० हजार रुपैयाँ बनेको बताइन् । उनले यस्ता थुप्रै विषयमा बजेट हेरफेर भएकोमा आपत्ति जनाइन् ।

उपप्रमुख श्रेष्ठले अब बजेटसम्बन्धी कुनै पनि जवाफ आफूसँग नभएको र जवाफ माग्न चाहने नगरसभा सदस्यहरूले नगरप्रमुखसँग नै जवाफ माग्न आग्रह गरिन् । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि जिल्लामै सबैभन्दा बढी ७० करोड १४ लाख ७८ हजार रुपैयाँको वार्षिक बजेट घोषणा गरेको थियो ।

नगरसभाका बजेटसम्बन्धी एमालेबाट निर्वाचित उपप्रमुख गंगा श्रेष्ठ र कांग्रेसबाट निर्वाचित वडा नम्बर २ का वडाध्यक्ष रविन्द्र केसीसहित चार जना वडाध्यक्ष गरी १७ जनाले असहमति जनाएका थिए । नगरसभामा एमालेको बहुमत छ । एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले मेयरकै पक्षमा रहेपछि बजेट भने पारित भइसकेको छ । 

सन्तोष

Link copied successfully