रोल्पा — तीन दिनदेखि सम्पर्कमा नरहेका रोल्पाको थबाङ गाउँपालिकाका ७ जना कर्मचारी बिहीबार सम्पर्कमा आएका छन् । गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढाले गुल्मीबाट सबै कर्मचारी सम्पर्कमा आएको बताए ।
गत मंगलबार गाउँपालिकाको कामको सिलसिलामा रुकुम पूर्व जाने भनेर कार्यालयबाट हिँडेका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगरसहितका कर्मचारी त्यसपछि सम्पर्क बाहिर भएको गाउँपालिकाका अध्यक्ष बुढाले बताएका थिए ।
'यहाँ इन्टरनेटले काम नगर्ने भएपछि उहाँहरू कार्यालयको कामका लागि नै रुकुम पूर्व जानुभयो । तर त्यसपछि हामीबीच सम्पर्क नै भएन । उहाँहरू सम्पर्कमा नआउँदासम्म खोजी जारी राख्यौं,' अध्यक्ष बुढाले भने। कर्मचारीहरु सम्पर्क बाहिर भएपछि उनले विज्ञप्ति जारी गरेका थिए।
सम्पर्कबाहिर रहेका कर्मचारीले बिहीबार बिहान ७ बजेर ५ मिनेटमा गुल्मीमा रहेको र सकुशल रहेको फोनबाट बताएका थिए । 'गुल्मीबाट उहाँहरूले बिहान फोन गरेर सम्पर्कमा आउन चाहन्छौँ भनेर भन्नु भएको हो,' अध्यक्ष बुढाले भने । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले कर्मचारीले फोन गरेर सम्पर्कमा आएको बताए । उनले सबै कर्मचारी सकुशल भएको र त्यो कुरा परिवारलाई पनि थाहा दिइएको बताए ।
सम्पर्कबाहिर भएका कर्मचारीमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ हरिश माझी, सह-लेखापाल यज्ञप्रसाद कँडेल, सबइन्जिनियरद्वय चन्द्र प्रकाश ओली र निशा आचार्य, खानेपानी सहायक टेक्निसियन शिवकुमार वली एवं सवारी चालक प्रदीप केसी छन् ।
उनीहरू थबाङ गाउँपालिकाको कामको सिलसिलामा खटिएको तर के कारणले सम्पर्क बाहिर रहेको भन्ने खुलेको छैन । प्रहरीले भने पालिकाको काम छाडेर किन गएको भन्ने बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।
