नेपालगन्ज — लुम्बिनी प्रदेश सरकारको ७ करोड ७७ लाख रुपैयाँ लागतमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल बाँकेमा अपरेसन थिएटर भवन निर्माण गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार नवनिर्मित अपरेसन थिएटर भवनको उद्घाटन गरेका हुन् ।
प्रदेश सरकारले प्रहरी अस्पतालको स्तर वृद्धिमा विशेष ध्यान दिने र यसलाई १५ शैयामा सीमित नराखी ५० शैयाको अस्पतालका रूपमा विकास गरिने उनले बताए ।
‘अविलम्ब आवश्यक पर्ने कागजात प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाउनुस् । आगामी दिनमा यो अस्पताललाई बाँकेको विशिष्टिकृत अस्पतालका रूपमा विकास गरिनेछ,’ मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेश सरकारका तर्फबाट यसलाई विधिवत् रूपमा ५० शैयाको अस्पतालका रूपमा स्तरवृद्धि गरेर अगाडि बढाउने छौं । उपकरण र विशेषज्ञ जनशक्तिको व्यवस्थापन गर्न पनि प्रदेश सरकारले आवश्यक पहल गर्नेछ ।’
सो अवसरमा प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाललगायतले सम्बोधन गरेका थिए ।
नेपाल प्रहरी अस्पताल, महाराजगन्ज काठमाडौंका प्राविधिक प्रहरी नायव महानिरीक्षक डाक्टर गोपेशकुमार ठाकुरले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा सहजीकरण प्राविधिक प्रहरी नायव उपरीक्षक श्यामकृष्ण लौडारीले गरेका थिए ।
कार्यक्रम लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
