अत्यधिक भार बोकेका टिपर जथाभावी सञ्चालन हुँदा सडक अस्तव्यस्त
पाल्पा — डिभिजन वन कार्यालय पाल्पाले साउन १ गतेदेखि अर्को आदेश नभएसम्म चुनढुंगा सामग्री उत्खनन र ओसार पसार कार्य रोक्न निर्देशन दिएको छ । चुनढुंगा खानीबाट वर्षात्को समयमा उत्खनन तथा ओसार पसार गर्दा मुख्य तथा सहायक सडकसमेतका पूर्वाधारमा पुर्याउने क्षति, सडक दुर्घटनाबाट निम्त्याउन सक्ने समस्या देखिएकाले उत्खनन र ओसार पसारमा रोक लगाउने निर्णय गरेको हो ।
खानी उद्योगहरुले खानी विभागबाट स्वीकृत भएको माइनिङ स्किम र वन तथा भू–संरक्षण विभागसँग गरेको सम्झौता समेतको आधारमा निश्चित अवधि खानी उत्खनन तथा ढुवानी रोक्का गर्नुपर्ने व्यवस्था भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताए ।
‘मनसुनको प्रकोपलाई वेवास्ता गर्दै चुनढुंगा खानी उद्योगले उत्खनन र ओसार पसार गर्दै आएकाले पनि निर्देशन नै जारी गर्नु परेको हो,’ उनले भने, ‘स्थानीय बासिन्दा तथा ओसार पसार गर्ने क्षेत्रका नागरिकको गुनासोलाई समेत मध्य नजर गरेर रोक लगाउनु परेको हो ।’ वन नियमावली, २०७९ को परिच्छेद १५ नियम ११८ को ४ बमोजिम बसेको जिल्ला वन सुरक्षा समितिको बैठकले उत्खनन र ओसारपसारमा रोक लगाउने निर्णय गरेको हो ।
हाल मनसुनको प्रकोप (वर्षातमा बाढी पहिरो) का कारण सिमेन्ट उद्योगका लागि कच्चा पदार्थको रुपमा प्रयोग हुने चुनढुंगा उत्खनन क्षेत्रमा हेभी इक्वेपमेन्ट आवत जावत गर्दा सडक बिग्रने डिभिजन वन कार्यालयले जनाएको छ । २०८२ साउन १ गतेदेखि अर्को आदेश नभएसम्म पाल्पा जिल्लाका सबै खानी उद्योगहरुबाट चुनढुंगा लगायतका सामाग्री उत्खनन र ओसार पसारको कार्य पूर्ण रुपले रोक्का गर्ने निर्णय भएको हो ।
खानी सञ्चालन भएका सबै स्थानीय तहमासमेत निर्देशन पठाइसकिएको डिभिजन वन कार्यालयले जनाएको छ । ‘जिल्ला वन सुरक्षा समितिको बैठकले साउन १ गतेदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको हुँदा सोही अनुसार गर्नको लागि सम्बन्धित सबैका जानकारीका लागि सूचना पठाइएको छ,’ डिभिजन वन प्रमुख भट्टराईले भने ।
चुनढुंगा खानी उत्खनन गर्ने उद्योग संचालकले वार्षिक २७० देखि ३०० दिनसम्म उत्खनन तथा ओसारपसारको अनुमति पाउने खानी तथा भूगर्भ विभागले जनाएको छ । सर्वोत्तम सिमेन्टका प्रतिनिधि अशोक ठाकुरले कचलको चुनढुंगा उत्खनन बन्द भइसकेको बताए । उनले रैनादेवी छहराको शिद्देश्वरमा उत्खनन भइरहे पनि ठूलो पानी पर्नासाथ रोकिने बताए ।
कञ्चन कोइरिज चुनढुंगा खानीका सञ्चालक भरत थापाले ठूलो पानी नपरेकाले उत्खनन र ओसार पसार भइरहेको बताए । उनले ठूलो पानी पर्नासाथ उत्खनन र ओसार पसार बन्द गर्ने बताए । तर खानी सञ्चालकले मुलुक सघीय संरचनामा प्रवेश गर्नु पूर्व साविकको जिल्ला विकास समिति भएको समयमा असार १ गतेदेखि नै ओसारपसार र उत्खनन बन्द गर्थे ।
जिल्लास्तरीय अनुगमन गर्ने र असार १ गतेदेखि टिपर तथा टेक्टर पूर्ण रुपमा बन्द हुने गरेको थियो । २०७४ पछि भने टेक्टर तथा टिप्पर निर्वाध सञ्चालन हुँदै आएको छ । जिल्ला समन्वय प्रमुख टंकनाथ खनाललाई पछिल्लो समयमा आफूहरुको अधिकार नभई स्थानीय तहले नै सूचना जारी गर्ने बताए । पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले यस विषयमा जानकारी नभएको बताए ।
उनले क्षमता भन्दा बढी भार वहन गर्ने मालबाहक सवारीका साधनलाई कारबाहीको दायरामा ल्याउने बताउँदै असार १ पछि राजमार्गमा गुडेका टिपरका विषयमा अनविज्ञ रहेको बताए । असार १ गतेपछि भदौ मसान्तसम्म ग्रामीण सडकमा टेक्टर तथा मुख्य राजमार्गमा टिप्पर सञ्चालनमा रोक लगाउने गरेकामा पछिल्लो समयमा यस्ता निर्णय अर्थहीन छन् ।
स्थानीय सरकारले ग्रामीण क्षेत्रका कच्ची सडकमा सडक सुरक्षाका लागि ट्याक्टर सञ्चालनमा रोक लाग्दा १० टन क्षमताका राजमार्गमा २५ टन निर्माण सामग्री ढुवानी गर्ने टिप्पर भने निर्वाध गुडेका छन् । कतिपय चुनढुंगा खानी बन्द भए पनि केही खानी उद्योग सञ्चालनमा थिए ।
सर्वोत्तम सिमेन्ट र सिजी सिमेन्ट साथै कञ्चन कोइरिजले अटेरी गर्दै खानी उत्खनन तथा ओसार पसार गर्दै आएका छन् । वर्षायाम सुरु भइसक्दा मुख्य तथा ग्रामीण सडकमा क्षमता भन्दा बढी भार बोकेका टिप्पर गुड्दा एक महिना अघि मर्मत गरेको सडकसमेत खाल्डाखुल्डी भइसकेको स्थानीय बासिन्दा चन्द्रबहादुर खत्रीले बताए ।
‘१० टन बोक्नेले २० र २० बोक्नेले ३५ टन बोकेर राजमार्गमा गुडाएपछि कसरी सडक सुरक्षित रहन्छ,’ उनले प्रश्न गरे, ‘अत्यधिक भारबहन बोक्ने, ओभर स्पिड चलाउने र ब्रेक लगाएपछि सडक सबै बिग्रिसकेको छ । रोक्ने कसले हो भन्ने लागेको छ ।’
सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डमा पर्ने सानाठूला खोला माथिका पुल तथा कल्भर्ट बिग्रेको छ । केही समयअअघि मर्मत गरेको सडकको कालोपत्र उप्किसकेको छ । कतिपयस्थानमा सडक नै भासिएको छ । टिप्परले गर्दा नाली बिगारेको तानसेनका स्थानीय कृष्ण बहादुर खत्रीले बताए ।
‘हार्थोकदेखि गाउँपालिकासम्मको कालोपत्र ध्वस्त भएको देखिएकै छ,’ उनले भने, ‘ढुंगाखानीदेखि बुटवलसम्म मर्मत गरेका सडक पुरै ध्वस्त भइसकेको छ ।’ कोइला तथा क्लिङ्कर बोक्ने साथै चुनढुंगा ओसारपसार गर्ने टिप्परले सडक पुरै क्षतविक्षत बनाएको उनले बताए ।
जिल्लामा तिनाउमा डोलोमाइड, अल्फा सिमेन्टस् प्रालि, सिद्धार्थ मिनिरल्स प्रालि, सर्वोत्तम सिमेन्ट प्रालि, कन्चन क्वेरिज प्रालि, सत्यवती चुनढुंगा उत्खनन् प्रालि, माथागढीमा पाल्पा सिमेन्ट प्रालि, विएस सिमेन्ट, तिनाउकै अल्फा सिमेन्ट प्रालि र निस्दीको होङ्सी सिमेन्ट प्रालि, रैनादेवी छहरामा सर्वोत्तम सिमेन्ट प्रालि र सोमादी तथा शिद्देश्वरमा सिजी सिमेन्ट्सले चुनढुंगा उत्खनन्का साथै ओसार पसार गर्दै आएका छन् ।
कतिपयले धर्मकाँटा राखे पनि अधिकांशले अझै राखेका छैनन् । ट्राफिक प्रहरीका अनुसार विभिन्न स्थानमा जाँच गरेर चुनढुंगा फालेपछि अधिक भार बोक्न कमी आएको छ ।
