गाउँसभाबाट ६८ करोड २४ लाखको बजेट पारित
पाल्पा — निस्दी गाउँपालिकाको बिहीबार सम्पन्न १७ औं गाउँसभाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै सम्पन्न भएको छ । पालिकाले गाउँपालिकाका सबै विद्यालयमा कक्षा ८ सम्म कुनै पनि शुल्क लिन नपाउने गरी अनुदान व्यवस्था गरेको छ ।
यसअघि परीक्षा, भर्नालगायतमा शुल्क उठाउने गरेको थियो । गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले कक्षा ८ सम्म कुनै पनि शुल्क नउठाउँदा थप खर्च १४ लाख लाग्ने अनुमान गरिएको बताए ।
मौलिक हकका रूपमा रहेको शिक्षामा सम्पूर्ण बालबालिकाको पहुँच, टिकाउ र गुणस्तरीय शिक्षा हासिल गराउन सोहीअनुसारको बजेट विनियोजन गरिएको उनले बताए । ‘विद्यार्थी पलायन नियन्त्रण र विद्यार्थी प्रोत्साहनका लागि कार्यक्रम गरिनेछ भने आधारभूत शिक्षालाई पूर्ण रूपमा निःशुल्क र अनिवार्य गरिनेछ,’ बजेटमा भनिएको छ । गाउँपालिकामा माध्यमिक शिक्षालाई निःशुल्क नै गराइनेछ ।
पालिकाले स्थानीय पाठ्यक्रम निर्माण, कार्यान्वयन गर्दै शिक्षाको गुणस्तर सुधार ल्याउन प्रधानाध्यापक, शिक्षक, कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गरिनेछ । दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी बनाइने छ भने अंग्रेजी माध्यमको कक्षा थप व्यवस्थित गरिनेछ । अध्यक्ष थापाका अनुसार शैक्षिक सामग्री व्इवस्थापन र प्रयोगलाई जोड दिइनेछ । यहाँ शिक्षाको क्षेत्रमा काम गर्ने गरी पालिकाले २ करोड ७० लाख बजेट विनियोजन गरेको उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले बताइन् । जस अन्तर्गत दिवा खाजा थप व्यवस्थापन गर्न ३६ लाख बजेट विनियोजनग गरेको छ ।
निस्दीमा १२ मावि, १३ आधारभूत र २६ प्रावि गरी ५१ विद्यालय छन् । एसईईमा गतवर्ष १८.९१ प्रतिशत यसवर्ष ५२.७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गतवर्ष एसईईमा २ सय ९६ सहभागी भएका थिए भने यसवर्ष २ सय ६४ जना सहभागी थिए । कक्षा १ देखि १२ सम्म विद्यार्थी संख्या गतवर्ष ३ हजार ९ सय ५५ थिए भने ३ हजार ३ सय ४७ रहेका छन् ।
शिक्षा शाखा प्रमुख नरबहादुर थापाका अनुसार संघीय सरकारले बाल कक्षादेखि कक्षा ५ सम्म दिवा खाजा व्यवस्था गरे पनि गाउँपालिकाले कक्षा ८ सम्म व्यवस्था गर्दै आएको छ । २०८१ मा कक्षा ८ को ७६.०६ प्रतिशत नतिजा रहेको छ । गत वर्ष ८२.९प्रतिशत थियो । यसअघि पनि पालिकाले संघीय सरकारको १५ रुपैयाँमा थप ५ रुपैयाँ खाजाका लागि दिँदै आएको छ । पालिकाले गतवर्ष ५३ लाख खर्च गरेको थियो भने यसवर्ष ३४ लाख विनियोजन गरेको उनले बताए ।
६८ करोड २४ लाखको बजेट पारित
गाउँसभाले ६८ करोड २४ लाख ५० हजारको बजेट पारित गरेको छ । संघीय ससर्त अनुदान २७ करोड ७२ लाख, संघीय विशेष अनुदान १ करोड ६ लाख, प्रदेश ससर्त १ करोड ९० लाख, प्रदेश विशेष अनुदान २० लाख, संघीय र प्रदेश समपुरक ३ करोड ४५ लाख रहेको छ ।
निस्दी गाउँपालिकाको सञ्चित कोषमा संघीय समानीकरण अनुदान ९ करोड १७ लाख प्राप्त हुनु पर्नेमा ८ करोड ४१ लाख ४३ हजार ९ सय २० प्राप्त भएको छ । सघीय राजश्व बाँडफाँड ११ करोड ९७ लाख ४५ हजार प्राप्त हुनुपर्नेमा ११ करोड २९ लाख २५ हजार १ सय ४० रुपैया ५७ पैसा प्राप्त भएको उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले बताइन् । प्रदेश सरकारबाट समानिकरण, ससर्त विशेष र समपुरक अनुदानमा प्राप्त हुनुपर्ने.२ करोड २६ लाख ७१ हजार मध्ये १ करोड ३४ लाख २१ हजार ६ सय ७ रुपैया प्राप्त भएको छ ।
आन्तरिक स्रोततर्फ ८ करोड ७८ लाख ७६ हजार प्राप्त हुनुपर्नेमा.८ करोड ५३ लाख ५६ हजार ८ सय ७ रुपैया ३६ पैसा प्राप्त भएको उनले बताइन् । संघ, प्रदेश र स्थानीय तहको आन्तरिक स्रोतमा प्राप्त हुनपर्ने ६१ करोड ४३ लाख ७ हजार ५ सय मध्ये ५८ करोड २१ लाख ७५ हजार ७ सय ५ रुपैया ७३ पैसा आर्थिक वर्ष २०८१/८२ मा प्राप्त भएको छ । व्ययतर्फ आर्थिक विकासमा १ करोड २४ लाख २० हजार विनियोजन भएकोमा १ करोड २७ लाख ४४ हजार ६ सय २१ रुपैयाँ खर्च भएको उपाध्यक्ष श्रेष्ठले बताइन् ।
सामाजिक विकास तर्फ ३२ करोड ११ लाख ५० हजार ५ सय विनियोजन भएकोमा २२ करोड ९१ लाख ४१ हजार ९ सय ४ रुपैया ७६ पैसा खर्च भएको छ । पूर्वाधार विकासमा विनियोजन भएको १५ करोड ५९ लाख ३० हजारमध्ये ६ करोड ३१ लाख ८ सय ६३ रुपैयाँ खर्च भएको उनले बताइन् सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा विनियोजन भएको १ करोड २२ लाख मध्ये ३० लाख ६६ हजार ६ सय २० रुपैयाँ खर्च भएको छ ।
निस्दी गाउँपालिकाको १७ औं गाउँसभाअन्तर्गत पहिलो तथा दोस्रो बैठक गत असार ८ गते बसेको थियो । पहिलो बैठकमा चालु आर्थिक वर्षको समीक्षा, आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत तथा छलफल भई पारित भएको प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताए । दोस्रो बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य र आर्थिक विधेयक प्रस्तुत गरिएको थियो ।
