बेपत्तामध्ये बर्दियाका ५ जना,परिवार शोकमा

असार २६, २०८२

कमल पन्थी, रामप्रसाद चौहान 

Among the missing, 5 people from Bardia, families are in mourning

बर्दिया — रसुवागढीमा मंगलबार बिहान आएको बाढीमा परेर बर्दियाका ५ जना बेपत्ता छन् । उनीहरूका परिवारका सदस्यहरू खबर पाएदेखि छिनछिनमा मूर्च्छित हुने गरेका छन् । श्रीमान् जिपन बाढीपछि बेपत्ता भएको खबरले बारबर्दिया नगरपालिका–१० की अनिता चौधरीले मंगलबारदेखि केही खाएकी छैनन् ।

चार महिनाकी गर्भवती अनिता श्रीमान्लाई सम्झेर छिनछिनमा बेहोस भइरहेकी छन् । 

जिपनकी आमा हिरामोतीले छोरा गत चैत महिनामा रसुवामा मजदुरी गर्न गएको बताइन् । ‘बुहारीलाई छोराले सोमबार राति १० बजे अन्तिम पटक फोन गरेको थियो,’ उनले भनिन्, ‘त्यसपछि फोन आएन, बिहान बेपत्ता भएको खबर सुनेपछि बुहारी छिनछिनमा मूर्च्छित हुने गर्छिन् ।’ घरपरिवार जिपनको सकुशल उद्धार हुने आसमा छन् । 

बारबर्दिया नगरपालिका–१० का भीमबहादुर चौधरीका छोरा सन्तोष, भतिजा बुद्धिराम र छोरीज्वाइँ जिपन बाढीपछि बेपत्ता भएको खबरले परिवारमा ‘ब्रजपात’ परेको छ । बेपत्ता भएका घर फर्किन्छन् भन्दै सान्त्वना दिन आफन्तहरू घरभरि जम्मा भएका छन् । बुद्धिरामको घरमा श्रीमती र छोरीबाहेक कोही छैनन् ।

‘ससुरा बितेपछि सासूले अर्को विवाह गर्नुभयो,’ उनले भनिन्, ‘घरमा छोरी र मबाहेक कोही छैन, श्रीमान् बेपत्ता हुनुभयो भन्छन्, अब के गर्ने थाहा छैन ।’ भीमबहादुरका छोरा सन्तोष पनि बाढीले बेपत्ता भएका छन् । बुबा भीमबहादुर छिनछिनमा रुँदै ‘सरकार चाँडै छोरालाई उद्धार गरिदे’ भनेर बिलौना गर्छन् । 

यस्तै, बारबर्दिया–९ का चन्द्रलाल थारूका छोरा सुरेश २१ असारमा धान रोपाइँ गरेर रसुवा गएका थिए । उनी पनि बाढीपछि बेपत्ता छन् । एकमात्र छोरा बेपत्ता भएपछि घरपरिवार बिलौना गरिरहेका छन् । श्रीमान् हराएको खबर सुनेयता उनकी श्रीमती उर्मिलाको आँसु रोकिएको छैन । 

बेपत्तामध्ये बढैयाताल गापा–६ का लक्ष्मीनारायण थारू पनि छन् । बारबर्दियाका मेयर छविलाल चौधरीले बेपत्ताको खोजीका लागि रसुवा प्रशासनसँग समन्वय भइरहेको बताए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मंगलबार बर्दियाका ५ जना बेपत्ता परिवारको घर पत्ता लगाएपछि रसुवा प्रशासनसँग समन्वय गर्दै उद्धारका लागि आग्रह गरिएको जनाए ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully