नगरपालिकाले सागुन र सिसौका २७ वटा रुख फँडानी गरेको कपास विकास समितिको भनाइ
बर्दिया — मधुवन नगरपालिकाले सरकारी जग्गामा रहेको रुख धमाधम फँडानी गरेको छ । मधुवन–८ दुर्गापुर स्थित कपास विकास समितिको जग्गामा रहेका सागुन र सिसौ जातका हरिया रुख मनोमानी तरिकाले काटिएको हो ।
३ बिघा जग्गाको चारैतिर बाटो हुँदाहुँदै पनि नगरपालिकाले सरकारी जग्गा मिचेर बाटो निकाल्ने खोजेको कपास विकास समितिको आरोप छ । सल्लाह नगरी सरकारी जग्गामा रहेको रुख धमाधम ढालेको कपास विकास समितिका कार्यकारी निर्देशक वीरेन्द्रराज पराजुलीले बताए । ‘उक्त जग्गाको हामीसँग पुर्जा छ,’ उनले भने, ‘तर,पनि मधुवनले अतिक्रमण गरेको आरोप लगाउँदै खोइकुन प्रयोजनको लागि बाटो निकाल्न खोजेको छ ।’
‘हामीले जग्गामा लगाएको काँडेतार फालेर नगरपालिकाले रुख ढालेको छ । सुरुमै रोक्न खोजे पनि मानेनन्,' उनले भने, 'आवश्यक कारवाहीका लागि लिखित रुपमा जिल्ला प्रशासन र डिभिजन वन कार्यालयमा निवेदन दिइसकेको छु । नगरपालिकाले धमाधम २७ वटा सागुन र सिसौको हरिया ठूला रुख फडानी गरेको छ ।'
अरुको सम्पत्तिमा रहेको रुख कानुनी हिसाबले काट्न नमिल्ने डिभिजन वन कार्यालयका सूचना अधिकारी राम कुमार चौधरीले बताए । ‘यस विषयमा प्रहरी प्रशासनले हेर्नुपर्ने हो,’ उनले भने, ‘कति रुख काटिएको भनेर मूल्यांकन गर्न प्रशासनबाट पत्र प्राप्त भएको छ, हामीले काम सुरु गरेका छौं, केही दिनमै मूल्यांकन विवरण प्रशासनलाई बुझाउने हाम्रो तयारी छ ।’
नक्सामा उक्त जग्गामा बाटो नभए पनि जनताको मागअनुसार नगरसभाले बाटो निकाल्ने निर्णय गरेकाले रुख फडानी गरिएको मधुवन नगरपालिका–८ का वडाध्यक्ष तथा नगर प्रवक्ता मेकबहादुर गुरुङले दाबी गरे ।
