विदेशमा सिकेको सीपले स्वदेशमा उद्यम

वैदेशिक रोजगारी खोज्दै साउदी, मलेसिया, कतार लगायतका मुलुक पुगेका युवा त्यहीँ सीप सिकेर स्वदेश फर्केपछि उद्यमी बनेका छन् । बजार र गाउँमै उद्यमी बनेर अरूलाई पनि रोजगारी दिएका छन्।

असार २१, २०८२

वीरेन्द्र केसी

Enterprises at home with skills learned abroad

अर्घाखाँची — मालारानी गाउँपालिका–५ बाँगी कुझेरी गाउँका राजु बस्नेत १७ वर्षअघि साउदीको सुपर मार्केटमा काम गर्थे। त्यहाँ केक, ब्रेड लगायतका थरीथरीका बेकरीका परिकार उत्पादन हुन्थ्यो। साउदीमा आठ वर्ष बस्दा बेकरी बनाउने तरिका सिकेर घर फर्किए । स्वदेशै बेकरी उद्योग सञ्चालन गर्ने योजना बनाए ।

०६४ सालतिर १५ सय रुपैयाँ लगानी गरेर सन्धिखर्कमा पाउरोटी बनाउन सुरु गरे। झोला र बोरामा बोकेर सार्वजनिक गाडी चढेर गाउँ गाउँमा डुलाएर बिक्री गरे।

‘मैले गाउँमा बोकेर डुलाउँदा त्यति बेला पाउरोटी नयाँ खाजा बन्यो,’ उनले भने, ‘चियासँग खाजाको रूपमा खान थाले । बिरामीलाई औषधि खुवाउन दूधसँग पाउरोटी खाजा बन्यो।’ गाउँमा पाउरोटीमा माग धेरै भयो । सन्धिखर्क फर्केर पाउरोटी बनाउने र बोरामा बोकेर गाउँमा डुल्दै बेच्दै गर्दा राम्रो आम्दानी भएपछि उनले उत्पादन बढाए ।

ब्रेड, समोसा लगायतका परिकार थपे । दोकान खोले । श्रीमती रोष्मालाई पनि सिकाएर परिकार बनाउन लगाए । श्रीमतीले पाउरोटी, ब्रेड, समोसा बनाउने, श्रीमानले बोकेर गाउँमा डुलाएर बेच्ने क्रम निरन्तर रह्यो । ५ वर्षपछि बीचमा ठुलो मेसिन किने । ५ जनाले उनको उद्योगमा रोजगारीमा छन् ।

कोभिडले केही समय बजारमा खपत नभएपछि पछिल्लो समय माग लयमा फर्किएको छ । पहिला पाउरोटी उद्योग थियो । अहिले बर्थ डे केक उत्पादन थपेपछि उद्योगको नाम अर्घाखाँची बेकरी एन्ड केक सप उद्योग बनाएका छन् ।

‘अहिले पनि म झोलामा बोकेरै पहिले गाउँमा बेकरी डुलाउँछु,’ उनले भने, ‘१७ देखि २५ वर्ष उमेर समूहका युवायुवतीको जन्मदिनमा केक धेरै बिक्री हुन्छ।'

एउटा केकलाई ६ सय देखि १५ सय रुपैयाँमा बिक्री गर्छन् । यही उद्योगको आम्दानीले सन्धिखर्कमा चार तले दुई वटा घर निर्माण गरेका छन् । दुई छोराले बुटवलमा साइन्स विषयमा उच्च शिक्षा लिइरहेका छन्। ‘कारोबार वर्षमा २५ लाख रुपैयाँको छ,’ उनले भने, ‘पसलमा भन्दा बाहिर डुलाउँदा मार्केट राम्रो छ । मेरो भविष्य यसैमै उज्ज्वल बन्यो।’ 

पाणिनि गाउँपालिका–७ अड्गुरीका इन्द्रबी खनालले दुबईमा १४ वर्ष बिताए । त्यहाँ होटलको इन्चार्ज नै थिए । महिनामा नेपाली डेढ लाख रुपैयाँ कमाई गर्थे । चार वर्ष देखि उनी गाउँमै अड्गुरी मःम सेन्टर  सञ्चालन गरेर आफू सहित दुई युवालाई रोजगारी दिएका छन् ।

‘मेरो दुबईमा महिनामा नेपाली डेढ लाख रुपैयाँ कमाई गर्थे, १४ वर्ष भयो अर्काको देशमा कति काम गर्नु ? जन्मभूमि फर्कें र गाउँ मःम सेन्टर खोलेँ,’ उनले भने, ‘त्यहाँ होटल इन्चार्जको रूपमा काम गर्थे ।  मःम सहितका खाना तथा खाजाका परिकार बन्थे, १४ वर्ष दुबईमा सिकेको काम सीपलाई गाउँ फर्की उपयोग गरेँ ।’

उद्योगबाट आफू पनि काम गरेर तलब खान्छन् । मःम, परौँठा बिक्री गरेर महिनामा ४ लाख रुपैयाँको कारोबार हुन्छ । तीन जनाको तलब लगायत सबै खर्च पुगेर ४० हजार रुपैयाँ उद्योगको खातामा बचत हुन्छ । चिकन मःम को लागि गाउँमै दुई जना युवालाई कुखुरा फार्म खोल्न लगाएका छन् । उनले मःम बनाउन कुखुरा खरिद गरिदिन्छन् ।

उत्पादित मःम प्याकेट गरेर बेच्छन् । ३५ लाखको लगानीमा उद्योग सञ्चालन गरेका हुन्। एक घण्टामा ३६ सय ३० वटा मःम का पिस उत्पादन गर्ने मेसिन ल्याएका छन् । ‘अड्गुरी, खिदिम, पणेना लगायतका गाउँ र सन्धिखर्क बजारमा मःम खपत हुन्छ,’ उनले भने, ‘जति उत्पादन गर्‍यो, त्यति नै खोसाखोस छ । एक दिनमा चार सय प्लेट बोसोरहित मःम तयार हुन्छ, प्याकेजिङ गरेको मःम चार महिनासम्मलाई र परौठा दुई महिनासम्म खान मिल्छ ।’ 

पैसा कमाएपछि धेरै सहर बस्छन् । गाउँमै उद्योग खोलेपछि सबै दङ्ग छन् । उनको सेन्टरमा रेडिमेड फुड मःम, लच्छा परौठा, सिक कबाब, चिकन टिक्का, चिकन तन्दुरी र चाउमिन उत्पादन हुन्छ । ‘दुबईमा जस्तो महिनामा डेढ लाख कमाई त मेरो यहाँ छैन,’ उनले भने, ‘केही युवा मेरो बिजनेसबाट यहीँ बसेका छन् । थोरै कमाई भए पनि मलाई गाउँमै आनन्द छ, दुबईमा म रोजगार थिएँ, यहाँ मैले अरूलाई पनि रोजगारी दिएको छु ।’

उनले भिसा रद्द गरेका छन् । यही बिजनेसलाई थप विस्तार गर्दै उत्पादन बढाउने योजनामा छन् । ‘मैले युवालाई रोजगारी खोज्दै विदेश भतारिनु पर्दैन, गाउँमै केही व्यवसाय गर्न सकिन्छ भनेको छु,’ उनले भने । भुमिकास्थान नगरपालिका–९ ढिकुराका कृष्ण विक एसएलसी उत्तीर्णपछि १६ वर्षमै रोजगारी खोज्दै भारत पुगे । त्यसपछि गाउँकै एक जना दाइसँग घुम्न भन्दै भारतको दिल्ली गए । दिल्लीमै जागिर सुरु गरे ।

त्यहीँ प्रमाणपत्र तह पढ्न थाले । घरमा आर्थिक समस्याका कारण भारतमा नोकरी गर्दै पढ्दै गर्नुपर्ने बाध्यता थियो । दिल्लीमा एक कम्पनीमा जागिर गर्दै पढ्दै गर्दा केही समयपछि म्यानेजरको जिम्मेवारी पाए । पदीय जिम्मेवारी भएपछि पढ्न भन्दा पैसा कमाउनैतिर उनको ध्यान गयो ।

१५ वर्ष दिल्लीमै काम गर्दा दिल्ली–अर्घाखाँची चलाउने गरी एउटा जिप किने । पर्यटन गाडी थियो । घरमा आउने प्रवासी नेपालीलाई ल्याउने र नोकरीको लागि भारत जानेलाई लैजाने काम भयो । दिल्ली पुगेपछि घर र डेरामै गाडीलाई यात्रु पुर्‍याइदिनेसम्मको सेवा दिइयो । गाडी किनेपछि विकको ध्यान जागिर भन्दा गाडीतिरै गएपछि जागिर छाड्नुपर्‍यो । ३ वर्षसम्म सन्धिखर्क–दिल्ली गाडी चल्यो । त्यसपछि गाडी बिक्री गरियो । 

‘गाडी बिक्री गरेपछि दुबई गएँ, त्यहाँ आइटी क्षेत्रमा काम गरेँ,’ उनले भने, ‘छ महिनापछि म्यानेजरको जिम्मेवारी पाएँ ।  ८ वर्षसम्म निरन्तर काम गरेँ ।’ दुबईमा नयाँ घर, होटलमा इन्टरनेट, सिसी क्यामरा जडान, स्याटलाइट जडाको काम गरेको उनले बताए । त्यहीँ कम्पनीबाट कामको लागि ओमन, कतार, इराक र दुबईका ७ वटा प्रदेश राज्यमा पुगेर फिल्डमा काम गरेको विक बताउँछन्।

नेपाल आएपछि २०७० सालमा सन्धिखर्कमा अर्घाखाँची आइटी सोलुसन नेटवर्किङ काम सुरु गरेका उनले ०७४ सालमा इन्फोनेट कम्युनिकेसन प्रा.लि. खोलेर सन्धिखर्क सहित प्युठान, गुल्मीका गाउँ–गाउँमा इन्टरनेट विस्तार, स्याटेलाइट, सिसी क्यामरा, नेटवर्किङ विस्तार गरे । अहिलेसम्म ३२ सय भन्दा बढी सेवाग्राही छन् । नेटवर्किङमा अहिलेसम्म १ करोड रुपैयाँ भन्दा बढी लगानी भएको उनले बताए । 

०७८ सालमा उनले ढिकुरा गाउँमा श्री कालिज एकीकृत कृषि तथा पशुपक्षी फार्म खोले । ४० लाख रुपैयाँ लगानीमा सञ्चालन फार्म भित्र हाँस,  टर्की, लौकाट, लोकल कुखुरा, बाख्रा, बंगुर, बट्टाई, कडकनाथ कुखुरो, बंगुर पालन व्यवसाय फस्टाएको छ । फार्ममा २ जना र इन्टरनेटमा ५ जना गरी ७ जनाले रोजगारी पाएका छन् ।

कृष्णले आफै फार्ममा पुगेर काम गर्ने, बाख्रा चराउने, घाँट काट्ने काम गर्छन् । उनले महिनाका झण्डै १० लाख बराबरको कारोबार गर्छन् । ‘भारत देखि विदेशमा पुगेर सीप सिकेँ,’ उनले भने, ‘गाउँ फर्केर काम गरेको छु । सात जनालाई रोजगारी दिएको छु ।’ 

 २० वर्ष दुबईमा बसेर घर फर्केका सन्धिखर्क नगरपालिका–९ अर्घाका बाबुराम भुसालले सन्धिखर्कमा कृषि उद्यम, मिनिरल वाटर, सुपर मार्केट, निजी स्कुल, होटल व्यवसायमा गरी झण्डै १० करोड लगानी गरेका छन् । ०७० सालमा स्वदेश फर्केका उनले सुरुमा सन्धिखर्कमा जग्गा प्लटिङमा गरेर घडेरी बिक्री गरे । तीन वर्षपछि अर्घा मिनिरल वाटर सञ्चालनमा ल्याए । सन्धिखर्कको साथी होटल र मदरल्याण्ड स्कुलमा उनी सञ्चालक छन् । ०७४ मा बन्द भएको मदरल्याण्ड बोडिङ स्कुललाई पुनः सञ्चालन गरे । 

एनको अर्घा–नरपानी कृषि बहुउद्देश्यीय संस्था गठन गरेर ८० रोपनी खेतमा तरकारी उत्पादन भएको छ । भविष्यमा एग्रो टुरिजम रिसोर्ट खोल्ने योजना उनको छ।  ‘प्राकृतिक उपचार केन्द्र खोल्ने तयारी छ, विना औषधि पञ्चत्वबाट उपचार गर्न हो,’ उनले भने, ‘आगो, पानी, आकाश र माटो पञ्चत्वबाट उपचार सेवा सञ्चालन गर्ने लक्ष्य छ । अहिले ३० रोपनीमा फलफूल  लिची, कागती, मेवा, आँप, अनार । ३० रोपनीमा तरकारी खेती र २० रोपनीमा धान उत्पादन हुन्छ ।’

कृषि फार्ममा उत्पादन भएको तरकारी उपभोक्ताको सहजताको लागि सन्धिखर्कमा एए सुपरमार्ट सञ्चालन गरिएको छ । तरकारी, फलफूल, खाद्यानसँगै लत्ताकपडा, कस्मेटिक, जुत्ता चप्पलको व्यवसाय छ । भुसालको सबै व्यवसायमा गरी अहिलेसम्म ५० जनाले जतिले रोजगारी पाएका छन् । 

दुबईमा बसेको अनुभवलाई आफ्नै ठाउँमा केही गर्ने र सफलतामा सफल बन्दै अगाडी बढ्नुपर्दछ । जे गरिन्छ, आफ्नै ठाउँमा घरपरिवार, छरछिमेक,  दाजुभाइसँगै बसेर काम गर्नुपर्छ । आगामी दिनमा सबै व्यवसायलाई व्यवस्थापन गर्दै थप नयाँ काम गर्ने लक्ष्य रहेको छ । 

अर्घाखाँची तराइका जिल्लासँग पनि जोडिएकाले यहाँको उत्पादन तराइमा निर्यात गर्न सहज छ । ‘वैदेशिक रोजगारीबाट फर्केर सदरमुकाम र गाउँमै साना उद्योग खोल्ने युवाको आकर्षण बढ्दो छ,’ उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रले भने, ‘बेकरिज, कृषि उद्यमतर्फ खसी बोका कुखुरा, टर्की, लौकाट सहितका फार्म, सीपमूलक व्यवसाय, खाजाका परिकार देखि सानो लगानीका उद्यमतिर युवा लागेका छन् ।

विदेशमा कमाएको पैसाले थोरै लगानीमा पनि गाउँमा फर्निचर उद्योग, पर्यटन व्यवसाय लगायतका क्षेत्रको लगानीले स्वदेशमै र त्यसमा गाउँमै पनि स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण वैदेशिक रोजगारबाट फर्किएका युवाले देखाएका छन् ।’ राज्यले उद्योग दर्ता, व्यवसाय सञ्चालन गर्दा पर्ने झन्झट, तीन वटै सरकारलाई कर जस्ता विषयमा सहजता ल्याउनुपर्ने उनले बताए ।  

वीरेन्द्र केसी केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully