बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

असार २०, २०८२

रामप्रसाद चौहान 

199 incidents of sexual violence in Bardia in one year

बर्दिया — करिब एक वर्षको अवधिमा जिल्लामा १ सय ९९ लैंगिक हिंसाका घटना घटेको पाइएको छ । आर्थिक वर्ष ०८१/०८२ को साउन १ गते देखि असार १९ गतेसम्म १ सय ९९ लैंगिक हिंसाका घटना घटेको पाइएको हो ।

बर्दिया अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसिएमसी)को वार्षिक समीक्षामा शुक्रबार उक्त तथ्यांक सार्वजनिक गरिएको छ ।

चालु आर्थिक वर्ष ०८१/०८२ को साउन देखि असार १९ गतेसम्म पुरुष ८ र महिला १ सय ९१ गरी जम्मा १ सय ९९ जना लैंगिक हिंसामा परेर ओसिएमसीमार्फत निःशुल्क सेवा लिएको अस्पताल ओसिएमसीकी सम्पर्क व्यक्ति सपना बाठा मगरले जनाइन् ।

‘ओसिएमसीमा आफैं आउने १ सय २०, प्रहरीबाट ७१, गैरसरकारी संस्थाबाट ५, स्वास्थ्य चौकीबाट २, सेवा केन्द्रबाट १ जना हिंसा पिडित आएर सेवा लिएका छन्,’ उनले भनिन्,‘त्यसैगरि पीडितलाई सेवा दिइ आफन्तलाई १ सय ८, प्रहरीलाई ७२, माइती नेपाललाई ५, सेवा केन्द्रलाई ४, उपचारको लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ९ र लिगल एडप्सनमा १ जनालाई पठाइएको छ ।’ 

रेपका ३४, यौन दुर्व्यवहार १७, कुटपिट ४४, बालविवाह ८९, बाँच्ने अधिकारबाट बञ्चित १, मानसिक यातना १३ र अन्य १ जना लैंगिक हिंसाबाट प्रभावित भएको देखिन्छ । 

गुलरिया ८८, बाँसगढी ९, बारबर्दिया १८, मधुवन ३१, ठाकुरबाबा ५ र राजापुर नगरपालिमा १५ जना लैङ्गिक हिंसामा परेको देखिन्छ भने गेरुवा ९ र बढैयातालका १६ जना लैंगिक हिंसामा परेर ओसिएमसीमा सेवा लिएका छन् । त्यसैगरि बाँकेका ५, सुर्खेत, जुम्ला, रुकुमका एक एक जना लैंगिक हिंसामा परेको देखिन्छ । आठ वटै पालिका मध्ये सबै भन्दा बढी गुलरियामा लैंगिक हिंसाका घटना भएको ओसिएमसीको तथ्यांकले पुष्टि गरेको छ । 

लैंगिक हिंसामा परेका पीडितलाई ओसिएमसीले निःशुल्क रूपमा स्वास्थ्योपचार, मानसिक एवंम् मनोसामाजिक परामर्श, कानुनी उपचार, सुरक्षा, आश्रय र पुनर्स्थापनाको सेवा तथा हिंसा नियन्त्रणमा योगदान पुर्‍याउने उद्देश्यले ओसिएमसीले काम गरिरहेको छ । 

गुलरियामा लैंगिक हिंसा बढी देखिएकोले समन्वय गरी जनचेतना फैलाउनु पर्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘अन्य पालिकाबाट पनि ओसिएमसीमा पीडितहरू आउन सकेका छन् कि छैनन्, त्यसतर्फ ध्यान दिन जरुरी छ,’ प्रजिअ पौडेलले भने, ‘हिंसाका घटना समाजमा नलुकाएर कानुनी दायरामा ल्याउनुपर्छ ।’

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully