रोल्पामा उत्कृष्ट ४ कृषक सम्मानित

असार १९, २०८२

काशीराम डाँगी

Best 4 farmers honored in Rolpa

काठमाडौँ — रोल्पाका उत्कृष्ट ४ कृषकलाई सम्मानित गरिएको छ । रोल्पास्थित भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बिहीबार लिबाङमा आयोजित कार्यक्रममा कृषकलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

जिल्लाभरका कृषकमध्ये छानिएका पशुपालक कृषकलाई सम्मानित गरिएको पशु सेवा विज्ञ केन्द्र प्रमुख डा शंकर न्यौपानेले बताए । सम्मानित हुने कृषकहरुमा बाख्रा पालक गंगादेव गाउँपालिका-२ जिनाबाङका लोकान वली, बंगुरपालक त्रिवेणी गाउँपालिका-२ नुवागाउँका मणिराम घर्तीमगर, भैँसीपालक सुनिल स्मृति-३ मिझिङकी लतादेवी विष्ट र गाईपालक रोल्पा नगरपालिका-६ कोटगाउँकी अनकुमारी घर्ती मगर छन् । 

सम्मानितमध्ये वली सर्वोत्कृष्ट कृषक हुन् भने अन्य तीन जना उत्कृष्ट कृषकका रूपमा छानिएका हुन् । कार्यालय प्रमुख डा न्यौपानेले सानो रकमले सम्मान गरे पनि कृषकलाई उत्साहित बनाउन खोजिएको स्पष्ट पारे ।

सम्मानित कृषकमध्ये जिनाबाङका वलीले माउ र पाठापाठी गरेर ३ सय ५० बाख्रा पालेका छन् । उनी जिल्लामा व्यावसायिक रूपमा बढी बाख्रा पाल्ने एक्ला कृषक हुन् । 

Best 4 farmers honored in Rolpa

त्यस्तै नुवागाउँका घर्तीमगरले जिल्लामै ठूलो बंगुरपालन संचालन गरेका छन् । उनीसँग करिब ५० माउ बंगुर छन् । मिझिङकी लतादेवीले दुर्गममा पनि व्यावसायिक भैंसीपालन गरेकी छन् । उनी काममा एक्लै खट्छिन् । 

रोल्पा नगरकी मनकुमारी घर्तीले पनि गाईपालन गरेर परिवार व्यवस्थापन गरेकी छन् ।

जिल्लाभरका कृषकमध्ये छनौटमा परेका ११ जना कृषकबाट उत्कृष्ट ४ जनालाई छानिएको हो । सफल कृषकलाई रोल्पा नगरका प्रमुख सुरेन्द्र घर्तीमगर, जिसस उपप्रमुख कर्मलाल परियार तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बधाई एवं सम्मान व्यक्त गरेका थिए ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully