अन्नबालीजति वन्यजन्तुलाई, कृषकका हातमा फलफूलका बिरुवा

असार १९, २०८२

वीरेन्द्र केसी

As crops to wildlife, fruit plants to farmers

अर्घाखाँची — गत वर्षहरुमा बाँदर, बँदेल लगायतका वन्यजन्तुले अन्नबाली नोक्सान गरिदिएका जिल्लाका ६० जना पीडित कृषकलाई डिभिजन वन कार्यालयले फलफूलका बिरुवा वितरण गरेको छ । बिरुवा लिनेमा चितुवाको आक्रमणबाट मानवीय क्षति भएका कृषक पनि रहेका छन् ।

बिहीबार वन कार्यालयमा ६० जना कृषकलाई जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइराला, प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल र वन कार्यालय प्रमुख मोहन श्रेष्ठले बिरुवा वितरण गरेका हुन् । वनले विभिन्न ठाउँमा उत्पादन भएका टिमुर लगायत काठजन्य र फलफूलका सयौं विरुवा कृषकलाई वितरण गर्दै आएको सूचना अधिकारी केशर खड्काले बताए ।

पीडित कृषकले वन्यजन्तुले खेतबारीमा उत्पादन हुन थालेको अन्नबाली नोक्सान गरिदिएर खसाप पारिदिएपछि वन कार्यालयमा सहयोगको माग गरेका थिए । मागकै आधारमा वनले वन्यजन्तुले क्षति नपुर्‍याउने फलफूलका बिरुवा रोप्न आग्रह गरेको थियो । फलफूल बिक्री गर्ने गरी बिरुवा हुर्काउन वनले अनुरोध पनि गरेको छ ।

‘विभिन्न नियम, कानुनले वन्यजन्तु मार्न पाइँदैन,’ प्रजिअ अर्यालले भने, ‘बाँदर, बँदेलसहितका वन्यजन्तुले अन्नबालीमा धेरै नोक्सान पुर्‍याएको गुनासो छ । टिमुर, तेजपात लगायत वन्यजन्तुले क्षति नपुर्‍याउने बालीको विकल्पमा जानु उपयुक्त हुन्छ ।’

गाउँका कृषकले उत्पादन गर्दै आएको अन्नबाली गत वर्षमा वन्यजन्तुले नोक्सान गरिदिएको थियो । राहत स्वरुप डिभिजन वन कार्यालयले कृषकलाई आँप, लिची, सुन्तला, एभोगाडो लगायत फलफूलका बिरुवा उपलब्ध गराएको हो । विरुवा पाएपछि कृषक खुसी भएका छन् । बाँदर, बँदेलले अर्घाखाचीमा कृषि उत्पादनलाई नोक्सान गरिदिएर हैरान बनाएको छ । 

वीरेन्द्र केसी केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully