पाल्पाको रामपुर क्षेत्रमा काठ चोरी तस्करी बढ्यो 

नियन्त्रणका लागि डिभिजन वन कार्यालयको सचेतना अभियान 

असार १८, २०८२

माधव अर्याल

Timber theft and smuggling increased in Rampur area of ​​Palpa

पाल्पा — असार ४ गते मध्यरातमा प्रहरीले लु ४ त ५७३८ नम्बरको ट्याक्टरमा ३० क्युफिट काठ बरामद गर्‍यो । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी गस्ती टोलीले रामपुर नगरपालिका–१० गेझा चिउरीबजारस्थित कालीगण्डकी कोरिडोर सडकखण्डमा टेक्टरको ट्रलीमा लोड गरी बिना इजाजत ल्याएको वन पैदावार सालको काठ नौ थान गोलिया बरामद गरेको हो ।

प्रहरीले काठ र ट्याक्टर बरामद गरी ट्याक्टर चालकसहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि सब–डिभिजन वन कार्यालय रामपुर पाल्पामा बुझाएको थियो । 

असार २ गते पनि मध्य रातमा रामपुर नगरपालिका–८, भुजातस्थित कालीगण्डकी कोरिडोर सडक खण्डको बिरौटा जाने कच्ची भित्री सडकमा ट्याक्टरसहित सालको काठको गोलिया बरामद भएको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले लु ४ त ७७०० नम्बरको ट्रलीसहितको ट्याक्टरमा शंका लागि खानतलासी गर्दा बिना इजाजत वन पैदावार सालको काठ गोलिया २१ थान बरामद गरेको थियो । ३९.९८ क्यूफिट अवैध रुपमा ल्याएको अवस्थामा बरामद सालको काठ र चालक सहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि सब–डिभिजन वन कार्यालय रामपुर पाल्पामा बुझाइएको थियो ।

रामपुर नगरपालिका क्षेत्रमा काठ चोरी निकासीका यी केही उदाहरण मात्र हुन् । यसअघि जेठ २३ गते पनि इलाका प्रहरी कार्यालय र प्रहरी चौकी हुँगीले खयर प्रजातिको २१२ थान गोलिया अवैध ओसारपसार गर्दै गर्दा बरामद गरेको थियो । रामपुर नगरपालिका–१०, झम्माखोला बगरमा एक लाख पचासी हजार मूल्य पर्ने खयर गोलिया बरामद गरेको थियो । जेठकै २९ गते हुग्दी खोला घाटमा खयर प्रजातिको १५४ गोलिया खयरको काठ बरामद गरेको थियो । १७२.९५ क्युफिट खयरको मूल्य एक लाख बहत्तर हजार रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । खयर अवैध रूपमा कटान गरी बेवारिसे अवस्थामा छोडिएको अवस्थामा फेला परेको हो । उक्त काठ बरामद गरी आवश्यक कारबाही र थप अनुसन्धानका लागि सब–डिभिजन वन कार्यालय रामपुर पाल्पामा बुझाएको छ ।

Timber theft and smuggling increased in Rampur area of ​​Palpa

रामपुर नगरपालिका क्षेत्रमै विना इजाजत वन पैदावार ओसार पसार गर्ने रामपुर नगरपालिका–६, का सीताराम देवकोटालाई यसअघि मुद्दा दायर गरिएको छ । ७० थान सालको गोलिया र ट्याक्टरसहित नियन्त्रणमा लिएर मुद्दा अघि बढाएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । देवकोटालाई २ लाख जरिवाना र बिगो १ लाख १० हजार ७१८ रुपैयाँ कायम भएको छ । गाडीको धरौटी १० हजार र १ हजार धरौटी माग दाबीसहित मुद्दा चलेको वरिष्ठ वन अधिकृत मेघनाथ काफ्लेले जानकारी दिए । रामपुर, गेझा, गाँडाकोट, बाँकामलाङ क्षेत्रमा यसअघिका वर्षमा पनि अवैध काठ ओसारपसार गरेको भेटिएको थियो । 

प्रहरी निगरानी बढाउने र वन कर्मचारीले सक्रियता देखाउने हो भने अझ धेरै अवैध काठ बरामद गर्न सकिने स्थानीय उपभोक्ताले बताए । राजनीतिक दलका पहुँचवाला काठ व्यवसायी छन् भने फर्निचर व्यवसायीलाई ल्याएर बिक्री गर्ने पनि भेटिएका छन् । कतिपयले ट्याक्टर प्रयोग गर्ने तर मुख्य मालिक नै पक्राउ नपर्ने समस्यासमेत यहाँ छन् । निस्दीको मित्याल, ज्यामिरे, गल्धा क्षेत्रमा पनि सालको काठको अवैध ओसार पसार हुने गर्छ । पछिल्लो समयमा कालीगण्डकी कोरिडोर सडक क्षेत्रमा सिसौ, खयर प्रजातिका काठको अवैध ओसारपसार हुने गरेको छ । अवैध काठलाई वैध बनाएर समेत बिक्री वितरण गरेको स्थानीयको गुनासो छ ।  

कालीगण्डकी कोरिडोर अन्तर्गत रम्भा गाउँपालिका–१, हुँगी अमिलटार सामुदायिक वनमा खयर जातका काठ अवैध रूपमा काटिएका बरामद भएको छ । ‘कालीगण्डकी कोरिडोर सडक क्षेत्र र रामपुर नगरपालिका, रम्भाका विभिन्न स्थानमा बढी अवैध ओसारपसार बढेको देखिएको छ,’ डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले भने, ‘त्यसैले यस क्षेत्रमा प्रहरी र वन कर्मचारीलाई निगरानी बढाउन भनिएको छ ।’ 

चोरी तस्करी नियन्त्रण गर्न सचेतना

डिभिजन वन कार्यालयले वन पैदावारको अवैध ओसारपसार बढेपछि रामपुर नगरपालिका क्षेत्रका जनप्रतिनिधि र स्थानीय बासिन्दासँग अन्तरक्रिया गरेको छ । सब–डिभिजन वन कार्यालय रामपुरको समन्वयमा रामपुर नगरपालिकाको वडा नम्बर ७, ८ र १० का जनप्रतिनिधि, काठ व्यवसायी, काठ व्यापारी, स्थानीय सामुदायिक वन उपभोक्ता समूह पदाधिकारीलाई अवैध ओसारपसार र यसबाट हुने सजायका विषयमा जानकारी गराएको हो । 

सिनियर डिभिजनल वन अधिकृत नारायणदेव भट्टराईले वन ऐन, कानुन, कसुर, दण्ड सजायका विषयमा जानकारी गराए । वनको प्रयोग, यसमा देखिएका कानुनी उल्झन र आगामी दिनमा यसलाई कसरी सरलीकृत गर्न सकिन्छ भन्ने विषयमा सचेत गराए । जिल्ला समन्वय समितिका प्रमुख वन ऐन, नियम, उपभोग गर्ने उपभोक्ताबीच हुने अन्तरक्रिया र सचेतना कार्यक्रमले आगामी दिनमा चोरी, निकासी हुनबाट जोगाउन सकिने बताए । जनप्रतिनिधि, व्यवसायीबीच भएको छलफलले आगामी दिनमा ऐन नियमको जानकारी हुँदा चोरी निकासीमा कमी आउनुपर्ने उनले बताए । 

Timber theft and smuggling increased in Rampur area of ​​Palpa

इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख रामबहादुर नेपालीले काठको चोरी निकासी, रातीमा तस्करी गर्ने गरेको बताए । उनले कानुनी सचेतना नभएर वा नबुझेर अवैध ओसार पसार भएकाले उपभोक्ता समितिका साथै व्यवसायीलाई सचेत गराउनुपर्ने बताए । ‘चोरी, निकासी गर्दा हुने कारबाही, सजाय, ऐन, कानुनको विषयमा व्यापारी, व्यवसायीलाई सचेत गराउनु जरुरी देखिएको छ,’ उनले भने, ‘स्थानीय सामुदायिक वन उपभोक्ता समूहलाई समेत सचेत गराउनुपर्छ ।’ 

सब–डिजिभन वन कार्यालय रामपुरका प्रमुख तथा वरिष्ठ वन अधिकृत मेघनाथ काफ्लेले रामपुर क्षेत्रमा पछिल्ला समयमा देखिएका चोरी, तस्करीका घटनाले वन कर्मचारी, प्रहरी सबैलाई नकारात्मक सन्देश दिएको बताए । ‘त्यसैले यस विषयमा अन्तरक्रिया गरेर यस्ता घटनालाई न्यूनीकरण गराउनुपर्ने अवस्था आएको छ,’ उनले भने । रामपुर नगरपालिका–७ का वडाध्यक्ष देवराज तिवारी, ८ का वडाध्यक्ष दिनेश अर्याल लगायत स्थानीयले वन ऐन, नियम, कसुर सजाय, चोरी तस्करीका विषयमा सचेतनामूलक कार्यक्रमले गर्दा आगामी दिनमा चोरी, निकासी, अवैध ओसारपसारमा कमी आउने बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully