लुम्बिनी भित्रिएका विद्युतीय सवारीमा पाँच वर्षपछि हरियो प्लेट

नेपाल भित्रिएको १६ महिनापछि सरकारी नम्बर राखिएका बस–भ्यानले पाँच वर्षपछि बल्ल पर्यटक चढ्ने हरियो नम्बर प्लेट पाए 

असार १७, २०८२

मनोज पौडेल

Green plate after five years on electric vehicles entering Lumbini

काठमाडौँ — विश्व सम्पदास्थल लुम्बिनीमा पर्यटकलाई सुविधा दिन ल्याइएका विद्युतीय बस र भ्यानले करिब ५ वर्षपछि हरियो नम्बर प्लेट पाएका छन् । 

नेपाल भित्रिएको करिब १६ महिनापछि सरकारी नम्बर (सेतो) प्लेट पाएका बस र भ्यानले पाँच वर्षपछि बल्ल पर्यटक चढ्ने हरियो नम्बर प्लेट पाएका हुन् । 

संघीय सरकार, प्रदेश सरकार र यातायात व्यवस्था कार्यालयबीच नीतिगत अस्पष्टता र अपर्याप्त कानुनका कारण बस र भ्यानले हरियो नम्बर प्लेट पाउन सकेका थिएनन् । लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीले अदालतमा रिट दायर गरेपछि हरियो नम्बर प्लेट जोड्न सम्भव भएको हो । 

बस र भ्यानलाई हरियो नम्बर प्लेट दिन माग गर्दैर् लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलका बीए एलएलबी अध्ययनरत रोशन घिमिरे, सिमाना थापा क्षेत्री, नवीन खनाल, प्रविन तिवारी र कुलदीप तिवारीले परमादेशलगायत उपयुक्त आदेश माग गर्दै गत असोजमा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट दायर गरेका थिए । 

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लुम्बिनी विकास कोष मातहत रहेका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरी सञ्चालन गर्न परमादेश जारी गरेको थियो । न्यायाधीशद्वय राजेश्वर तिवारी र पुण्यशिला दवाडी घिमिरेको संयुक्त इजलासले सवारीसाधनलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी पर्यटन प्रयोजनका लागि सञ्चालन गर्न गत चैत ११ मा परमादेश जारी गरेको थियो । 

पर्यटन प्रयोजनका लागि हस्तान्तरित ५ बस र १४ भ्यानसहित १९ विद्युतीय गाडीलाई सेतो प्लेटबाट हरियोमा परिवर्तन गरी उद्देश्यअनुसार सञ्चालन गर्न उच्च अदालतले एक महिनाको समय सीमा तोकेको थियो । परमादेश जारी भएको तीन महिनापछि गत साता यातायात व्यवस्था कार्यालय बुटवलले हरियो प्लेटको नम्बर दिएको छ । अझै पनि ती सबै गाडीले हरियो प्लेट पाउन सकेका छैनन् । एउटा बस र दुई वटा भ्यानले हरियो प्लेट पाएका छैनन् । दुई भ्यान दुर्घटनामा परेर बुटवलमा मर्मत भइरहेको छ । एउटा बसको भने अगाडिको सिसा फुटेको छ । 

बुद्ध जन्मस्थल लुम्बिनीलाई वातावरण प्रदूषणरहित बनाउन एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १४ भ्यान/कार र ५ बस ०७७ मंसिर र पुसमा लुम्बिनी ल्याइएको थियो । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully