५४ करोड ७५ लाख ८६ हजारको विनियोजन विधेयक र आर्थिक विधेयक पारित
पाल्पा — बगनासकाली गाउँपालिकाको १८ औं गाउँसभा सोमबार सम्पन्न भएको छ । गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले पेस गरेको आगामी आर्थिक वर्षका लागि ५४ करोड ७५ लाख ८६ हजार १ सय २८ रुपैयाँको विनियोजन विधेयक र आर्थिक विधेयक छलफलसहित पारित गरेको हो ।
गाउँपालिकाले आर्थिक विकासका लागि १ करोड ९७ लाख ९० हजार, सामाजिक विकासतर्फ ३२ करोड ४० लाख, ८७ हजार, पूर्वाधार विकास १० करोड ९ लाख ३५ हजार, सुशासन तथ अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ३६ लाख ७५ हजार बजेट विनियोजन गरेको छ । पालिकाले कार्यालय संचालन तथा प्रशासनिकतर्फ ८ करोड, ७५ लाख ९९ हजार १२८ रुपैयाँ बजेट विनियोजन गरेको उपाध्यक्ष पाठकले बताए ।
गाउँपालिकाभित्र रहेका ९ वडा वडालाई ३ करोड ६० लाख विनियोजन गरेको छ । गाउँपालिकाको चिर्तुङधारामा निर्माण भइरहेको १५ शैयाको आधारभूत अस्पतालको आगामी आर्थिक वर्षमा निमाएण सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिएको छ । लिफ्टिङ खानेपानी आयोजनाका मोटर बिग्रिई मर्मत नहुने अवस्था सिर्जना भएमा खरिद गर्न ६० प्रतिशत रकम अनुदान पालिकाले दिनेछ ।
अभिभावकविहीन बालबालिकालाई सहयोग गर्नेछ । बालबालिकाको स्याहार सम्भारका लागि गाउँपालिकाले सहयोग गर्नेउनले उपाध्यक्ष पाठकले बताए । बजेटमा अभिभावकविहिन बालबालिकालाई मासिक एक हजार रुपैयाँ राहत रकम उपलब्ध गराउनेछ । अवस्था हेरेर थप सहयोग गर्नेछ भने विद्यालय भर्ना हुन र आर्थिक अभावले अध्ययन गर्न नसक्ने गरिब, विपन्न र अपांगता भएका बालबालिकालाई विशेष छात्रवृत्ति र सहयोग उपलब्ध गराउनेछ । बाल बचाउ, बालसंरक्षण, बालविकास र बाल सहभागितासाग सम्बन्धी कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष पाठकले बताए ।
किशोरी क्लब गठन गरेर बालविवाह न्यूनीकरण अभियानलाई प्रभावकारी बनाउनेगरी बजेट विनियोजन गरेको छ । विद्यालयमा बालमैत्री वातावरण सिर्जना गरिनेछ । बालमैत्री व्यवहारलाई कडाइका साथ पालना गरिनेछ । बाल राहत उद्दार तथा पुनःस्थापना कोषलाई निरन्तरता दिइएको छ । बालमैत्री दीगोपना सुनिश्चितता घोषणा गरिनेछ । बालमैत्री कार्यक्रमका लागि १० लाख बजेट विनियोजन गरेको छ । बाँदर व्यवस्थापनका लागि ५ लाख बजेट विनियोजन गरिएको छ । बगनासकाली बालउद्यान तथा पार्क निर्माणका लागि ५ लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष पाठकले बताए ।
यसअघि गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले नीति तथा कार्यक्रम प्रमुख गर्दै बगनासकाली गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको बताइन् । आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा पछाडि परेका समुदायलाई उच्च प्राथमिकतामा राख्ने नीति तथा कार्यक्रम रहेको छ । कृषि तथा पशुपंक्षी, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, महिला बालबालिका, किशोर किशोरी, जेष्ठ नागरिकलाई प्राथमितामा राखिएको छ । त्यस्तै अपांगता तथा समाज कल्याण, महिला, बालबालिका युवा, भाषा, साहित्य, कला, संस्कृति तथा सम्पदा, भौतिक पूर्वाधार लगायतका क्षेत्रलाई समावेश गरी नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । संसदीय अभ्यासबाट सभा संचालन भएको प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले बताए ।
उत्कृष्ट कर्मचारी तथा खेलाडी सम्मानित
बगनासकाली गाउँपालिकाले सोमबार नै कर्मचारी तथा खेलाडीलाई सम्मान गरेको छ । गाउँपालिकाभित्रका वडासहित विभिन्न शाखामा रही लगनशील, कर्तव्यनिष्ठ एवम् इमान्दार कार्यसम्पादन गर्ने उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको हो ।
आठ जना कर्मचारी र एक खेलाडीसहित नौ जनालाई गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल लगायतले सम्मानपत्र, खादा, टोपी र नगदसहित सम्मान गरे । सम्मानित कर्मचारी शिक्षा शाखासहित वडा र विभिन्न शाखामा कार्यरत वरिष्ठ प्रशासन सहायक नारायण तिमिल्सिना, वडा नम्बर ८ का स्वास्थ्य चौकी प्रमुख सिनियर अहेव गोमबहादुर क्षेत्री, स्वास्थ्य शाखामा सिनियर अनमि पदमा कार्यरत संगीता थापा, पञ्जीकरण तथा सामाजिक सुरक्षा सेवा इकाक्षमा कार्यरत एमआईएस फिल्ड सहायक प्रेमबहादुर बगालेलाई सम्मान गरिएको छ ।
वडा नम्बर ५ मा वडा सहायक पदमा कार्यरत मदनलाल न्यौपाने, वडा नम्बर ३ का नायव प्राविधिक सहायक पदमा कार्यरत पशुसेवा प्राविधिक कमलादेवी खनाल, गाउँपालिका कृषि शाखामा नायव प्राविधिक पदमा कार्यरत कृषि प्राविधिक खिमराज कोइराला र वडा नम्बर २ का वडा सहयोगी सिंहबहादुर कुमाललाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँ सभाकै अवसरमा अण्डर फोर्टिन राष्ट्रिय क्रिकेट खेलमा टिममा परेर लुम्बिनी प्रदेशकै दोस्रो हुन सफल खेलाडी लेखनाथ न्यौपानेलाई समेत सम्मान गरिएको छ । गाउँपालिकामा ६ वर्ष बढी शिक्षा शाखामा रहेर कार्यसम्पादन गर्दै अनिवार्य अवकाश लिएका पूर्व शिक्षा शाखा प्रमुख गुनाराम खनाललाई बिदाइ गरिएको छ ।
