रुकुम पूर्व — सिस्ने गाउँपालिका–४ तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
जिल्ला सदरमुकाम रुकुमकोटबाट सिस्ने–३ पोखरा गाउँतर्फ आउँदै गर्दा तातोपानी नजिकैको गोरेटोमा मोटरसाइकल पल्टिँदा पोखराका दलप्रसाद सुनारको ज्यान गएको प्रहरीले बताएको छ ।
दुई जना सवार रहेको रा ३ प ४५३४ नम्बरको मोटरसाइकल बाटोभन्दा करिब दुई सय मिटर तल पुगेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवले बताए । मृतक सुनारसँगै सवार सोही ठाउँका भुवन केसीको अवस्था भने सामान्य रहेको यादवको भनाइ छ ।
मोटरेबल पुलसहितको बाटो अलि माथिबाट भएपनि उक्त बाटो लामो पर्ने र बर्खायाममा सवारी चलाउन पनि मुस्किल हुने भएकोले यस भेगका सर्वसाधारण नजिकै रहेको झेलुंगे पुल तरेर मोटरसाइकलमा वारपार गर्ने गरेको स्थानीय जनक केसीले बताए । पैदल हिँड्नका लागि बनाइएको यो बाटोमा मोटरसाइकल चलाउन जोखिमपूर्ण भएको पनि केसीको भनाइ छ ।
