बर्दिया — चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । गुलरिया नगरपालिका–७ का ३२ वर्षीय वीरेन्द्र यादव चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।
शनिबार बेलुका ५ बजेतिर गुलरिया नगरपालिका–६ स्थित सर्जु सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले यादवलाई आक्रमण गरेको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले बताए ।
‘घाइते यादवको अवस्था सामान्य रहेको छ,’ प्रमुख सुवेदीले भने, ‘टाउकोमा सामान्य चोट लागेको छ, बर्दिया अस्पतालमा उपचारपछि यादव राति नै घर फर्किसकेका छन् ।’
गत असार १ गते र जेठ २१ गते गुलरिया नगरपालिका–५ बालापुर स्थित थारु सामुदायिक वनबाट वनले दुई वटा समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिइसकेको छ ।
गत जेठ १४ गते गुलरिया नगरपालिका–५ बालापुरकी ७ वर्षीया सायरा थारुलाई चितुवाले आक्रमण गरी मारेको थियो । त्यसैगरी गत वैशाख १५ गते गुलरिया नगरपालिका–६ डम्पिङ साइड सर्जु सामुदायिक वनमा चितुवाले आक्रमण गरी ९ वर्षीया मेलिना खड्काको ज्यान लिएको थियो ।
