लुम्बिनी प्रदेशमा २४ प्रतिशत धान रोपाइँ

असार १५, २०८२

माधव अर्याल

24 percent paddy planting in Lumbini region

पाल्पा — असार १५ गतेसम्म लुम्बिनी प्रदेशमा २३.९६ प्रतिशत रोपाइँ सकिएको छ । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयका अनुसार असार १५ गतेसम्मको तथ्यांकअनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा रोपाइँ धमाधम भएको छ ।

अघिल्लो वर्षको तुलनामा मनसुनी वर्षा छिटो भएकाले पनि प्रदेशमा धान रोपाइँ अघिल्लो वर्षको तुलनामा बढी भएको हो । तर समयमै वर्षा भएको भए अहिलेसम्म ५० प्रतिशत बढी धान रोपाइँ भइसक्नुपर्ने निर्देशनालयका महानिर्देशक रामप्रसाद पाण्डेयले बताए । ‘पानी छिटो परेकाले पनि यस वर्ष केही प्रतिशतले धान रोपाइँ बढेको हो,’ उनले भने, ‘आकासे पानीको भल छोपेर रोप्ने गरिएको छ भने तराईमा बोरिङ गाड्ने (स्यालो, डिप ट्युबवेल) भएकाले पनि रोपाइँ गर्न छिटो भएको छ ।’

यो वर्ष गत वर्षको तुलनामा ५.४६ प्रतिशत बढी धान रोपाइँ भएको उनले बताए । गत वर्ष लुम्बिनी प्रदेशमा असार १४ गतेसम्म १८.०५ प्रतिशत धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ । धान रोपाइँ हुने कुल ३ लाख २ हजार ९३९ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ७२ हजार ५९८ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

लुम्बिनी प्रदेशको मुख्य खाद्यबालीअन्तर्गत धान खेती पर्छ । प्रदेशमा सबैभन्दा धेरै प्यूठानमा ८२ प्रतिशत रोपाइँ सकिएको छ । प्यूठानमा ५ हजार ३१८ हेक्टर क्षेत्रफल अर्थात् धान रोपाइँ हुने क्षेत्रको ८२ प्रतिशत सम्पन्न भएको छ । त्यस्तै, तराईका जिल्लामध्ये सबैभन्दा धेरै पश्चिम नवलपरासीमा धान रोपाइँ २० हजार ४८० हेक्टर क्षेत्रमध्ये ८ हजार १९२ हेक्टर अर्थात् ४० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ । कपिलवस्तुमा ६५ हजार ८७१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । यस वर्ष कुल क्षेत्रफलको ७ प्रतिशत अर्थात् ४ हजार ६११ हेक्टरमा मात्र रोपाइँ भएको छ ।

24 percent paddy planting in Lumbini regionरुकुम पूर्वमा धानखेती हुने ३ सय ५४ हेक्टर क्षेत्रफलमध्ये १ सय ८४८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ, जुन कुल धानखेती हुने क्षेत्रफलको ५२ प्रतिशत हो । रोल्पामा ४ हजार ५४७ हेक्टरमध्ये ७९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । अर्घाखाँचीमा ६ हजार ७६० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । यहाँ २१ प्रतिशत धान रोपाइँ भएको छ अर्थात् १ हजार ४२० हेक्टर क्षेत्रफलमा मात्र भएको हो । पाल्पामा कुल ८ हजार २१० हेक्टरमध्ये ८ सय २१ हेक्टर क्षेत्रफल अर्थात् १० प्रतिशतमा रोपाइँ सकिएको छ । तर कृषि ज्ञान केन्द्र पाल्पाले भने असार १५ को बेलुकिसम्म १८ प्रतिशत रोपाइँ सकिएको जानकारी गराएको छ ।

रुपन्देहीमा ४० प्रतिशत रोपाइँ सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६० हजार ५६७ हेक्टर क्षेत्रफलमध्ये २४ हजार २३० हेक्टरमा रोपाइँ भएको हो । निर्देशनालयका अनुसार धान उत्पादन हुने मुख्य जिल्ला मध्येको दाङमा १७ प्रतिशत रोपाइँ भएको छ । दाङ जिल्लामा धान रोपाइँ हुने कुल ३७ हजार २२५ हेक्टर क्षेत्रफलमध्ये ६ हजार ३२८ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।

बर्दियामा २८ प्रतिशत रोपाइँ सकिएको छ । बर्दियामा ५० हजार १५० हेक्टर क्षेत्रफलमध्ये १३ हजार ७१४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । बाँकेमा धान उत्पादन हुने ३४ हजार ७११ हेक्टर क्षेत्रफलमध्ये ३ हजार ८१८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुने गुल्मीमा ५ प्रतिशत रोपाइँ सकिएको छ । गुल्मीमा ७ हजार ५३९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। अहिलेसम्म ३९१ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ । पाल्पा गायत लुम्बिनी प्रदेशका सबै स्थानीय तह, विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठनले समेत धान दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

वर्षासँगै धान रोपाइँ धमाधम

आइतबार बिहानदेखि वर्षा भएपछि पाल्पाका किसान १५ असारका दिन खुसीयाली साटासाट गर्दै राष्ट्रिय धान दिवस मनाएका छन्। लामो खडेरीपछि केही दिनयता हलुका वर्षा र बिहानैदेखि पुनः वर्षा भएपछि किसान खेतमा व्यस्त भएका हुन्। कृषि ज्ञान केन्द्रलगायत पाल्पाका १० वटै स्थानीय तहले राष्ट्रिय धान दिवस किसानको खेतमा पुगेर मनाउन पाएका हुन्।

24 percent paddy planting in Lumbini regionयसैगरी कृषि ज्ञान केन्द्र तथा कृषि सेवा केन्द्र मदनपोखराले दमकडा माडीफाँटमा धान दिवस मनाएको छ। कृषि ज्ञान केन्द्रले राखेको कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका ज्ञवाली गैरे, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी, कृषि ज्ञान केन्द्रका प्रमुख अरविन्द मणि त्रिपाठी, सुन्तला जात फलफूल विकास केन्द्रका प्रमुख जोगेन्द्र कान्दु, वडाध्यक्ष राजेशकुमार अर्याल लगायतले धान दिवस मनाइरहँदा किसानको समस्याका विषयमा पनि छलफल हुनुपर्नेमा जोड दिएका थिए।

धान दिवसका अवसरमा महिला पुरुष हिले दौड, उत्कृष्ट रोपाइँलगायतमा पुरस्कृत हुनेलाई पुरस्कार वितरण गरिएको थियो। धान दिवसकै अवसरमा पाल्पामा राजनीतिक दलका भ्रातृ तथा शुभेच्छुक संगठन, सहकारी, समूहले पनि खेतमा रमाइलो गर्दै धान दिवस मनाएका छन्। नेपाली कांग्रेसको नेपाल किसान महासंघले रिब्दीकोट गाउँपालिकाको देउराली डम्बकमा, नेकपा एमालेको अखिल नेपाल किसान महासंघले रम्भा गाउँपालिकाको पिपलडाँडा खोकखोलामा, साथै राष्ट्रिय स्वतन्त्र पार्टीले माडी फाँटमा धान दिवस मनाएका छन्। त्यस्तै अन्य राजनीतिक दलहरूले पनि विभिन्न स्थानमा धान दिवस मनाएका हुन्।

24 percent paddy planting in Lumbini regionतर किसान भने सिँचाइ कुलो अभाव साथै धान रोप्ने, मकै गोड्ने समयमा रासायनिक मलको अभाव झेलिरहेका छन्। पाल्पाकै कतिपय भेगका किसानले केही दिन अघि मात्र बल्ल धानको ब्याड राखेका छन्। कतिपय स्थानमा भने असारे भाकामा गीत गाउँदै पञ्चेबाजा बजाएर टार, फाँटमा किसानहरू हिलो छ्यापाछ्याप गरेर रोपाइँ गरेका छन्। तानसेन नगरपालिका–९, दमकडाका किसान हरिसुमर रेग्मीका अनुसार सिंचाइ र मल अभाव अहिलेको मुख्य समस्या भएको बताए।

पाल्पाको अन्नभण्डार माडीफाँट, रामपुर, कचल, अर्गली जस्ता फाँट कालीगण्डकी तटीय क्षेत्रमा पानी परेपछि किसान खेतमा पुगेका छन्। जिल्लामा वर्षैभरि सिँचाइ हुने ३ हजार ९६४ हेक्टर जमिन छ। बाँकी ४ हजार ७८६ हेक्टरमा आकासे पानीको भर पर्नुपर्छ। जिल्लामा ७ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिन्छ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully